ओझेलमा पाणिनि तपोभूमि

गुरुयोजना बनाएर काम सुरु
वीरेन्द्र केसी

अर्घाखाँची — संस्कृत व्याकरणको उद्गम थलो पाणिनि तपोभूमिको दीर्घकालीन गुरुयोजना बनाएर विकास र संरक्षण गर्ने गृहकार्य सुरु भएको छ । संघ, प्रदेश र स्थानीय सरकारले बजेट छुट्याएपछि काम अघि बढेको हो ।

अर्घाखाँचीको पाणिनि तपोभूमि स्थल । तस्बिर : वीरेन्द्र

संघले छुट्याएको १० लाख र प्रदेशले विनियोजन गरेको २० लाख रुपैयाँले निर्माणाधीन भ्यु–टावर पूरा गर्ने, विद्युत् विस्तार र लिफ्ट प्रविधिबाट खानेपानी पुर्‍याउने काम यसै वर्ष गरिनेछ । सडक मर्मत, निर्माणाधीन पोखरीको काम पूरा गर्न, मूर्ति राख्न र अन्य पूर्वाधारका काम गर्न पाणिनि गाउँपालिकाले १० लाख रुपैयाँ छुट्याएको छ ।

४ हजार वर्षअघि पाकिस्तानबाट पाणिनि नाम गरेका ऋषि अर्घाखाँचीको पोखराथोक र पणेनाको बीच जंगलमा आई ३० वर्षसम्म विश्वशान्तिको कामना गर्दै तपस्या गरेको इतिहास छ । उनले तपस्यासँगै विश्वको प्राचीन संस्कृत भाषाको पाणिनि व्याकरण रचना गरेको धार्मिक तथा ऐतिहासिक ग्रन्थमा उल्लेख भएको पाइन्छ । ‘शान्तिको कामनाका लागि तपस्या गरेको र संस्कृत व्याकरणको उद्गम थलो भएकाले यसको संरक्षण गरी विकास गर्नुपर्छ,’ पाणिनि गाउँपालिका अध्यक्ष अच्यूत गौतमले भने, ‘गुरुयोजना बनाएर पूर्वाधार निर्माण गरी पर्यटकीय गन्तव्यस्थल बनाउने अभियानमा लागिपरेका छौं ।’

प्रचार अभावमा ऐतिहासिक स्थल महत्त्वहीन बनेको छ । सामान्य जानकारी पाएका केही आन्तरिक तथा बाह्य पर्यटक अध्ययन गर्न पाणिनिमा आउँछन् । अग्लो डाँडो र जंगलको बीचमा रहेको यस तपोभूमिमा मन्दिर निर्माण, पाणिनिको मूर्ति र तपस्या गरेको ठाउँलाई संरक्षण गरिने गाउँपालिका अध्यक्ष गौतमले बताए । ऐतिहासिक स्थलको अध्ययन गर्न आएका पर्यटकलाई केही समय यहाँ बस्न मिल्ने भौतिक पूर्वाधार निर्माण गर्ने लक्ष्य पनि गाउँपालिकाले अघि सारेको छ । ‘यस पावन भूमिलाई धार्मिक र आध्यात्मिक स्थलका रूपमा विकास गर्ने योजना छ,’ गौतमले भने, ‘हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र र संस्कृत व्याकरणको उद्गमस्थलको अध्ययन गर्न चाहनेलाई आकर्षित गर्ने गरी पर्यटकीय केन्द्रका साथसाथै योगस्थल बनाउने लक्ष्य छ ।’

प्राचीनकालमा निर्माण गरिएका मठमन्दिर, पौवा र तपस्यास्थललाई बर्सेनि महायज्ञ लगाएर संरक्षण गरिएको पोखराथोकका स्थानीय चन्द्रकान्त पौडेलले बताए । महायज्ञमा टाढाटाढाबाट सयौं भक्तजन आउने उनले बताए । ‘ऐतिहासिक स्थल पाणिनि राष्ट्रकै सम्पत्ति हो,’ उनले भने, ‘यसको संरक्षण र प्रचार गरेर अध्ययन स्थल बनाउनुपर्छ । तीनै तहका सरकारले बजेट छुटयाएर सम्बोधन गर्नु सकारात्मक हो ।’ लुम्बिनी आउने पर्यटकलाई पाणिनिसम्म पुर्‍याउने योजना बनाउन पनि प्रदेश सरकारसँग उनको आग्रह छ ।

