तरकारीमा ‘हाइटेक’ प्रविधि

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोग
माधव अर्याल

पाल्पा — तानसेन नगरपालिका ७ काजीपौवाका गोविन्द घिमिरेले यस वर्ष ११ लाख २७ हजारको लगानीमा ‘हाइटेक टनेल’ बनाएका छन् । संरचना पूरा भए पनि भित्र राखिने आल्मुनियक नेट, एक्जस्टिङ फेनलगायत केही काम बाँकी छ ।

विगत ५ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्ने उनले यस वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा १२ मिटर चौडाइ र २४ मिटर लम्बाइको आधुनिक प्रविधियुक्त टनेल बनाएका हुन् । जिल्लामै पहिलोपटक नमुनाका रूपमा बनाइएको टनेलमा १ लाख ६९ हजार घिमिरेको खर्च छ । बाँकी ९ लाख ५८ हजार परियोजनाले सहयोग गरेको छ ।

‘धेरै पानी पर्नु वा चर्को घाम लाग्नु तरकारीका लागि हितकर हुँदैन,’ उनले भने, ‘त्यसैले
प्लास्टिक घर बनाएर तरकारी खेती गर्दै आएको थिएँ ।’ घिमिरेको मेहेनत र लगाव देखेर परियोजनाले पहिलो वर्षमै छनोट गरेर आधुनिक प्रविधितर्फ जान आग्रह गरेको हो । मौसमी मारबाट बाली जोगाएर अधिकतम लाभ कसरी लिने भन्नेमा अब सचेत भएकाले ‘हाइटेक’ प्रविधितर्फ लम्किएको किसान घिमिरेले सुनाए । उनको बारीमा तयार भएको टनेलमा ७ सयभन्दा बढी बिरुवा लगाउन मिल्छ । अहिले खुला र केही प्लास्टिक टनेलमा खेती गर्दै आएका छन् । त्यसमा उनले मौसमी र बेमौसमी तरकारी फलाएर बजार पठाउने गरेका छन् ।

सामान्यभन्दा आधुनिक प्रविधियुक्त ‘हाइटेक टनेल’ मा उत्पादन बढ्ने देखेर सुरु गरेपछि उनी एकै सिजनमा अरूभन्दा तेब्बर आम्दानी लिन सफल हुनेमा ढुक्क छन् । यसले ९ महिनासम्म फल दिन्छ । सामान्यतया ३ देखि ५ किलो फल्ने गोलभेडा १५ किलो फल्ने परियोजनाले बताएपछि टनेल बनाउन अघि सरेको उनले बताए ।


घिमिरे मात्र होइन, तानसेन नगरपालिका ७ पक्लुवाकै भीमबहादुर कुमालले पनि ‘हाइटेक टनेल’ निर्माण गरे । तानसेन नगरपालिका ८ का धु्रवराज भण्डारी, ९ का इन्द्र पौडेलले पनि उस्तै प्रकृतिका टनेल निर्माण गरेका छन् । १५ प्रतिशत किसानको र ८५ प्रतिशत परियोजनाले सहयोग गरेको छ ।

Yamaha

‘सामान्य प्लास्टिक घर बनाउने र टनेल निर्माण गरेर तरकारी खेती हुने गरेको थियो,’ भीमबहादुरकी श्रीमती धनमाया कुमालले भनिन्, ‘अब फरक प्रविधिबाट तरकारी खेती गर्ने योजना बनेकामा उचित समयमा सहयोग पनि पाइयो ।’ यसबाट तेब्बर आम्दानी लिन सकिन्छ भन्ने बुझाएकाले नयाँ प्रविधिमा गएको उनले बताइन् । किसान भण्डारीका अनुसार पहिलोपटक जिल्लामा ‘हाइटेक’ प्रविधि भित्रिएको हो । यसको लगानी र उत्पादनलाई तुलना गरेर अन्यलाई लगानी गर्न प्रोत्साहन गरिने उनले बताए । ‘टनेलभित्र तापक्रमको सन्तुलन मिल्ने भएकाले सिजनअनुसारको तरकारी राम्रो फल्ने आशा गरिएको छ,’ उनले भने, ‘बाहिरी रोगकीराले नसताउने भएकाले फल कुहिने समस्या पनि हुँदैन भन्ने लाग्छ ।’ सेमी हाइटेक प्रविधि भएकाले पूर्णरूपमा प्रविधि अपनाउन भने अझै नसकिएको बताए ।

