मनोमानी रूपमा औषधि बिक्री

स्थानीय ४ मेडिकलमा सिलबन्दी

नेपालगन्ज — बाँकेका औषधि पसल सञ्चालकले चिकित्सकको सिफारिसबिना नै औषधि बिक्री गरी सर्वसाधारणको स्वास्थ्यमा खेलवाड गर्दै आएको पाइएको छ ।

मनोमानी रूपमा औषधि बिक्री

औषधि पसल सञ्चालनका लागि अनुमति लिएकाले बिक्री अनुमति नलिएका औषधिसमेत बिक्री गरी स्वास्थ्यमाथि खेलवाड गरेका हुन् । चिकित्सकको सिफारिसबिना नशालु औषधिसमेत बिक्री गरेको पाइएको अनुगमनकर्ताले बताए । दर्ता भएका अधिकांश औषधि पसलेले पनि बिक्री गर्दा मापदण्ड पूरा नगरेको पाइएको छ । पछिल्लो समय बाँकेका विभिन्न स्थानमा सञ्चालित औषधि पसलको अनुगमन गरेपछि उक्त तथ्य खुलासा भएको हो ।

मापदण्ड पूरा नगरी बिक्री वितरण गर्ने सञ्चालकलाई औषधि व्यवस्था विभाग नेपालगन्जले कारबाही सुरु गरेको छ । सातायता अनुमति नलिएका औषधि बिक्री गर्ने तीन पसल सिल गरिएको छ । उनीहरूको औषधि बिक्री अनुमतिपत्र ३० दिनका लागि निलम्बन गरिएको विभागका फार्मेसी निरीक्षक यादवप्रसाद ढकालले बताए । ‘औषधि पसल सञ्चालन अनुमति लिने तर बिक्री अनुमति नलिएका धेरै भेटिए । चिकित्सकको सिफारिसबिना नै औषधि बिक्री गरिएको पनि पाइयो,’ उनले कान्तिपुरसँग भने, ‘कतिपय पसलेले नशा लाग्ने औषधि विवरण नै नराखी बिक्री गरेको पाइएपछि कारबाही सुरु गरेका छौं ।’

आइतबार अनुगमन गर्दा चार औषधि पसल सञ्चालकले त्यसरी बिक्री गरेको भेटिएपछि उनीहरूलाई कानुनी दायरामा ल्याइएको छ । नेपालगन्ज उपमहानगरपालिका २० राँझास्थित शान्ति नन्दन मेडिकलले अनुमति नलिएका औषधि बिक्री गरेको पाइएपछि एक महिना निलम्बन गरी सिल गरिएको छ । औषधि ऐन २०३५ को दफा १० (क) बमोजिम मेडिकल सञ्चालक रामनन्दनप्रसाद बर्माको औषधि बिक्री इजाजत निलम्बन गरिएको हो ।

त्यस्तै, कोहलपुरस्थित सीमा मेडिकल हल, आयुर्वेद औषधि पसल र सुरक्षा मेडिसिन डिस्ट्रिब्युटरलाई कारबाहीको दायरामा ल्याइएको निरीक्षक ढकालले जानकारी दिए । सीमा मेडिकल सञ्चालकले अनुमति नलिएका साइकेटिक औषधिको बिक्री गरी अभिलेख नराखेका कारण कारबाही गरिएको हो । आयुर्वेद औषधि पसलेले अनुमति नै नलिई एलोपेथिक औषधि बिक्री गरेको र सुरक्षा मेडिसिनले दर्ता नभएका औषधि पसललाई वितरण गरेको पाइएपछि कारबाही गरिएको निरीक्षक ढकालले बताए । बाँकेमा एउटा व्यक्तिका नाममा औषधि पसल दर्ता गरेर अर्कैले सञ्चालन गर्ने गरेका थुप्रै छन् । कतिपय औषधि पसलमा फार्मेसी नपढेका व्यक्तिले औषधि बिक्री गर्दै आएका छन् । औषधि व्यवस्था विभागले यहाँका शतप्रतिशत औषधि पसलको अनुगमन गर्न भ्याएको छैन ।

यसअघि नेपालगन्ज १८ कारकाँदोस्थित लामा मेडिकल हल र कोहलपुर ११ स्थित जीवनज्वाला मेडिकल हलमा अनुमति नलिएका औषधि बिक्री गरेको पाइएको थियो । औषधि व्यवस्था विभागले अनुमति नै नलिई औषधि बिक्री गर्ने दुवै मेडिकल हलको अनुमतिपत्र १५ दिनका लागि निलम्बन गर्दै त्यस अवधिसम्म औषधि पसल सिल गरेको थियो ।

प्रकाशित : असार १४, २०७५ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?