२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

जोखिम मोल्दै घरमै सुत्केरी

पाल्पा — तिनाउ गाउँपालिका ४ कोलडाँडा लोप्चगोठकी ४६ वर्षीया रूपिसरा कनौजेको घरमै सुत्केरी हुँदा मृत्यु भयो ।

जोखिम मोल्दै घरमै सुत्केरी

अत्यधिक रक्तश्रावका कारण उनको ज्यानै गएको हो । १२ सन्तान जन्माएकी उनका दुई छोरी मात्र जीवित छन् ।


पूर्वखोला १ सिलुवा गुनडाँडाकी १९ वर्षीया मनकला नेपाली र उनको नवजात शिशुको घरमै सुत्केरी हुन खोज्दा मृत्यु भयो । अत्यधिक रक्तश्राव भएको अवस्थामा अस्पताल लैजान ढिलाइ हुँदा आमा र शिशु दुवैको ज्यान गएको हो ।


यी दुई घटना उदाहरण मात्र हुन् । जिल्लाको ग्रामीण भेगमा अझै पनि जोखिम मोल्दै घरमै सुत्केरी हुनेको संख्या अधिक छ । तिनाउ गाउँपालिकाको दोभान, मस्याम, रिब्दीकोटको पालुङमैनादीलगायत स्थानमा घरमै सुत्केरी हुँदा आमा र बच्चाले ज्यान गुमाउनु परेको छ ।


जिल्ला स्वास्थ्यले सञ्चालन गरेको कार्यक्रम प्रभावकारी नहुँदा अझै पनि सुरक्षित सुत्केरी हुन अस्पताल, नजिकको स्वास्थ्यचौकी जानेको संख्या बढेको छैन । हेक्लाङ, जल्पा, देवीनगर, रिङनेरह, वीरकोटको अवस्था पनि उस्तै छ ।


भौगोलिक विकटता र जनचेतना अभावले घरमै सुत्केरी हुनेको संख्या कमी गराउन नसकिएको सिलुवा हेक्लाङ स्वास्थ्यचौकीका इन्चार्ज अमृतविक्रम श्रेष्ठले बताए । ‘अझै पनि विभिन्न कारणले घरमै सुत्केरी हुन्छु भन्ने धेरै छन्,’ उनले भने, ‘सरकारी सुविधालगायत सबै हिसाबले सुरक्षित भइन्छ भन्यो तर परम्परागत सोच र पारिवारिक कारणले समस्या छ ।’


हेक्लाङमा गत वर्ष स्वास्थ्य संस्थामा नआएर १८ जना घरमै सुत्केरी भए । तीमध्ये १ जनाको घरमै मृत्यु भएको थियो । स्वास्थ्य कार्यालयकी आमा सुरक्षा कार्यक्रमकी फोकल पर्सन कल्पना पौडेलले गर्भवती जाँच, स्वास्थ्य संस्थामा सुत्केरी गराउनेलगायत जनचेतनामूलक कार्यक्रम बर्सेनि हुँदै आएको बताइन् ।


०७३/७४ मा जन्मिँदै मरेका शिशु ७८ रहेका थिए । जन्मेर २८ दिनभित्र श्वासप्रश्वास र अन्य कारणले २१ जनाको मृत्यु भएको र २९ दिनदेखि ५ वर्षभित्रका २७ जनाको मृत्यु भएको जनस्वास्थ्यले जनाएको छ । ०७२/७३ मा ३ गर्भवती महिलाको मृत्यु भएको थियो । चालु वर्षमा ५ जना आमाको ज्यान गइसकेको छ ।


जन्मिँदै मर्ने बच्चाको संख्या ३० पुगेको छ । स्वास्थ्य कार्यालयका सूचना अधिकृत माधव ज्ञवालीका अनुसार २८ दिनभित्रका १५ जना, २९ दिनदेखि ५९ दिनभित्रका ४ र २ वर्षदेखि ५ वर्षभित्रका १३ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनले गर्भावस्था र सुत्केरी भएको ४२ दिनसम्मको अवधिमा सुत्केरी महिलाको मृत्यु भएमा मातृ मुत्यु उल्लेख गर्ने गरेको छ ।

प्रकाशित : असार १४, २०७५ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?