असार नसकिँदै बग्यो विकास

माधव अर्याल

पाल्पा — जिल्लाका नगर, गाउँपालिका र विकासे कार्यालयले वर्षा सुरु भएपछि गरेका विकास कार्य असार नसकिँदै बगेका छन् । डिभिजन सडक कार्यालय, सहकारी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, जिल्ला प्राविधिक कार्यालय, नगरपालिका, गाउँपालिकाले निर्माण गरेका संरचना असारको पानीले बगाइसकेको हो ।

असार नसकिँदै बग्यो विकास

तानसेनभित्र कालोपत्रे, नाली निर्माण, टालटुल र डोजर लगाएका स्थानको अवस्था अहिले पुरानै स्वरूपमा फर्किएको छ । सडकले गरेको कालोपत्रे, रिसिलिङ वर्षाको भेलले बगाएपछि यस्तो भएको हो । जिल्ला प्राविधिक कार्यालयले गरेको ओटासिलको पनि अवस्था त्यही छ । ‘वर्षा लागेपछि सुरु गर्ने विकास महिना दिन पनि टिकेको छैन,’ स्थानीय राजेन्द्र अधिकारीले भने, ‘यसबाट जनता मर्कामा परेका छन् ।’

सदरमुकाम तानसेनभित्रको होलाङदीदेखि बसपार्क रेडक्रस लहरेपीपल सडकमा गरेको कलोपत्रे एक महिना नपुग्दै उप्किएको छ । असारभित्रै नगरपालिकाबाट भुक्तानी लिन पानी परिरहँदा पनि यस खण्डमा रातभर कालोपत्रे गरिएको थियो । सडक टालटुल गर्दा पनि प्रक्रिया नपुर्‍याई बिल बनाउने गरेको स्थानीयको गुनासो छ ।

तानसेन–तम्घास खण्डको त्रिभुवन बहुमुखी क्याम्पसअगाडिको क्षेत्रमा गरिएको कालोपत्रे कामै नलाग्ने गरी उप्किएको छ । ‘कालोपत्रे गरेको सडक एक महिनामै फेरि उस्तै बनेको छ,’ स्थानीय सुधीर श्रेष्ठले भने, ‘अनुगमन गर्ने निकायले बेवास्ता गर्दा काम सही ढंगले नभएको हो ।’ यस खण्डमा गत वर्ष काम लगाइएको ठेकेदारको ठेक्का रद्द गरी पुन: अर्कोमार्फत गराइएको थियो ।

तानसेन नगरपालिकाले नगर सौन्द्रर्यकरण कार्यक्रमअन्तर्गत तानसेन बजारभित्रको सडकलाई आकर्षक बनाउन खाल्डाखुल्डी टाल्ने र कालोपत्रे गर्ने अभियान नै सञ्चालन गरेको हो । निर्माण कार्यमा ठेकेदारको लापरबाहीले गुणस्तरहीन काम भएको श्रेष्ठको गुनासो छ ।

तानसेनकै पुरुषोत्तम अमात्य निर्माण कम्पनीले १९ लाख ९० हजार रुपैयाँको ठेक्कामा होलाङदीदेखि बसपार्क हुँदै तानसेन नगरपालिका कार्यालयअगाडि र टँुडिखेलसम्म कालोपत्रे गर्ने ठेक्का पाएको थियो । यस्तै रेडक्रस लहरेपीपलसम्म पनि उसैले वर्षा लागेपछि मर्मत गरेको थियो । राज्यलाई जनताले तिरेको करको अपहेलना भएको भन्दै कामको गुणस्तरको सवालमा जनताले प्रश्न उठाएका थिए ।

तानसेन नगरपालिका र पुरुषोत्तम अमात्य निर्माण कम्पनीका ठेकेदारको लापरबाहीका कारण कालोपत्रे गुणस्तरहीन भएको स्थानीयले बताए । तानसेन नगरपालिकाले भने सडक निर्माणका क्रममा गुणस्तरहीन कालोपत्रे भएको थाहा पाएपछि त्यसलाई सुधार गर्न पटकपटक ताकेता गर्दा पनि निर्माण कम्पनीले अटेर गरेको बताएको छ । सो सडक बिग्रेको अवस्थामा १ वर्षसम्म पुनर्निर्माणको जिम्मा कम्पनीकै हुने भएकाले पुरुषोत्तम अमात्य निर्माण कम्पनीलाई पत्र लेखेर तत्काल सडक निर्माण गर्न निर्देशन दिइएको इन्जिनियर रामप्रसाद श्रेष्ठले बताए ।

पर्यटकीय मार्गअन्तर्गत तानसेन रानीमहल सडक खण्डमा वर्षाकै बीच कालोपत्रे गरेपछि डिभिजन सडक कार्यालय काम रोक्न बाध्य भएको छ । इलाइट निर्माण कम्पनीले वर्षा भएका बेला कालोपत्रे गर्न लागेपछि रोकेको सडक डिभिजनका सूचना अधिकारी पवित्रमणि आचार्यले बताए । तानसेनको बर्तुङ, लामडाँडा, बाँसटारीसम्मको रिसिलिङ सबै पानीले बगाएको छ । दिनभर रिसिलिङ गरेको गिट्टी बेलुका पानी परेपछि सबै बगाएर लगेको हो ।

आर्यभन्ज्याङदेखि रामपुरसम्मको सडक निर्माणसमेत असार लागेपछि भएको थियो । बाँसटारी झडेवा सडक ओटासिल गरे पनि भत्किइसकेको छ । स्थानीयका अनुसार घुम्तीहरूमा कतै पनि कालोपत्रे अडिएको छैन । हार्थोक छहरा तीनगिरे सडकमा पनि कालोपत्रे अडिएको छैन । वर्षा लागेपछि गरेको कालोपत्रे उप्किइसकेको स्थानीय केशव खत्रीले बताए ।

प्रकाशित : असार ३१, २०७५ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?