तरकारीमा व्यावसायीकरण पछ्याउन थालेका यहाँका धेरैजसो किसान माटो र बीउमा मात्रै नभएर प्रविधि पनि भित्र्याउन थालेका छन् । यसपटक साउन १५ भित्र टनेल तयारी हुने भएकाले पहिलोपटक सबैले सुधारिएको सिर्जना जातको गोलभेंडा लगाउने तयारीमा छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका अनुसार तरकारी खेतीमा प्रविधि भित्र्याउने क्रममा हाइटेक प्रविधिलाई अगाडि बढाइएको हो । ‘यस्तो टनेलभित्र उत्पादन बढ्ने मात्रै नभई किसानका लागि स्वस्थकरसमेत हुन्छ,’ परियोजनाका वरिष्ठ कृषि विकास अधिकृत रामप्रसाद पाण्डेयले भने, ‘तापक्रमको सन्तुलन टनेलभित्रै हुने भएकाले बाली अन्यत्रभन्दा सप्रिन्छ ।

त्यसैले पनि उत्पादन स्वत: बढ्ने भयो ।’ टनेलको धुरीमा एक्जस्टिङ फ्यान जडान गरिएको हुन्छ । जसले भित्रको गर्मी बाहिर फाल्छ । टनेलको बाहिरपट्टि उच्च स्थानमा राखिएको टंकीमा मात्रा मिलाइएको मल, भिटामिन, विषादी पाइपको माध्यमबाट बालीको प्रत्येक बोटमा थोपा सिँचाइबाट पुग्ने व्यवस्था हुन्छ । टनेलभित्रको चौघेरामा लगाइएको अर्धपारदर्शी पातलो जालीका कारण बाहिरी रोगकीराले आक्रमण गर्ने समस्या नहुने उनले बताए । टनेलभित्र सिँचाइ गर्न सुविधा पुग्ने गरी प्रत्येक बोटको फेदमा जडान गरिएको सानो पाइपमा मात्रा मिलाइएको मल, पानी थोपा सिँचाइको माध्यमबाट सिञ्चित गरिन्छ ।

बालीमा भएको वृद्धि र आवश्यकताअनुसार सिञ्चित गर्नुपर्ने पानी पनि नियन्त्रण गर्न सकिने परियोजना प्रमुख पाण्डेयले बताए । प्राविधिक हिसाबले बालीलाई आवश्यक सबै खाद्य तत्त्व र कीटनाशकको मात्रा मिलाएर दिन मिल्ने र बाहिरी रोगकीराको आक्रमण शून्य हुने भएकाले सामान्यभन्दा बढी उत्पादन लिन सकिने उनले बताए । जिल्ला समन्वय प्रमुख दयाराज बस्याल, तानसेन नगरपालिकाका मेयर अशोक शाही, प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाललगायतले ‘हाइटेक टनेल’ को अनुगमन गरे । कृषकसँग अन्तरक्रिया गर्दै पहिलोपटक भित्रिएको प्रविधि भएकाले अर्को वर्ष यसको फाइदा/बेफाइदा थाहा हुने बताए ।

मल्चिङ प्रविधि र थोपा सिचाइँबाट प्लास्टिक घर बनाएर आधुनिक प्रविधिबाट रैनादेवी छहरा १ सिद्धेश्वरका सुदर्शन पन्त र तानसेन नगरपालिका १२ का रूकवीर रेश्मीले पनि तरकारी खेती गर्दै आएका थिए । उनीहरूले पहिलो सिजनमै सामान्य टनेलका तुलनामा तेब्बर उत्पादन लिए । ‘पहिलो सिजनकै उत्पादनले टनेलको लगानी उठ्यो,’ तानसेन १२ का रेश्मीले भने, ‘सामान्यभन्दा लगानी दुई गुणा बढी भए पनि त्यही अनुपातमा आम्दानी पाउँदा खुसी लागेको छ ।’ उनीहरू ‘हाइटेक टनेल’ मा जान कृषि विकास कार्यालय र नगरपालिकाको सहयोग नपाएको गुनासो गरे । तानसेन नगरपालिकाले कृषि क्षेत्रमा सहयोग नगर्दा हाइटेक प्रविधिमा जान नसकेको रेश्मीले बताए । आफंै लगानी गर्न भने महँगो छ । आधुनिक प्राविधिको टनेल हालेपछि रेश्मीले तरकारीबाट मासिक हात पार्ने आम्दानीमा वृद्धि भएको छ । उनले ६० टनेल बनाउने योजनासहित काम सुरु गरेका छन् ।

प्रकाशित : असार २७, २०७५ १२:०१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

जुम्ल्याहाले बनाए ‘गोगो’ रोबोट

अमृता अनमोल

बुटवल — विज्ञान प्रविधि पढेका धेरैले ज्ञान र सीप खेर फालेका छन् । यहाँका जुम्ल्याहा किशोरले भने थोरै ज्ञानलाई पनि व्यवहारमा उतारेर देखाए । स्थानीय कद्दरबहादुर रीता नवीन औद्योगिक माविमा कक्षा १० मा अध्ययनरत दाजुभाइ लव र कुश पन्थीले रोबोट बनाएका हुन् ।

