मातृभाषा संकटमा परेको गुनासो

दुर्गालाल केसी

दाङ — मातृभाषाहरु संकटमा पर्दै गएको भाषाविद्हरुले गुनासो गरेका छन् । भाषा आयोगले बिहीबार घोराहीमा आयोजना गरेको छलफल कार्यक्रममा सहभागीहरुले आगन्तुक भाषाको प्रभाव बढ्दै गएका कारण मातृभाषा लोप हुँदै गएको बताए ।

दाङको घोराहीमा आयोजित भाषा आयोगको छलफल कार्यक्रममा सहभागीहरु । तस्बिर : दुर्गालाल केसी

अन्य भाषाहरुको प्रभाव बढ्दै गएका कारण मातृभाषा लोप हुन थालेको आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले बताए ।

भाषा दैनिक जीवनसँग जोडिए मात्रै संरक्षण हुने धारणा उनले व्यक्त गरे । एकल भाषाले समाज समृद्ध हुननसक्ने बताउँदै उनले बहुभाषाले नै जीवनलाई सम्पन्न बनाउने बिचार व्यक्त गरे ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले आगन्तुक भाषाको प्रभाव बढ्दै गएको बताए । भाषा हराउँदा इतिहास मेटिदै जाने उनले बताए ।

‘भाषामा संस्कृति, परम्परा र इतिहास छ । नेपालको सभ्यता भाषाले निर्माण गरेका छन्,’ उनले भने,‘इतिहासको खोज अनुसन्धान गर्न भाषाले सजिलो बनाउँछ । भाषा नै नरहे खोज अनुसन्धानका आधार लोप हुन्छन् ।’

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले भाषामा विविधता राष्ट्रको सम्पत्ति भएको उल्लेख गर्दै विविधताभित्र एकता खोज्न आवश्यक रहेको बताए । ‘भाषामा विभिन्न संस्कृति, चालचलन र परम्परा जोडिएका छन् ।

भाषाले हाम्रो पहिचान दिएको छ,’ उनले भने, ‘भाषाले नै समाजलाई विविधतापूर्ण बनाएको छ तर भाषाका कारण समाजमा विखण्डन आउनु हुँदैन । आफ्नो अस्तित्व बचाउन भाषा बचाउनुपर्छ ।’

घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले सम्बन्धित मातृभाषीले आफ्नो भाषा प्रयोग नगर्दा लोप हुने अवस्थामा पुगेको बताए । घोराहीमा थारु भाषालाई सरकारी कामकाजको बनाउने निर्णय भए पनि लागू गर्न कठिनाई भएको उनले बताए ।

तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले भाषा ज्ञानको भण्डार भएको बताए । भाषाभित्र अनेक अध्ययनका क्षेत्र भएकाले यसको संरक्षण गर्नु जरुरी रहेको उनले बताए ।

जिल्ला समन्वय समिति प्रमुख जितेन्द्रमान नेपालीले भाषाले समाजको बिबिधता बचाउने धारणा व्यक्त गरे । प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले भाषा संरक्षणमा आआफ्नो समुदाय जागरुक हुनुपर्ने बताए ।

भाषा संरक्षणका लागि लोपोन्मुख जातीको मातृभाषाका लिपी र शब्दहरु संग्रह गर्ने काम गरिरहेको भाषा आयोगका सचिव रामशरण सापकोटाले जानकारी दिए ।

कुसुण्डा, सोनाहा जस्ता लोपोन्मुख जातीको अस्तित्व बचाउन उनीहरुको मातृभाषालाई लिखित अभिलेखिकरण गर्न थालेको उनले बताए ।

प्रकाशित : असार २८, २०७५ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेशसभा निर्णयविरुद्धको मुद्दामा कारण देखाउ आदेश

नगेन्द्र अधिकारी

हेटौंडा — प्रदेश राजधानी सम्भाव्यता अध्ययन समिति गठन गर्ने प्रदेशसभाको निर्णयविरुद्ध उच्च अदालत पाटनको हेटौंडा इजलासमा मुद्दा परेको छ ।

प्रदेश सरकार, मुख्यमन्त्री, सभामुख, प्रदेश सभा, सम्भाव्यता अध्ययन समिति, विपक्षी दलका नेता र प्रदेशसभामा प्रतिनिधित्व गर्ने दललाई विपक्षी बनाएर अधिवक्ता ध्रुवप्रसाद चौलागाईले दायर गरेको रिट निवेदनमा न्यायाधीश चिन्तामणि बरालको एकल इजलासले विपक्षीलाई कारण देखाउ आदेश जारी गरेको हो ।

हेटौंडालाई नै राजधानीको लागि दाबी गरिएको रिट निवेदनमा २०७५ वैशाख १४ गते गठन भएको प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समिति गठन गर्ने गरी भएका निर्णय र सो सम्बन्धमा भएका सबै काम कारबाही बदर गर्न माग गरिएको छ । ‘प्रदेश राजधानीको सम्बन्धमा ३ नं प्रदेश सभासदहरुले नै निर्णय गर्ने संवैधानिक व्यवस्था भएकोले संविधानको धारा २८८ (२) बमोजिम प्रदेश सभाले देश, काल, परिस्थिति, संघीयताको मर्मअनुरुप हेटौंडामा राजधानी तोकिएपछि भएको ५० औं करोड खर्च गरी भएको पूर्वाधारलाई ख्याल गरी अगाडि बढ्नुपर्नेमा अशान्ति सिर्जना हुने कार्य भइरहेकोले यस्तो काम नगर्न/नगराउन र आम नागरिकको मौलिक हकमा आघात पर्ने काम नगर्नु नगराउन’ भनि विपक्षीको नाममा उत्प्रेषण परमादेशलगायत उपयुक्त आदेश वा पूर्जी जारी गर्न माग गरिएको छ ।

न्यायाधीश बरालको एकल इजलासबाट ‘यसमा के कसो भएको हो, निवेदनको माग बमोजिमको आदेश किन जारी गर्नु/नपर्ने, गर्नुनपर्ने कुनै आधार, कारण र प्रमाण भए सबुत प्रमाणसहित’ १५ दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षीको नाममा कारण देखाउ आदेश जारी भएको हो ।

प्रदेशसभाद्वारा गठित राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले असार २६ गते काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुरलाई उपयुक्त भन्दै वर्णानुक्रम अनुसार सिफारिस गरेको थियो । प्रतिवेदन सभामा पेस भएपछि संविधानअनुसार नै दुई तिहाई बहुमतबाट निर्णय हुनेछ । रिट निवेदनमा अदालतले कारण देखाउ आदेश जारी भएकोले राजधानीबारे टुंगो लाग्न केही समय लाग्ने भएको छ । विपक्षीले लिखित जवाफ दिएपछि मात्रै सुनुवाई सुरु हुने अदालतले जनाएको छ ।

प्रकाशित : असार २८, २०७५ १८:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्