अव्यवस्थित बसोबासले जलमग्न

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीमा अव्यस्थित बसोबासका कारण सामान्य वर्षामा बस्ती र खेतीयोग्य जमिन जलमग्न हुन थालेको छ । वर्षाको पानी निकास र सिँचाइका लागि खनिएका कुला पुरिँदा बस्ती डुबेको हो ।

मुख्य बजारमा बसाइँसराइका कारण भौतिक संरचना निर्माण गर्दा ढल निकास नराख्ने र पानीको निकास हुने स्थानलाई पुरेर घडेरीका रूपमा प्रयोग गर्दा यस्तो समस्या आएको हो ।

अहिले पश्चिम नवलपरासीका मुख्य बजार सदरमुकाम परासी, सुनवल र बर्दघाटमा लगातार तीन घण्टा वर्षा हँुदा पनि बस्ती जलाम्य, अन्नपात र भौतिक संरचनामा क्षति पुग्ने गरेको छ ।

गत वर्षको साउनमा खोला नै बस्तीभित्र पसेझैं गरेर आकाशे पानीले पूर्व–पश्चिम राजमार्ग आसपासका बस्ती डुबानमा परे । पूर्व–पश्चिम राजमार्गमा पानीका कारण सवारी चलाउनसमेत असहज भयो । स्थानीय निकाय र अन्य सरोकारवालाले आगामी वर्ष ढल निर्माण गर्ने र पानीको निकासका लागि ह्युम पाइप राख्ने भने पनि अहिलेसम्म काम सुरु भएको छैन ।

‘पहिले–पहिले यस्तो समस्या आउँदैनथ्यो, चार–पाँच वर्षदेखि बस्ती जलाम्य हुन थालेको छ,’ बर्दघाट ६ का प्रेमबहादुर नेपालीले भने, ‘सडकका दुवैतर्फ नाला नहुनु र पानीको निकासका लागि बूढापाकाले खनेका कुला पुरिनाले यस्तो समस्या आएको हो ।’ सडकका दायाँ–बायाँ पानी जमेपछि पूर्वपश्चिम राजमार्ग र भित्री बाटोमा समेत पानी ताल पर्दा सडक भत्काउनुका साथै सवारी र पैदल यात्रीलाई आवागमनमा समस्या हुने गरेको छ । यस वर्षातमा पश्चिम नवलपरासीका अधिकांश बस्ती दुई पटकसम्म डुबानमा परिसके ।

रामग्राम नगरपालिका प्रमुख नरेन्द्र गुप्ताले सडक बनाउँदा अनिवार्य ढल निकास हुनुपर्ने प्रावधान भएकाले यो समस्या कम हुँदै जाने बताए । ‘पहिले निर्माण भएका सडक तथा नालालाई पनि प्राविधिक सहयोग लिएर डुबान कम गर्नेतर्फ हामी लागिपरेका छौं,’ उनले भने, ‘केही स्थानमा काम सुरु भइसकेको र आगामी योजनामा ढल निकासलाई मुख्य प्राथमिकतामा राखिएको छ ।’

विशेषगरी पूर्व–पश्चिम राजमार्ग आसपासमा पानीको निकास नहँुदा बजार जलमग्न हुने गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दघाटको लन्डन ब्रिजमा खोलाको पानी सडकसम्म आउँदा यातायात नै अवरुद्ध हुन्छ । सडकमा ढलको पानी र पुलमाथिसम्म खोलाको पानी आएर बाटो रोकिँदा केही समय यातायात अवरुद्ध भए पनि जोखिम मोलेरै भए पनि यातायात सञ्चालनमा आएको थियो । सदरमुकाम परासी मात्र होइन, जिल्लाका मुख्य बजार बर्दघाट, भुमही र सुनवल पनि सामान्य वर्षामा समेत जलमग्न हुने गर्छन् । ढल निकास नहँुदा भलको पानीले पक्की सडक भत्काएको छ । बाक्लो बस्तीका कारण बजार क्षेत्रमा यस्तो समस्या देखिएको हो । घरैघरले भरिएको बजार क्षेत्रमा निकास नहुँदा भलपानी जमिनमा आफैं नसोसिएसम्म जलमग्न हुने समस्या छ ।


बजार क्षेत्रमा ढल निकास नहुँदा र प्लटिङले डुबान हुने गरेको छ भने दक्षिणी भेगमा गण्डक नहरका कारण स्थानीयले सास्ती भोग्नु परेको छ ।

नहरको बाँधले खहरेखोलाबाट आएको भेल र बस्तीका ससाना कुलोमा जम्मा हुने पानी रोकिने गर्छ । नहर र त्यस आसपासमा पानीको मात्रा बढेमा निकासका लागि निर्माण गरिएका साइफन पनि जीर्ण अवस्थामा पुगेका छन् । सरसफाइ नगर्दा साइफनबाट पानीको निकास हुन छाडेको हो । जसका कारण बर्सेनि सयांै घर र सयौं बिघा धान खेती नष्ट हँुदासमेत समाधानका लागि कुनै पहल भएको छैन ।