प्रदेश सांसद रामजीप्रसाद घिमिरेका अनुसार केन्द्रको बजेटले गुरुयोजना निर्माण, प्रदेश र स्थानीय सरकारको बजेटले पूर्वाधार निर्माण गरिनेछ । ‘पाणिनि तपोभूमिलाई विश्व सम्पदा सूचीमा राख्न प्रदेश सरकारबाट पहल भएको छ,’ उनले भने, ‘ऐतिहासिक महत्त्वको स्थान ओझेलमा परेको थियो । अब संरक्षण र प्रवद्र्धन गरी पर्यटक भित्र्याउँछौं ।’ ऐतिहासिक कलाकृतिले सजिएका मठ मन्दिर, ढुंगाका संरचना, भगवानका मूर्ति र ठूलो चौर रहेकाले यसलाई जैविक विविधतासहितको तपोभूमिका रूपमा विकास गर्ने लक्ष्य लिइएको स्थानीय रामप्रसाद भट्टराईले बताए ।

५० रोपनी क्षेत्रफलमा फैलिएको पाणिनि तपोभूमि रमाइलो र सुन्दर छ । जंगलको बीचमा रहेकाले संरक्षणको अभाव पनि खडकिँदो छ । केही वर्षअघि यस मन्दिरका महत्त्वपूर्ण चीजबिज, मूर्ति, घण्टलगायत बहुमूल्य सामग्री चोरी भएका थिए । त्यसरी चोरी हुनेमा १ सय किलोको ठूलो घण्ट पनि थियो । पाणिनिले तपस्या गर्दा रातिका बेला उक्त घण्ट बज्ने गथ्र्यो भन्ने जनविश्वास छ ।

सम्पूर्ण भाषाको जग नै संस्कृत भाषालाई मानिन्छ । तसर्थ, पाणिनि क्षेत्रलाई विश्वमा चिनाउन यहाँ संस्कृत भाषा र साहित्यको पाठशाला खोलेर अध्ययन स्थल बनाइने योजना रहेको प्रदेश सांसद घिमिरेले बताए ।

प्रकाशित : असार २८, २०७५ ११:१३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

किशोरी मृत्यु प्रकरण: हजुरआमालाई म्याद थप

कान्तिपुर संवाददाता

रूपन्देही — आगोले जलेर मृत्यु भएकी कञ्चन गाउँपालिका ५ रुद्रपुरकी १६ वर्षीया समीक्षा ठकुरीको मृत्यु स्वाभाविक नभएको अनुसन्धानले देखाएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानमा स्वाभाविक मृत्यु नभई ‘कर्तव्य’ कै संकेत देखिएको जनायो ।

किशोरीकी हजुरआमा ६२ वर्षीया हरिकला ठकुरीलाई प्रहरीले मंगलबार ७ दिन म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । इलाका प्रहरी बुटवलका नायव उपरीक्षक डिलबहादुर मल्लले घटना थप शंकास्पद देखिएको बताए ।

‘थप कुरा अनुसन्धानबाटै खुल्छ,’ उनले भने, ‘प्रारम्भिक अनुसन्धानकै आधारमा हजुरआमाको म्याद थप गरिएको छ ।’ सोमबार किशोरीका बाबु तेजबहादुर, हजुरबुबा द्रोण, फुपूहरू अमृता भन्ने शोभाकुमारी राना र मधु खासुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । उनीहरू पनि निगरानीमै रहेको प्रहरीले जनाएको छ ।

किशोरी मृत्यु प्रकरणले प्रदेशसभाको सोमबारको बैठकमा समेत प्रवेश पाएको थियो । प्रदेशसभाका महिला सदस्यले बैठकको शून्य समयमा बोल्दै निष्पक्ष छानबिनको माग गरेका थिए ।

महिला सदस्यको मागमा मंगलबार प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले जवाफ दिँदै किशोरी मृत्यु प्रकरणमा कुनै कसुर बाँकी नरहने गरी प्रहरी नेतृत्वकै निगरानी र निर्देशनमा छानबिन भइरहेको बताए । किशोरीको असार ९ गते घरमा सुतेको अवस्थामा पूरै शरीर जलेको थियो ।

प्रकाशित : असार २८, २०७५ ११:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT