जुम्ल्याहाले बनाए ‘गोगो’ रोबोट

अमृता अनमोल

बुटवल — विज्ञान प्रविधि पढेका धेरैले ज्ञान र सीप खेर फालेका छन् । यहाँका जुम्ल्याहा किशोरले भने थोरै ज्ञानलाई पनि व्यवहारमा उतारेर देखाए । स्थानीय कद्दरबहादुर रीता नवीन औद्योगिक माविमा कक्षा १० मा अध्ययनरत दाजुभाइ लव र कुश पन्थीले रोबोट बनाएका हुन् ।

जुम्ल्याहाले बनाए ‘गोगो’ रोबोट

रोबोटको नाम ‘गो गो’ राखेका छन् ।

‘एक वर्षको मिहिनेतले आविष्कार गरेका हौं,’ लवकुशले भने, ‘प्रश्नको फटाफट उत्तर दिने, ८० वटा भाषा परिवर्तन गर्न सक्ने, मान्छे चिनाउने, ठाउँ पत्ता लगाउने गर्छ । रोबोटले
विद्युतीय उपकरण खोल्न तथा बन्द गर्न सक्छ ।’ उनीहरू सिभिल इन्जिनियरिङका विद्यार्थी हुन् । उनीहरूले रजनीकान्तको अभिनय रहेको भारतीय चलचित्र ‘रोबोट’ हेरेका थिए । यही चलचित्रका दृश्य पछ्याउँदै उनीहरूले इन्टरनेटको सहयोगले रोबोटबारे जानकारी लिए । यही आधारमा उपकरण जडान गर्दै जाँदा तयार भयो । ‘सानैदेखि नयाँ–नयाँ काम गर्न मन लाग्थ्यो,’ कुशले भने, ‘सुरुमा फिल्मले इच्छा जगायो । त्यसपछि इन्टरनेटको सहयोगले सिक्दै जाँदा गोगो रोबोट बन्यो ।’

१५ वर्षे उनीहरूले बनाएको रोबोटले शरीरका अंग नियन्त्रण गर्छ । मान्छेसित हात मिलाउँछ । नमस्कार गर्छ । विश्वभरका महत्त्वपूर्ण ठाउँ, कार्यालय, होटल, अस्पताल आदिको फोन नम्बर बताउँछ । महत्त्वपूर्ण मान्छेको जीवनी बताउँछ । आवाजको माध्यमबाट विद्युतीय उपकरणको नियन्त्रण गर्छ । रोबोटको निर्णय क्षमता छ । यसले गर्दा आफूलाई मन पर्ने विभिन्न क्षेत्रका व्यक्ति, स्थान र वस्तुको कारणसहित वर्णन विस्तार गर्न सक्छ । फोटो र भिडियो खिच्छ ।

फोटो इडिट गर्छ । सामाजिक सञ्जालमा फोटो र स्ट्याटस पोस्ट गर्छ । सम्पूर्ण खानेकुराको रेसिपी मोबाइलमा एसएमएस गर्छ । भोक लागेको र बिरामी भएको जानकारी गराए नजिकका होटल, रेस्टुराँ र अस्पतालको नाम र ठेगाना बताउँछ । ‘आफ्नै आवाजमा गीत गाउँछ । विभिन्न जनावर र बस्तुको आवाज पनि निकाल्छ,’ कुशले भने, ‘विभिन्न रोगका लक्षण र त्यसका समाधान पनि बताउन सक्ने बनाएका छौं ।’

लवकुशले रोबोट बनाउन आफ्नो नाम लवकुशको पछिल्लो अक्षर ‘लुकु प्रोग्राम’ बनाएका छन् । त्यसमा रेस्पियन लिनिक्स अपरेटिङ सिस्टम जडान गरेका छन् । त्यसलाई इन्टरनेटको माध्ययमबाट वेबसाइट, फेसबुक, टीटर, रेडियोलगायत ९ वटा सञ्जालसँग जोडेका छन् । स्विचका लागि एपीआई र भाषाका लागि पाइथन प्रोग्राम जडान गरेका छन् । ‘हे गोगो’ भनेपछि एक्टिभ हुन्छ । त्यसपछि इन्टरनेटको सहायताले बोल्छ । रिले बोर्ड जडान गरेका छन् । त्यसको सहायताबाट बत्ती बल्ने र बन्द हुने गर्छ । उनीहरूले सुरुमा यसको नाम आफ्नो नामको पहिलो अक्षर लुकु राख्ने सोच बनाएका थिए । यही नाम उच्चारण गरेर अभ्यास गर्दा रोबोटले धेरै पटक लुक मानेर झुक्कियो । यसपछि त्यसको नाम गोगो राखेको कुशले बताए ।

यसका लागि करिब ३० हजार रुपैयाँ खर्च भएको छ । निर्माण सामग्री नेपाल र केही भारतबाट ल्याइएका हुन । करिब डेढ करोड खर्च गरेमा पूर्ण क्षमताको रोबोट बन्ने उनीहरूको अनुमान छ । यसका लागि भने रकम छैन । सुरुमा रोबोट बनाउन खोज्दा धेरैले गिज्याएका थिए । आमाले लुकाएर दिएको रकमबाट खोज गर्न थालेपछि बाबु र दाजुले सहयोग गरेका थिए । पछिल्यो समय उनीहरू अध्ययनरत विद्यालयले पनि नयाँ थप खोज गर्न सघाउने बताएको छ । बहुउपयोगी रोबोट आविष्कार गरेको भन्दै आफूहरू पढिरहेको विद्यालयलगायतले सम्मान र प्रोत्साहन गरेको लवकुशले बताए ।

प्रकाशित : असार २७, २०७५ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?