१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

बाढी र डुबानबारे ध्यानाकर्षण

राहतका लागि प्रदेश र केन्द्र सरकारसँग सांसदहरूको आग्रह
घनश्याम गौतम

रूपन्देही — प्रदेश ५ को प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै सदस्यले सार्वजनिक र जरुरी महत्त्वका विषयमा प्रदेश र केन्द्र सरकारको ध्यानाकर्षण गराएका छन् ।

बाढी र डुबानबारे ध्यानाकर्षण

प्रदेशसभा नियमावली ०७४ को नियम ५९ अनुसार बुधबारको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले विशेष समय माग गरेका तीन सदस्यलाई समय उपलब्ध गराएका थिए ।

विशेष समयमा बोल्दै दाङका डिल्लीबहादुर चौधरीले बाढी, डुबान र पहिरोपीडितलाई राहत दिन र प्रभावकारी अनुगमनका लागि संसदीय समिति गठन गर्न माग गरे । उनले प्रदेशसभा बैठकमा शून्य र विशेष समयलाई नियमित गराउन आग्रह गरे । माघ २१ देखि सुरु भएको प्रदेशसभा बैठकमा विशेष समय उपलब्ध भएको यो तेस्रो पटक हो ।

‘विशेष र शून्य समय नियमित उपलब्ध गराइयोस्,’ उनले भने, ‘बाढीपीडितको राहतका लागि प्रदेश र केन्द्र सरकारको ध्यानाकर्षण होस् ।’ जुम्लामा अनशनरत डा. गोविन्द केसीको माग सुनुवाइ गर्न र गंगामाया अधिकारीको जीवन रक्षाका लागि आवश्यक पहल गर्न पनि उनले सभामुखमार्फत केन्द्र सरकारसँग आग्रह गरे ।

बर्दियाका तिलकराम शर्माले बबई नदीको कोठियाघाटमा निर्माणाधीन पुलको गलत डिजाइनका कारण अहिले सर्वसाधारण डुबानको मारमा परेको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

नदीमा होचो, साँघुरो र बाँगो पुल निर्माणले बाढी आउँदा त्यही पुल बाँध बन्ने र बस्ती डुबानमा पर्ने गरेको भन्दै प्रदेश सरकारले छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे । ‘अहिले निर्माण व्यवसायी र सरकारबीच आरोप–प्रत्यारोप मात्र चलेको छ,’ उनले भने, ‘०६७ मा निर्माण सुरु भएर ०७० मा सरकारलाई हस्तान्तरण हुनुपर्ने पुल गलत डिजाइन र निर्माणका कारण हस्तान्तरणसमेत हुन सकेको छैन ।’ पुल होचो र साँघुरो भएकाले बाढी आउँदा गुलरिया र बारबर्दिया नगरपालिका डुबानमा पर्ने गरेको उनले बताए ।

रूपन्देहीका भोजप्रसाद श्रेष्ठले सैनामैनामा फेला परेको बुद्धकालीन अवस्थालाई ऐन नियम बनाएर सम्बोधन गर्न माग गरे । उनले प्रदेश सरकारले बृहत्तर बुद्ध सर्किटको खाका तयारी सुरु गरेको सदनलाई सरकारका तर्फबाट जानकारी गराएका थिए ।कार्यसूचीबाट हटाइए दुई बुँदा बुधबारको बैठकको कार्यसूचीमा राखिएका दुई बुँदा प्रमुख प्रतिपक्ष दल कांग्रेसले नामावली नदिएपछि हटाइएका छन् ।

प्रदेशसभामा गठन हुन लागेका ६ विषयगत समितिमा सदस्य मनोनयन गर्ने र साबिकका विधायन समितिमा विचाराधीन रहेका विधेयक नयाँ समितिमा सार्ने कार्यसूची थियो । तर, प्रतिपक्ष दलले समितिमा दुई सभापति माग गर्दै नामावली नदिएकाले दुवै बुँदा कार्यसूचीबाट हटाइएको हो । मुख्यमन्त्री शंकर पोखरेल काठमाडाैंमा रहेकाले फर्केपछि यसबारे छलफल गरेर मात्र नाम दिने विपक्षीको अडान छ ।

यसअघि ४ विषयगत समिति थिए । प्रदेशसभाले नियमावली संशोधन गरेर ६ समिति राख्ने व्यवस्था गरेको छ । विपक्षीले सार्वजनिक लेखा समिति स्वत: पाउने भए पनि ६ समितिमध्ये थप १ समितिमा सभापति माग गरेको कांग्रेसका चौधरीले बताए । नेकपाका सदस्य एवं पूर्वप्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेशसभाका सबै सदस्यलाई समेट्ने उद्देश्यका साथ विषयगत समिति थप गरिएकाले त्यहीअनुसार नै पद बाँडफाँट हुने बताए ।

परिसरमा बुद्ध मूर्ति
शान्तिको सन्देश दिने गरी प्रदेश ५ को प्रदेशसभा परिसरमा बुद्ध मूर्ति अनावरण गरिएको छ । प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले बुधबार मूर्ति अनावरण गरेका हुन् । प्रदेशसभा सचिवालय सचिव मानबहादुर विकेले विश्वले चिनेको लुम्बिनीमा रहेको प्रदेशसभामा शान्ति र सद्भावका लागि बुद्धको मूर्ति राखिएको बताए । ‘सबैबीच शान्ति र सद्भावको सन्देश जान्छ,’ उनले भने, ‘मूर्तिले प्रदेशसभाको गरिमा पनि बढनेछ ।’

प्रकाशित : असार २१, २०७५ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?