प्रकाशित : असार २७, २०७५ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्

‘पुस्तान्तरण अभावले नेपाली भाषा संकटमा’

घनश्याम गौतम

रूपन्देही — आयातित र संस्कृतिका कारण नेपाली भाषा संकटमा पर्न थालेको विज्ञले बताएका छन् । प्रदेश ५ मा प्रयोगमा आएका भाषाको अवस्था बुझ्न र सरकारी कामकाजको दोस्रो भाषा अध्ययनका लागि भाषा आयोगले मंगलबार गरेको छलफलमा नेपाली भाषा संरक्षणको माग चर्को रूपले उठेको हो ।

आयोगको आयोजना र प्रदेशस्थित सामाजिक विकास मन्त्रालयको संयोजनमा भएको
कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले तेस्रो पुस्तासम्म पुग्दा नेपाली भाषा लोप हुने खतरा रहेको बताए । ‘अहिले नै नेपाली भाषा संकटमा छ,’ उनले भने, ‘नेपाली भाषाको पुस्तान्तरण घट्दो छ, अंग्रेजीसहितका अन्य भाषा नेपालीमा मिसिएर पुस्तान्तरण हुँदैछ ।’ स्कुलमा नेपाली कम अंग्रेजी बढी, विदेशमा बस्ने नेपालीमा नेपाली भाषा ज्ञानको अभाव र स्वदेशमै दोस्रो भाषाको प्रयोगले नेपाली भाषा संकटमा पर्दै गएको उनले प्रस्ट पारे ।

भाषा आयोगले त्रिभुवन विश्वविद्यालयको शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) मार्फत गरेको भाषिक परिवर्तनसम्बन्धी सर्वेक्षणले पनि नेपाली भाषा संकटोन्मुख बन्दै गएको देखाएको छ । पहिले नेपाली भाषाले स्वदेशका अन्य भाषा संकटमा पारे पनि अहिले अंग्रेजी भाषाले नेपाली भाषालाई नै संकटमा पार्दै लगेको सहभागीले बताए । तेस्रो पुस्तामा पुग्दा नेपाली भाषा पूरै बिग्रेको अवस्थामा हुने भाषाविज्ञको ठहर छ । लुम्बिनी सांस्कृतिक विश्वविद्यालयका रजिस्ट्रार तिलक आचार्यले सबै क्षेत्रबाट नेपाली र संस्कृत भाषाको संरक्षण गर्नु जरुरी रहेको बताए ।

‘अहिलेको पुस्ताबाटै संरक्षण जरुरी छ,’ उनले भने, ‘अन्यथा पछिको पुस्ताले नेपाली भाषालाई संरक्षित भाषाका रूपमा अध्ययन गर्ने अवस्था आउने सम्भावना बढ्दो छ ।’ टेलिभिजन, सामाजिक सञ्जाल र कार्टुनले पनि नेपाली भाषालाई संकटमा पारेको उनले बताए ।छलफलमा प्रदेश ५ मा नेपाली भाषा बढी प्रयोगमा हुने भाषा रहेको निष्कर्ष निस्केको छ । दोस्रोमा थारू भाषा छ । छलफलमा अध्यक्ष अवस्थी, प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराल, भाषा आयोगका सचिवसहित स्थानीय तहका जनप्रतिनिधिको समेत उपस्थिति थियो ।

संविधानले नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानुनबमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने उल्लेख छ । सोहीअनुसार सिफारिस गर्न भाषा आयोगले अध्ययन, छलफल र अनुसन्धानपश्चात् केन्द्रीय सरकारलाई सिफारिस गर्ने र भाषा आयोगको सहमतिमा प्रदेश सरकारले नेपाली भाषाका अतिरिक्त धेरै जनताले बोल्ने भाषालाई सरकारी कामकाजको दोस्रो भाषा बनाउन सक्ने भएकाले छलफल गरी सुझाव संकलन गरिएको आयोग सचिव रामशरण सापकोटाले बताए ।

प्रदेश ५ मा ८५ भाषा बोलिन्छन् । तीमध्ये मातृभाषाका रूपमा नेपाली पहिलो, थारू दोस्रो, अवधी तेस्रो, भोजपुरी चौथो, उर्दू पाँचौं र मगर छैठौं भाषाका रूपमा प्रयोगमा छन् । छलफलले सरकारलाई सिफारिसभन्दा पनि संकट उन्मुख भाषाको संरक्षण र संवद्र्धनका लागि सुझाव प्राप्त भएको आयोगले जनाएको छ ।

प्रकाशित : असार २७, २०७५ १२:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्