३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

प्रदेशसभा सदस्यले पाए लोगो

प्रदेश ५
घनश्याम गौतम

रूपन्देही — प्रदेश ५ का प्रदेशसभा सदस्यले आइतबारदेखि सिंगो प्रदेशको आकृति झल्कने गरी तयार गरिएको प्रतीक चिहन ‘लोगो’ पाएका छन ।

प्रदेशसभा सदस्यले पाए लोगो

यसअघिका प्रदेशसभा बैठकमा लोगोको माग गर्दै आएका सदस्यलाई सभामुख पूर्णबहादुर घर्तीले बैठक सकिएलगत्तै सभा परिषदमै लोगो वितरण गरेका हुन् । घर्तीले मुख्यमन्त्री शंकर पोखरेललाई लगाइदिएर लोगोको औपचारिक शुभारम्भ गरेका हुन् । सभामुख घर्तीलाई भने मुख्यमन्त्री पोखरेलले लगाइदिए ।

प्रदेशसभाका सदस्यले लोगो अभावले आफूहरूको पहिचान नदेखिने गरेको र सुरक्षाकर्मीले समेत नचिन्दा परिचयपत्र बोकेर हिँडनु परेको भन्दै प्रदेशसभा बैठकमै गुनासो गर्दै आएका थिए । प्रदेशसभा सचिवालयले झण्डै ५ महिनापछि लोगो उपलब्ध गराएको हो । सचिवालयले सार्वजनिक सूचना जारी गरेर डिजिटल लोगो तयार गरेको थियो । लोगो सभामुख घर्तीले एक महिनाअघि नै औपचारिक कार्यक्रम गरेर सार्वजनिक गरे पनि प्रदेश सदस्यले पाएका थिएनन् ।

आइतबारबाट प्रदेशसभा सदस्यले लगाउन थालेको लोगोमा सिस्ने पुथा हिमाल, धान र जौको बाला, बुद्धको जन्मस्थल र लुम्बिनीको शान्ति दीपसहित प्रदेशका १२ जिल्लाकै भाव र लैंगिक समानता झल्कने गरी तयार गरिएको छ । सचिवालयले लोगो निर्माणका लागि आहवान गरेको प्रस्तावमा काठमाडौंसहित प्रदेशभित्रका १२ जनाले प्रदेशको भावना र आकृति झल्कने लोगो तयार गरी पेस गरेका थिए । तीमध्ये प्रदेशसभा सदस्यका लागि तुलसीपुर १ दाङका खगेश्वर भण्डारीले तयार गरेको र प्रदेशसभाका कर्मचारीका लागि तिलोत्तमा ९ मंगलापुर रूपन्देहीका सुधीर अर्यालले तयार पारेको लोगो छनोट भएको थियो । दुवैले लुम्बिनीको शान्तिदीपलाई प्राथमिकतामा राखेर लोगो बनाएका छन् ।

कार्यव्यवस्था परामर्श समितिको बैठकबाट स्वीकृत भएर सभामुख घर्तीले प्रमाणीकरण गरेपछि सदस्यलाई आइतबार उपलब्ध गराइएको प्रदेशसभा सचिवालयका सचिव मानबहादुर वीकेले बताए ।

अर्घाखाँचीका रामजीप्रसाद घिमिरेले प्रदेशसभा सुरु भएको लामो समय बितिसक्दा पनि प्रतीक चिहन नपाएको भन्दै संसदको चैत १५ को बैठकमा कुरा उठाएका थिए । ‘अब बल्ल सजिलो भयो,’ प्रदेशसभा सदस्य खडगबहादुर खत्रीले भने, ‘आजबाट प्रदेशसभा सदस्यको गरिमा बढेको महसुस भयो ।’

बैठकले प्रदेश ५ को प्रदेशसभा पहिलो संशोधन नियमावली सर्वसम्मतिले पारित गरेको छ ।

प्रकाशित : असार ११, २०७५ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?