खरका छाना जस्तामा बदलिँदै

प्यूठान — परिचय नै बदल्ने गरी गौमुखी गाउँपालिकाले खरका छाना हटाउने भएको छ । खरका छानालाई जस्तामा बदल्न तेस्रो गाउँसभाले ३ करोड ५५ लाख रुपैयाँ विनियोजन गरेपछि खरका छाना लगाएका झन्डै हजार विपन्न परिवार खुसी बनेका छन् ।

खरका छाना जस्तामा बदलिँदै

विपन्न समुदायका घरमात्रै खरका छानाका रहेकाले उनीहरूलाई राहत पुग्ने र गाउँको परिचयसमेत फेरिने गरी निर्णय गरेको गाउँपालिकाले जनाएको छ । जस्ताले छाएपछि बर्खामा पानी चुहिने र हिउँदमा आगलागी हुने चिन्ताबाट सर्वसाधारण मुक्त हुनेछन् ।

सदरमुकाम खलंगादेखि सबैभन्दा टाढा र दुर्गम मानिने अर्खा, रजवारा, पँुजा, खुङ, लिवाङ, नारीकोटलगायत बस्तीलाई एकीकृत गरी गौमुखी गाउँपालिका बनाइएको हो । यी गाउँ जिल्लाकै दुर्गम र विपन्न समुदायको बस्ती भएका क्षेत्र हुन् । जिल्लाका अन्य स्थानीय तहको तुलनामा यहाँका सर्वसाधारणको जीवनस्तर कष्टकर छ । यस वर्षमात्र हजारभन्दा बढी गरिब घरपरिवारलाई जस्तापाता प्रदान गर्ने गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले बताए ।

‘पहिरोको जोखिम रहेका क्षेत्रमा बस्ती छन्,’ उनले भने, ‘जथाभावी सडक पुर्‍याएर भूक्षय निम्त्याउनुभन्दा जनतालाई प्रत्यक्ष लाभ पुर्‍याउने गरी खर हटाएर जस्ता लगाउन बजेट व्यवस्थापन गरेका हौं ।’ पहिरोले घरबासविहीनलाई जग्गाको समेत व्यवस्था गरिने उनले बताए । त्यसका लागि कार्यविधि तयार हुँदै छ । यो अभियानले हरेक वर्ष घर मर्मत गर्ने झन्झटबाट स्थानीय मुक्त हुने उनको दाबी छ ।

गौमुखीजस्तै अन्य स्थानीय तहले पनि खरका छाना विस्थापित गर्दै छन् । जिल्लाका २ नगरपालिका र ७ गाउँपालिकामध्ये अधिकांश स्थानीय तहका नगर/गाउँसभाले विनियोजन गरेको बजेटअनुसार यस वर्ष ३ हजारभन्दा बढी घर खरका छानाबाट जस्तापातामा फेरिनेछन् । प्यूठान नगरपालिका ४ का जीवलाल थापा मगरले नगरपालिकाले टिनले घर छाइदिने खबरले सिंगो परिवारमै खुसियाली छाएको बताए ।

‘सँगै भएका धेरैका घर टिनले छाएका छन्, मेरो मात्रै खरको छानो हो,’ उनले भने, ‘अब हाम्रो घरमा पनि टिन लगाइदिने भन्दै कर्मचारी टिप्न आएपछि घरपरिवार नै खुसी छौं ।’ दैनिक ज्याला मजदुरीबाट छाक टार्ने उनीजस्तै वडाका ५० भन्दा बढी घरमा जस्तापाता लगाउने तयारी भइरहेको नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताए ।

नगरपालिकाले चालु वर्षमा ५० लाख बजेट विनियोजन गरी गरिब घरपरिवारलाई जस्तापाता प्रदान गरिसकेको छ । आगामी वर्षका लागि पनि यो कार्यक्रम निरन्तर रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले विपन्न समुदायका लागि जनता आवास कार्यक्रम बनाएर वडा ३ का ८ गन्धर्व परिवारलाई प्रतिपरिवार १ रोपनीका दरले जमिन किनेर उपलब्ध गराएको थियो । खरको छाना हटाएर जस्तापाता लगाउन प्यूठान नगरपालिकाले ६०, स्वर्गद्वारी नगरपालिकाले ५०, झिमरुक गाउँपालिकाले ३०, सरुमारानी गाउँपालिकाले २० र मल्लरानी गाउँपालिकाले २० लाख रुपैयाँ विनियोजन गरेका छन् ।

दुर्गम र विपन्न बस्ती रहेको वडा छनोट गरी त्यही वडाबाट खरका छाना हटाउने कामको थालनी गर्ने स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्रबहादुर रोकायाले बताए । ३ वर्षमा नगरपालिकाभित्र खरका छानाका घर हुने छैनन्,’ उनले भने, ‘आगामी वर्ष १ नम्बर वडाको कोचिबाङबाट अभियान सुरु गर्दै छौं ।’

सरुमारानी गाउँपालिकामा हरेक वर्ष १० देखि १५ खरका छाना भएका घरमा आगलागी हुने गरेको छ । आगलागीमा परेर मर्ने र घाइते हुनेको संख्या पनि उस्तै छ । आगलागीको जोखिम कम गर्नकै लागि जस्तापाता लगाउने अभियान सुरु गर्न आगामी वर्षका लागि २० लाख रुपैयाँ रकम विनियोजन गरिएको गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले बताए । ‘जस्तापाता लगाउन सक्ने परिवारले आफैं लगाएका छन्,’ उनले भने, ‘गरिब परिवारलाई छनोट गरेर गाउँपालिकाले लगाइदिनेछ ।’ उनले ‘गरिबका घरमा गाउँ सरकार’ कार्यक्रम बनाएर गरिब जनताको घरमा जस्तापाता लगाइने कार्यक्रम बनाएको बताए ।

प्यूठान नगरपालिका ३ की निर्मला गन्धर्वले पनि सरकारले जमिन दिएपछि पहिरोको जोखिमबाट राहत पाएको बताइन् । उनी गत वर्ष नगरपालिकाले उपलब्ध गराएको १ रोपनीमा छाप्रो बनाएर बसेकी छन् ।

प्रकाशित : असार ३१, २०७५ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?