एसियाका घुम्नैपर्ने स्थलमा लुम्बिनी

मनोज पौडेल

कपिलवस्तु — सन् २०१८ मा एसियाका घुम्नुपर्ने महत्त्वपूर्ण ठाउँमा बुद्ध जन्मभूमि लुम्बिनी पनि परेको छ । संसारकै विश्वासिलो गाइडबुक एवं ट्राभल वेबसाइट कम्पनी ‘लोन्ली प्लानेट’ ले घुम्नैपर्ने एसियाका १० स्थानको सूची सार्वजनिक गर्दै लुम्बिनीलाई सातौं स्थानमा राखेको हो ।

एसियाका घुम्नैपर्ने स्थलमा लुम्बिनी

लोन्लीले शुक्रबार सार्वजनिक गरेको सूचीको पहिलो नम्बरमा कोरियाको बुसान, दोस्रोमा उज्बेकिस्तान, तेस्रोमा भियतनामको होचिमिन्ह सहर, चौथोमा भारतको पश्चिमी घाट र पाँचांैमा जापानको नागासाकी राखेको छ ।

त्यस्तै, छैटौंमा थाइल्यान्डको चियाङमाई सहर, सातौंमा लुम्बिनी, आठौंमा श्रीलंकाको अरूगम बे, नवौंमा चीनको सिचुवान र दसौंमा इन्डोनेसियाको कोमोदो राष्ट्रिय निकुञ्जलाई घुम्नैपर्ने स्थान भनी सूचीकृत गरेको छ । घुमफिरसम्बन्धी जानकारी दिने अमेरिकाको यस ट्राभल बेबसाइटले विगत केही वर्षदेखि संसारका विभिन्न स्थानलाई घुम्नलायक भनेर छनोट गरी सूची सार्वजनिक गर्दै आएको छ । ‘पर्यटकीय महत्त्वको ऐतिहासिक र पुरातात्त्विक स्थल लुम्बिनी हो, जसले सबैलाई आमन्त्रण गरिरहेको छ,’ वेबसाइडमा छोटो जानकारी दिँदै भनिएको छ, ‘शान्ति, सद्भाव, प्रेरणा र भ्रातृत्व खोज्नेदेखि पर्यटकीय आकर्षणको आनन्दमा रमाउनेसम्म यहाँ अटाउँछन् ।’

‘लोन्ली प्लानेटले पहिलोपटक लुम्बिनीलाई एसियाकै वेस्ट डेस्टिनेसनमा समावेश गरेकामा निकै खुसी छौं,’ सिद्धार्थनगर होटल एसोसिएसनका महासचिव लीलामणि पौडेलले भने, ‘यसले लुम्बिनीको महत्त्व विश्वव्यापी रूपमा उजागर गरेको छ ।’ घुमन्तेका लागि लोन्ली प्लानेट महत्त्वपूर्ण ट्राभल गाइड बुक भएको उनले बताए । यो बुक अगस्तमा छापिएर बजारमा आउँछ ।

बुकमा झन्डै ४ पेजमा लुम्बिनीको आकर्षण, मायादेवी मन्दिर, पूर्वी र पश्चिमी जोनको विहार मोनास्ट्री र स्थानीय पर्व र संस्कृतिबारेमा पनि सामग्री प्रकाशित हुने उनले बताए ।

‘संसार घुम्दै रमाउनेको ध्यान अब लुम्बिनीतिर आकर्षित हुन्छ,’ भिक्षु महासंघ अध्यक्ष भिक्षु मैत्री महास्थवीरले भने, ‘त्यस अनुसार हामीहरूले तयारी पनि गर्नुपर्छ ।’ कस्ताखाले पर्यटक के मन पराउँछन् भनेर तयारी गरेर उनीहरूलाई राम्ररी आतिथ्यता गर्न सकेमात्र लोन्ली प्लानेटले दिएको अभिभारा पूरा हुने उनले बताए ।

‘हामी अहिले परीक्षामा छौं, राम्रो गर्न सके एसियाकै एक नम्बर घुम्ने स्थानमा दर्ज हुन सक्छौं,’ वरिष्ठ पुरातत्त्वविद् वसन्त बिडारीले भने, ‘अब सबै कुरा हाम्रो हातमा आएको छ ।’ त्यसका लागि सबै सरोकारवाला लागेर परीक्षामा उत्तीर्ण हुनुपर्ने उनले बताए ।

संसारकै प्रसिद्ध ट्राभल वेबसाइट लोन्ली प्लानेटले सन् २०१७ मा पनि नेपालका विभिन्न ५ क्षेत्रलाई उत्कृष्ट पदमार्गको सूचीमा छनोट गरेको थियो । त्यसरी छनोट हुनेमा सगरमाथा क्षेत्र, अन्नपूर्ण क्षेत्र, लाङटाङ, हेलम्बु र मनास्लु, पूर्वी नेपाल र पश्चिमी नेपालका उच्च हिमाली र पहाडी भूभाग परेका थिए ।

प्रकाशित : असार ३२, २०७५ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?