पशुहाट र लटकनिया क्षेत्र उच्च जोखिममा

बर्दिया — तटबन्धको काम गुणस्तरीय नहुँदा गुलरियाका पशुहाट र लटकनिया क्षेत्र बबई नदीको उच्च जोखिममा परेका छन् । नदी कटान रोक्न जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय नेपालगन्जले ३ वर्षदेखि गर्दै आएको आपतकालीन नदी नियन्त्रण व्यवस्थापनको काम गुणस्तरीय नहुँदा यस्तो समस्या आएको हो ।

पशुहाट र लटकनिया क्षेत्र उच्च जोखिममा

बबई, भादा र ओराही नदीमा हरेक वर्ष बाढीको जोखिम बढ्दो छ । यस क्षेत्रमा वर्षायाममा हुन सक्ने सम्भावित जोखिम रोक्न यस वर्ष पनि आपतकालीन काम सुरु गरिएको छ । तर, प्रभावकारी नहुने भन्दै सर्वसाधारणले गुनासो गरेका छन् ।

६ महिनाअघि नदी नियन्त्रण र बाढीबाट हुने डुबान र कटान रोक्न आयोजनाको कार्यालय स्थापना भएको थियो । आयोजना प्रमुख नारायण सुवेदीले उच्च जोखिम पशुहाटमा निर्माण गरिएको बाँध कमसल भएकै कारण यस वर्ष जोखिम बढेको बताए । त्यसबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न बोरामा बालुवा भरेर तटबन्ध निर्माणको काम गरिएको बताए । ‘मनसुन सकिनासाथ यहाँ पक्की तटबन्ध र बाँध निर्माण सुरु गरिएको छ,’ उनले भने, ‘निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ ।’ जोखिम क्षेत्रमा नदी कटान रोक्न बम्बो पाइलिङ र आरसीसी पाइनिङको काम सुरु गरिएको छ ।

बर्सेनि बाढी र कटानले सदरमुकाम गुलरियालगायत बारबर्दिया, ठाकुरबाबा र मधुवन नगरपालिकाको तटीय क्षेत्रलाई हानि पुर्‍याउन थालेपछि क्षति न्यूनीकरण गर्न १३ अर्ब २१ करोडको लागतमा बाँध निर्माण सुरु भएको हो । नदीमा पटक–पटक आउने बाढी र कटानले बर्सेनि सयौं बिघाभन्दा बढी जमिनमा क्षति पुर्‍याउँदै आएको छ । ठूलो धनजनको क्षति भएपछि पहिलोपटक पञ्चवर्षीय गुरुयोजनाअन्तर्गत भरपर्दो तटबन्ध निर्माण सुरु गरिएको आयोजनाले जनाएको छ ।

सुरक्षित तटबन्ध निर्माण
०७१/७४ को बाढीले असुरक्षित बन्दै गएको बबई नदीस्थित कुसुमडाँडा, घोरपिट्टा, गुरुवागाउँ, जब्दीघाट, रामपुर टप्पु, बालापुर, थपुवा, बिक्री र भैसाही क्षेत्रलाई डुबान तथा कटानले क्षति पुर्‍याएको थियो ।

कार्यालय स्थापना भएको ६ महिना अवधिमा यस क्षेत्रमा पक्की तटबन्ध निर्माण भइसकेको छ । थपुवा, रामपुर टप्पु, जब्धिघाटमा बाँधसहितको तटबन्ध शतप्रतिशत पूरा भएको आयोजनाले जनाएको छ । अन्य जोखिमपूर्ण ठाउँमा तटबन्ध र बाँधका लागि ठेक्का सम्झौता भई वर्षायाम सकिनासाथ काम सुरु हुनेछ । तटबन्ध र बाँध निर्माण सम्पन्न भएका ठाउँमा वर्षायाममा बाढी र कटान नियन्त्रण हुने आयोजना प्रमुख सुवेदीले बताए ।

विगतमा रकम अभावमा बबई नदी तटबन्ध कमसल भएको र कटानले ठूलो क्षति पुर्‍याउँदै आएको थियो । आयोजना स्थापनापछिको काम टिकाउ र भरपर्दो भएको गुलरिया नगरपालिका पूर्वउपप्रमुख एवं नेकपाका जिल्ला नेता हरिप्रसाद ज्ञवालीले बताए । ‘छोटो अवधिमा धेरै काम भएको छ,’ उनले भने, ‘यस्तैगरी काम भयो भने छिटो सम्पन्न हुनेछ ।’

गुरुयोजनाअन्तर्गत बबईको दायाँतर्फ २० र बायाँ २८ गरी ४८ किमि तटबन्ध काम हुनेछ । हाल दायाँतर्फको बजेट स्वीकृत भए पनि स्थानीयको मागअनुसार बायाँ किनारका लागि संशोधित गुरुयोजनाको माग भएको हो । भादा १५ र ओराही नदीमा २६ किमि लामो तटबन्धको काम सुरु भएको छ । गुलरिया नगरपालिका प्रमुख मुक्तिनाथ यादवले आयोजनाको अहिलेको टिमले निकै छिटो काम गरिरहेको बताए ।

प्रकाशित : असार ३२, २०७५ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?