कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

मुक्ति दिवसमा शोकसभा

कमलरी मुक्तिका पाँच वर्ष

नेपालगन्ज — मुक्त घोषणा भएको पाँच वर्षको उपलक्ष्यमा बाँके, बर्दिया, दाङलगायत पश्चिम तराईका जिल्लामा मुक्त कमलरीले खुसियाली साटासाट गर्नुपर्ने हो । तर, उनीहरूले बुधबार शोकसभा गरेर मुक्ति दिवस मनाए ।

मुक्ति दिवसमा शोकसभा

बर्दियाको बढैयाताल गाउँपालिकामा कमलरी बसेकी बालिकाको जेठ २९ गते भएको मृत्युको विरोधमा उनीहरूले शोकसभा गरेका हुन् ।

यस अवधिमा आधा दर्जन कमलरीले ज्यान गुमाएको उल्लेख गर्दै तिनको ‘हत्या’ मा संलग्न व्यक्तिलाई कारबाहीको माग गरेका छन् । नेपालगन्जको बीपी चोकमा जम्मा भएका पूर्वकमलरीले हत्यामा संलग्नलाई कारबाही नभए आन्दोलनमा उत्रिने चेतावनी दिए । सरकारले २०७० असार १३ मा कमलरीमुक्त घोषणा गरेको थियो । उक्त दिनलाई उत्सवका रूपमा मनाउँदै आएका थिए । तर, यस वर्ष शोकको रूपमा मनाइएको मुक्त कमलरी विकास मञ्चले जनाएको छ ।

पछिल्लो पटक बर्दियाको बढैयाताल ७ स्थित दुर्गा भण्डारीको घरमा कमलरी बसेकी बाँसगढी ४ अस्नेरीकी ११ वर्षीया अस्मिता थारूको शंकास्पद मृत्यु भएको भन्दै छानबिनको माग गर्दै दबाबमूलक कार्यक्रम गरिरहेका छन् । अस्मिता झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । हालसम्म ६ कमलरीको काम गरिरहेका व्यक्तिको घरमै मृत्यु भए पनि कारबाही नभएको मञ्चकी केन्द्रीय उपाध्यक्ष दिलकुमारी चौधरीले बताइन् । कतिपय यौन शोषणमा परेका छन् । उनका अनुसार २२ जना कमलरी बसेकै घरधनीबाट बलात्कृत भएर आमा बन्नु परेको छ ।

‘सरकारले मुक्त गरेपछि पुन:स्थापनाका लागि १० बुँदे सहमति गरेको थियो । तर, कार्यान्वयन भएको छैन,’ मञ्चकी बाँके अध्यक्ष सीता चौधरीले भनिन्, ‘सहमति कार्यान्वयन नहुँदा मुक्तिको आभास भएको छैन ।’ कमलरीको हत्याका घटना अनुसन्धान गरी संलग्नलाई कारबाही माग गरिन् । उनका अनुसार पश्चिम तराईका ५ जिल्लामा अझै पनि ९७ कमलरीको उद्धार हुन सकेको छैन ।

मञ्चका अनुसार बर्दियामा ३६, कैलालीमा २८, दाङमा २१, कञ्चनपुरमा ७ र बाँकेमा ५ कमलरी छन् । त्यसमध्ये ६१ जना सरकारले मुक्तिको घोषणा गरेपछि नै कमलरी बसेका हुन् । ३६ जना ०७० सालभन्दा पहिले कमलरी बसेका छन् । कतिपय मुक्त कमलरी उचित पुन:स्थापना नहुनाका कारण फेरि कमलरी बस्न बाध्य छन् ।

मौन जुलुस
बर्दिया– यहाँका पूर्वकमलरीले मौन जुलुस निकालेका छन् । विगतमा खुसियालीसाथ मनाउँदै आए पनि यसपटक शोकसभाबाहेक अरू कार्यक्रम गरेनन् । अस्मिताको कमलरी अवस्थामै हत्या भएको दाबी गर्दै मौन जुलुस निकालेका हुन् ।

बुधबार जिल्ला समन्वय समितिबाट निस्केको जुलुस जिल्ला प्रहरी गेट हँुदै राधाकृष्ण थारू चोकमा शोकसभामा परिणत भएको थियो । कमलरी विकास मञ्च जिल्ला अध्यक्ष रीता चौधरीले जिल्लामा २ हजार ३ सय ३७ जना पूर्वकमलरीले परिचयपत्र नपाएको गुनासो गरिन् ।

प्रकाशित : असार १४, २०७५ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?