रोबोटको नाम ‘गो गो’ राखेका छन् ।

‘एक वर्षको मिहिनेतले आविष्कार गरेका हौं,’ लवकुशले भने, ‘प्रश्नको फटाफट उत्तर दिने, ८० वटा भाषा परिवर्तन गर्न सक्ने, मान्छे चिनाउने, ठाउँ पत्ता लगाउने गर्छ । रोबोटले
विद्युतीय उपकरण खोल्न तथा बन्द गर्न सक्छ ।’ उनीहरू सिभिल इन्जिनियरिङका विद्यार्थी हुन् । उनीहरूले रजनीकान्तको अभिनय रहेको भारतीय चलचित्र ‘रोबोट’ हेरेका थिए । यही चलचित्रका दृश्य पछ्याउँदै उनीहरूले इन्टरनेटको सहयोगले रोबोटबारे जानकारी लिए । यही आधारमा उपकरण जडान गर्दै जाँदा तयार भयो । ‘सानैदेखि नयाँ–नयाँ काम गर्न मन लाग्थ्यो,’ कुशले भने, ‘सुरुमा फिल्मले इच्छा जगायो । त्यसपछि इन्टरनेटको सहयोगले सिक्दै जाँदा गोगो रोबोट बन्यो ।’

१५ वर्षे उनीहरूले बनाएको रोबोटले शरीरका अंग नियन्त्रण गर्छ । मान्छेसित हात मिलाउँछ । नमस्कार गर्छ । विश्वभरका महत्त्वपूर्ण ठाउँ, कार्यालय, होटल, अस्पताल आदिको फोन नम्बर बताउँछ । महत्त्वपूर्ण मान्छेको जीवनी बताउँछ । आवाजको माध्यमबाट विद्युतीय उपकरणको नियन्त्रण गर्छ । रोबोटको निर्णय क्षमता छ । यसले गर्दा आफूलाई मन पर्ने विभिन्न क्षेत्रका व्यक्ति, स्थान र वस्तुको कारणसहित वर्णन विस्तार गर्न सक्छ । फोटो र भिडियो खिच्छ ।

फोटो इडिट गर्छ । सामाजिक सञ्जालमा फोटो र स्ट्याटस पोस्ट गर्छ । सम्पूर्ण खानेकुराको रेसिपी मोबाइलमा एसएमएस गर्छ । भोक लागेको र बिरामी भएको जानकारी गराए नजिकका होटल, रेस्टुराँ र अस्पतालको नाम र ठेगाना बताउँछ । ‘आफ्नै आवाजमा गीत गाउँछ । विभिन्न जनावर र बस्तुको आवाज पनि निकाल्छ,’ कुशले भने, ‘विभिन्न रोगका लक्षण र त्यसका समाधान पनि बताउन सक्ने बनाएका छौं ।’

लवकुशले रोबोट बनाउन आफ्नो नाम लवकुशको पछिल्लो अक्षर ‘लुकु प्रोग्राम’ बनाएका छन् । त्यसमा रेस्पियन लिनिक्स अपरेटिङ सिस्टम जडान गरेका छन् । त्यसलाई इन्टरनेटको माध्ययमबाट वेबसाइट, फेसबुक, टीटर, रेडियोलगायत ९ वटा सञ्जालसँग जोडेका छन् । स्विचका लागि एपीआई र भाषाका लागि पाइथन प्रोग्राम जडान गरेका छन् । ‘हे गोगो’ भनेपछि एक्टिभ हुन्छ । त्यसपछि इन्टरनेटको सहायताले बोल्छ । रिले बोर्ड जडान गरेका छन् । त्यसको सहायताबाट बत्ती बल्ने र बन्द हुने गर्छ । उनीहरूले सुरुमा यसको नाम आफ्नो नामको पहिलो अक्षर लुकु राख्ने सोच बनाएका थिए । यही नाम उच्चारण गरेर अभ्यास गर्दा रोबोटले धेरै पटक लुक मानेर झुक्कियो । यसपछि त्यसको नाम गोगो राखेको कुशले बताए ।

यसका लागि करिब ३० हजार रुपैयाँ खर्च भएको छ । निर्माण सामग्री नेपाल र केही भारतबाट ल्याइएका हुन । करिब डेढ करोड खर्च गरेमा पूर्ण क्षमताको रोबोट बन्ने उनीहरूको अनुमान छ । यसका लागि भने रकम छैन । सुरुमा रोबोट बनाउन खोज्दा धेरैले गिज्याएका थिए । आमाले लुकाएर दिएको रकमबाट खोज गर्न थालेपछि बाबु र दाजुले सहयोग गरेका थिए । पछिल्यो समय उनीहरू अध्ययनरत विद्यालयले पनि नयाँ थप खोज गर्न सघाउने बताएको छ । बहुउपयोगी रोबोट आविष्कार गरेको भन्दै आफूहरू पढिरहेको विद्यालयलगायतले सम्मान र प्रोत्साहन गरेको लवकुशले बताए ।

प्रकाशित : असार २७, २०७५ १२:०१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT