प्रदेशका १२ विद्यालय ‘उत्कृष्ट’

बुटवल — सामाजिक विकास मन्त्रालयले प्रदेश ५ का १२ सामुदायिक विद्यालयलाई उत्कृष्ट छनोट गरेको छ । जिल्ला शिक्षा समन्वय इकाइको सिफारिसमा मन्त्रालयको आन्तरिक मूल्यांकन समितिले उत्कृष्ट विद्यालय छनोट गरेको हो ।

प्रदेशका १२ विद्यालय ‘उत्कृष्ट’

प्रत्येक जिल्लाबाट एक/एक विद्यालय छानिएको छ । उत्कृष्ट विद्यालयलाई थप उत्कृष्टता हासिल गर्न भन्दै आइतबार प्रोत्साहन पुरस्कार प्रदान गरियो । सामाजिक विकास मन्त्री सुदर्शन बरालले विशेष कार्यक्रमबीच विद्यालयका प्रधानाध्यापकलाई ८० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरे ।

पुरस्कृत हुनेमा रूपन्देहीको कालिका मानवज्ञान मावि, नवलपरासीको वाग्वाणी, कपिलवस्तुको जनता, पाल्पाको दमकडा, अर्घाखाँचीको आदर्श र गुल्मीको महेन्द्र मावि छन् । यस्तै, पूर्वी रुकुमको रुक्मिनी मावि, रोल्पाको बालकल्याण, प्यूठानको माण्डवी, दाङको पद्मोदय नमुना, बाँकेको ज्ञानोदय र बर्दियाको नेपाल राष्ट्रिय मावि उत्कृष्ट घोषित भएका छन् ।

पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री बरालले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि प्रोत्साह गर्न पुरस्कार प्रदान गरेको बताए । राम्रोलाई पुरस्कार र नराम्रोलाई कारबाहीको नीति लिएकाले त्यसैअनुसार काम गर्न पनि उनले सुझाव दिए ।

‘मन्त्रालयले विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षक दरबन्दी, नगद अनुदान, क्षमता अभिवृद्धि तालिमलाई बजेट विनियोजन गरेको छ,’ उनले भने, ‘यसैले गुणस्तरमा विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले ध्यान दिन जरुरी छ ।’ मन्त्रालयका सचिव पुस्करराज पन्थले सामुदायिक विद्यालयलाई उत्कृष्ट बनाउन प्रोत्साहन स्वरूप नगद पुरस्कार प्रदान गरिएको बताए ।

प्रकाशित : असार ३२, २०७५ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?