कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गाेरु भारत हुँदै बंगलादेश तस्करी

कमल पन्थी

बर्दिया — सदरमुकाम गुलरियास्थित पशुहाटबाट प्रहरीले साताअघि ३८ गोरु नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझायो । भन्सारले ती गोरुको लिलाम गर्‍यो । व्यापारीले लिलाम सकारेर लैजाने क्रममा प्रहरीले कपिलवस्तुमा चेकजाँच गर्दा आवश्यक कागजात नभएको भन्दै जिल्ला फिर्ता पठाएको छ ।

गाेरु भारत हुँदै बंगलादेश तस्करी

कारबाहीका लागि प्रहरीले बुधबार २ ट्रकमा लोड गरिएका तिनै गोरु पुन: भन्सारमा पठायो । एकपटक लिलाम भइसकेकाले पुन: गर्न नमिल्ने भन्दै भन्सारले ती गोरु प्रहरीकै जिम्मा लगायो । प्रहरी ना४ख १७१७ र ना६ख १६५३ नम्बरका दुई ट्रकमा लोड गरिएका गोरु छाडन बाध्य भयो ।

यसरी जिल्लाबाट भारत हुँदै बंगलादेश पुर्‍याउने उद्देश्यले गाई/गोरुको अवैध निकासी नरोकिएपछि स्थानीय प्रहरी प्रशासनले सीमामा कडाइ गरेर गोरु नियन्त्रणमा लिन थालेको छ । जिल्लाको मधुवनमा बिहीबार र गुलरिया नगरपालिकामा शुक्रबार पशुहाट बजार लाग्ने गर्छ ।

छिमेकी भारतको उत्तर प्रदेशले गोरु व्यापारमा कडाइ गरेपछि व्यापारीले बर्दिया, बाँके र कपिलवस्तुलाई केन्द्र बनाएर कारोबार गर्दै आएका छन । भारतको विहार र पश्चिम बंगाल राज्य हुँदै गोरु बंगलादेश निकासी भइरहेको प्रहरीले जनायो । यहाँ एक हल गोरु करिब ५ हजार रुपैयाँमा बिक्री भइरहेको छ ।

बंगलादेश पुर्‍याएपछि तेब्बर मूल्यमा बिक्री हुने गरेको व्यापारी बताउँछन । गुलरिया हुँदै मोहम्मदपुरको लालपुुरमा ट्रकमा लोड गरी जिल्ला कटाउने गरेका छन । खुला रूपमा बिक्री वितरण हुने गरेकाले व्यवसायीले पूर्वका सिरहा, झापा हँुदै सीमापार कटाउने गरेको स्थानीयले बताए । प्रहरी उपरीक्षक जनकराज भट्टराईले गोरुको अवैध कारोबार रोक्न सक्रियता बढाएको दाबी गरे । ‘एक महिनायता एक सय गोरु अवैध रूपमा लैजाने क्रममा पक्राउ गरी भन्सार कार्यालयमा बुझाएका छांै,’ उनले भने, ‘गोरुको तस्करी रोक्न प्रहरी परिचालन गरिएकाले धमाधम पक्राउ पर्न थालेका छन ।’

मुलुकबाट गाई/गोरुको विदेश निकासी प्रतिबन्धित छ । कडाइ गरे पनि पूर्वी तराईका जिल्लाबाट सीमापार जाने गरेको गुलरिया साप्ताहिक पशुहाट बजारमा गोरु खरिद गर्न आएका व्यवसायी अख्तर हलवाईले बताए । यहाँ खरिद गरेका गाई/गोरु कैलालीको टीकापुर र बाँकेको गोनानातर्फको नाकाबाट निकासी हुने गरेको पनि उनले बताए ।

साप्ताहिक पशुहाटका ठेकेदार सुन्दर विष्टले प्रहरीले गोरु धमाधम पक्राउ गर्न थालेपछि नगरपालिकालाई कर बुझाउन समस्या भएको गुनासो पोखे । गाई/गोरुको अवैध निकासीमा नेपाली र भारतीय व्यवसायी सक्रिय छन । कानुनले गाई, गोरु, भैंसी विदेश निकासीमा प्रतिबन्ध लगाएको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले आफना मातहतका प्रहरीलाई गाई/गोरुको अवैध चोरी पैठारी रोक्न निर्देशन दिएको बताए ।

प्रहरीले पक्राउ गरेका गोरु भन्सार कार्यालयले बुझन मान्दैन । गोरु लामो समयसम्म लिलाम नहुँदा पाल्न समस्या भएको भन्दै उसले फिर्ता गर्ने गरेको उनले बताए ।

प्रकाशित : असार २४, २०७५ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?