कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यार्थी टिकाउन दिवा खाजा

नगरपालिकाले दैनिक प्रतिविद्यार्थी २५ रुपैयाँका दरले रकम उपलब्ध गराउँछ

बुटवल — रूपन्देहीको मणिग्रामका अनुज त्रिपाठी विद्यालय जानु पर्‍यो कि रुन्थे । बालविकास कक्षामा जाने बानी लगाउन अभिभावकलाई निकै गाह्रो पर्‍यो । ढिलो गरी आउने र खाजा नल्याउने समस्याले शिक्षकहरू पनि आजित थिए । शान्ति नमुना मावि मणिग्रामका तिनै अनुज अहिले नियमित विद्यालय जान्छन् ।

विद्यार्थी टिकाउन दिवा खाजा

विद्यालयमा खाजा खान पाइने भएपछि उनी खुसी हुँदै आउँछन् । ‘पढ्न पाइन्छ । खेल्न पाइन्छ,’ ५ वर्षे अनुजले भने, ‘खाजा खान पनि पाइन्छ । स्कुल आउन मजा लाग्छ ।’ पटक–पटक गयल हुने सदीक्षा कुमाल पनि अहिले नियमित विद्यालय आउन थालेकी छन् । विद्यालय आउँदा रुने उनी अहिले अभिभावकले घर बस्न भने रुन्छिन् । विद्यालय छुट्टी हुने दिन नरमाइलो मान्छिन् । कक्षा १२ सम्म पढाइ हुने यो विद्यालयको बालविकास कक्षामा १ सय ५५ विद्यार्थी छन् ।

बालबालिका नियमित नहुने बालविकास कक्षाको सबैभन्दा ठूलो समस्या थियो । विद्यालयले खाजा खुवाउन थालेपछि सदीक्षा र अनुजजस्ता धेरै विद्यार्थी नियमित विद्यालय आउन थालेका छन् । ‘स्कुल आउनासाथ आज के खाने भनेर सोध्छन् ।

स्कुल छुट्टी भएर जाँदा पनि भोलि के खाने भन्छन्,’ बालविकास कक्षाकी सहयोगी कार्यकर्ता रामकुमारी न्यौपानेले भनिन्, ‘खाजा खान पाएपछि विद्यार्थी निकै खुसी छन् ।’ विद्यार्थीलाई विद्यालयमा टिकाउने उपाय धेरै हुन सक्छन् । शान्ति नमुना माविजस्तै रूपन्देहीको तिलोत्तमा नगरपालिकाका सामुदायिक विद्यालयले दिवा खाजा खुवाएर विद्यार्थीलाई नियमित गराउने अभ्यास थालेका छन् । नगरभित्रका सबै बालविकास कक्षाका विद्यार्थीलाई खाजा खुवाउन तिलोत्तमा नगरपालिकाले सहयोग गरेको हो । खाजाले विद्यार्थी आकर्षित गरेपछि नगरले कक्षा ५ सम्म नै यस्तो व्यवस्था लागू गर्ने योजना बनाएको छ ।

तिलोत्तमा नगरपालिकामा ४३ वटा सामुदायिक विद्यालय छन् । ती सबैमा बालविकास कक्षा छ । चालु शैक्षिक सत्रमा ती बालविकास कक्षामा १ हजार ३ सय २८ बालबालिका भर्ना भएका छन् । ती सबैलाई विद्यालयले जेठ ९ देखि दिवा खाजा दिन थालेको हो । खाजा खान सबै विद्यालयमा खाजा तालिका बनाइएको छ । सोही अनुसार खुवाइन्छ । यसले घरबाट खाजा नल्याउने बालबालिकालाई विद्यालय समयभर रोक्न सकिएको र अभिभावकले घरबाट पैसा पठाउने समस्या पनि टरेको प्रधानाध्यापक कुलप्रसाद लामिछानेले बताए ।

नगरप्रमुख वासुदेव घिमिरेले सामुदायिक विद्यालयमा आकर्षण बढाउन, विद्यार्थी टिकाउन र पोषणमा सुधार ल्याउन दिवा खाजा कार्यक्रम गरिएको बताए । ‘नगरपालिकाबाट विद्यालय खुलेको दिनको हिसाबले दैनिक प्रतिविद्यार्थी २५ रुपैयाँका दरले विद्यालयलाई रकम दिने गरेका छौं,’ उनले भने, ‘यसबाट विद्यालयले तालिका बनाएर खाजा खुवाउने गरेका छन् ।’

खाजाको निरन्तरताका लागि नगरपालिकाले आगामी वर्षको बजेटमा समेत १ करोड रुपैयाँ विनियोजन गरेको छ । ‘दिवा खाजा कार्यक्रमले विद्यार्थीलाई विद्यालय ल्याउन, नियमित बनाउन र दिनभर विद्यालयमै राख्न सहज भएको छ,’ जनजागृति मावि व्यवस्थापन समिति अध्यक्ष यादवप्रसाद सापकोटाले भने, ‘विद्यार्थीको सिकाइ उपलब्धि पनि बढाउन सकिएको छ ।’

प्रकाशित : असार २८, २०७५ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?