महजिदिया (बर्दिया) — भारतीय सीमास्थित महजिदिया गाउँवासी बर्सेनि बाढीले सताउन थालेपछि बस्ती छाडेर सुरक्षित स्थान खोज्दै जान थालेका छन् ।
बबईले टापु बनाएको महजिदिया बस्तीका ६० परिवार गुलरिया नगरपालिका कालाबन्जर, रत्नापुरलगायतमा जग्गा किनेर बसाइँ सरेका हुन् । अन्त जग्गा किन्न नसक्ने परिवार वैकल्पिक व्यवस्थाका लागि गुहार मागिरहेका छन् ।
एक दशकदेखि बाढीले डुबाउन थालेकाले कालाबन्जरमा घर बनाउन लागेको स्थानीय रिन्कु रायले बताए । भारतले सीमावर्ती गोपियामा सिँचाइका लागि बनाएको बाँधले यहाँ डुबान हुने गर्छ । गाउँका ३० परिवारले अन्त जग्गा किनेर घर बनाइसकेका छन् । खरिद गर्न नसक्ने आफन्तकहाँ आश्रय लिन बाध्य छन् । बबईबाट उक्त गाउँ करिब एक किलोमिटर उत्तरमा पर्छ । कतिबेला बाढी आउँछ, ठेगान नभएकाले सुरक्षाका लागि स्थानान्तरण भएको रायले बताए ।
बर्सेनि डुबानले सताएकाले कालाबन्जरमा जग्गा खरिद गरी सरेको स्थानीय लक्ष्मण मल्लाहले बताए । निम्न आय भएका अधिकांश यहाँका बासिन्दा मल्लाह जाति छन् । माछा मार्ने, डुंगा चलाउने र खेतीमा निर्भर छन् । अन्यत्र जग्गा किन्न नसकेकाले गुलरिया नगरप्रमुखसँग ऐलानी जग्गा उपलब्ध गराउन माग गरेका हुन् । नगरप्रमुख मुक्तिनाथ यादवले निम्न आय भएकालाई बसोवासका लागि उचित ठाउँ नि:शुल्क उपलब्ध गराउने पहल भइरहेको बताए ।
विद्यालय नहुँदा यहाँका बालबालिका दैनिक भारत आउजाउ गर्नुपर्ने बाध्यता छ । सदरमुकाम गुलरिया जोड्ने पुल नभएकाले बस्ती दुर्गम बनेको हो । बबई, भादा, ओराही नदी व्यवस्थापन कार्यालयले यस वर्ष महजिदिया बस्ती जोड्ने लटकनियामा तटबन्धका लागि ठेक्का आहान गरेको छ । पाँच महिनाअघि कार्यालय स्थापना गरेर युद्धस्तरमा तटबन्धको काम गरिरहेको आयोजना प्रमुख नारायण सुवेदीले बताए ।
‘बबईका दुवैतर्फ ४२ किलोमिटर लामो तटबन्ध निर्माण भइरहेको छ,’ उनले भने, ‘गत वर्ष जलउत्पन्न कार्यालयले लटकनियामा माटोको तटबन्ध गरेको थियो । आयोजनाले पक्की तटबन्ध निर्माण गरिहेकाले अब बाढी र कटान थामिने आशा छ ।’ भारतले वर्षायाममा नहरका ढोका बन्द गर्ने हुँदा डुबान हुने गरेको स्थानीयले गुनासो गरे । ३ दशकअघि बबईले धार परिवर्तन गरेपछि यो गाउँ टापुमा परिणत भएको हो । आफ्नै मुलुकबाट यहाँ आउन डुंगा चढ्नुपर्छ । भारतबाट आउँदा बाटोमा नदी छैन ।
४ दशकअघि स्व. हीरालाल चित्रकारलगायत गुलरियाका जमिन्दारको करिब २ सय बिघा जमिन भारतबाट आएका मल्लाहले जोतभोग गर्दै आएका हुन् । १ सय घरधुरी हाराहारी उनीहरूले ०६३ सालमा खटिएको टोलीबाट नेपाली नागरिकता लिएका थिए । पानी पर्नासाथ बस्ती जलमग्न हुने गरेको छ । परम्परागत डुंगा खियाउने, माछा मार्ने पेसा संकटमा परेकाले यो समुदायलाई छाक टार्न धौधौ छ । उनीहरू स्थानीयका जग्गामा बटैया गरेर गुजारा चलाइरहेका छन् ।