१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

डेढ सय नेपाली महिला बनारसमा बन्धक

कमल पन्थी

बर्दिया — वैदेशिक रोजगारका लागि अवैध रूपले तेस्रो मुलुक जान लागेका करिब १ सय ५० नेपाली महिला भारत उत्तरप्रदेशको बनारसमा बन्धक बनाइएका छन् । दलालमार्फत कोठीमा बन्धक बनाइएकी एक महिलाले बर्दिया, मधुवन नगरपालिकामा रहेका श्रीमान्लाई फोन गर्दै उद्धारको अपिल गरेपछि घटना सार्वजनिक भएको हो ।

डेढ सय नेपाली महिला बनारसमा बन्धक

महिलाको अपिलअनुसार उनका श्रीमान्ले उद्धारका लागि प्रहरीसँग आग्रह गरेका छन् । ती महिलाले दिएको जानकारीअनुसार नेपाली दलालमार्फत सबैलाई भारतीय दलालको जिम्मा लगाइएको छ र फलामे च्यानल गेटभित्रको कोठीमा बन्धक बनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बनारसको अज्ञात कोठीमा करिब १ सय ५० नेपाली महिलालाई बन्धक बनाएको जानकारी आएको बताए । ‘सबै बर्दियाकै भएका हुन्,’ उनले भने, ‘उनीहरूको उद्धारका लागि माइती नेपाललगायत संस्थासँग समन्वय गरिएकाले चाँडै त्यसतर्फ जाने भएका छौं ।’ बन्धन बनाइएको स्थान बनारस भनिए पनि अन्य विवरण खुलेको छैन । कल डिटेलका आधारमा खोजी गर्न भारतीय समकक्षीलगायत विभिन्न संघसंस्थासँग समन्वय भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासनले वैदेशिक रोजगारका लागि राहदानीको सिफारिस लिन आउने महिलामाथि कडाइ गर्ने भएको छ । वैदेशिक रोजगारका नाममा भारतको बाटो प्रयोग गर्ने बढेपछि कडाइ र छानबिनपछि मात्र राहदानीको सिफारिस गर्न लागिएको प्रजिअ कुरुम्बाङले बताए । ‘राहदानी लिई वैदेशिक रोजगारका नाममा अवैध रूपले भारतीय बाटो हुँदै तेस्रो मुलुक जाने बढेको पाइएपछि कडाइ गर्न थालिएको हो,’ उनले भने, ‘नेपाली महिलाको सुरक्षाका लागि छानबिनबिना राहदानी सिफारिस नगर्ने निर्णय गरेका छौं ।’ उनका अनुसार समयमा उजुरी नपर्नु, दलालबारे जानकारी नहुनु र चेतनाको कमीले उद्धारमा समस्या भएको हो ।

वैदेशिक रोजगारमा जान चाहने यहाँका अधिकांश महिला भारतको दिल्ली र मुम्बई हुँदै खाडी मुलुक पुग्छन् । दुई वर्षअघि दिल्ली हुँदै कुवेत जान हिंडेका ६ महिलासहित तीन दलाललाई भारतीय सुरक्षा बल एसएसबीले सीमावर्ती लौकाहीबाट नियन्त्रणमा लिएको थियो । पक्राउ परेका नवलपरासी मकर ६ का राजु भन्ने क्षेत्रबहादुर बुढासहित तीन जनालाई कारागार चलान गरिएको छ ।

भारतलगायत खाडी मुलुकमा यहाँबाट १४ देखि ३० वर्ष उमेरका महिला रोजगारका लागि अवैध ढंगले जाने गरेका छन् । आर्थिक अवस्था कमजोर, विदेश जाने रहर र गाउँकै दलालको प्रलोभनमा महिला वैदेशिक रोजगारमा जाने गरेका हुन् । प्रहरीले मानव बेचबिखनका दलाललाई पक्राउ गरी कारबाही चलाएको छ । चालु आवमा जिल्ला अदालतले गुलरिया १२ का अब्दुलहफिस शेषलाई चेलीबेटी बेचबिखनको मुद्दामा सात वर्ष कैद, बढैयाताल गाउँपालिकाका फुलपुरका सुनील चन्दलाई १२ वर्ष कैद सजाय तोकेको थियो ।

बर्दिया नाका भएर अवैध ढंगले वैदेशिक रोजगारमा जाने महिला बढेका छन् । नेपालगन्ज नाकामा कडाइ गर्न थालिएपछि दलाल यता आकर्षित भएका हुन् । यहाँका जमुनी, कालिका, गणेशपुर, टेपरी, ताराताल, कोठियाघाट, भिम्मापुर हुँदै अवैध रूपमा महिला कामदारलाई विदेश पठाइन्छ । महिला र पुरुष दलालमार्फत गत साउनदेखि असारसम्म वैदेशिक रोजगारका नाममा विदेश गएका १ सय ५२ महिला हराएको उजुरी प्रहरीमा दर्ता छ । तीमध्ये ३४ सम्पर्कमा आएको प्रहरी नायब उपरीक्षक युवराज खडकाले बताए । हराउनेमध्ये ६६ विवाहित महिला हुन् ।

दलालले वैदेशिक रोजगारका लागि भारतको दिल्ली, बनारस, मुम्बईलगायत सहरमा पुर्‍याउने गरेको प्रहरीले जनायो । बढैयाताल गाउँपालिकाकी २० वर्षीया एक युवती दलालमार्फत अवैध बाटो हुँदै दुबई पुगेकी थिइन् । उनलाई त्यहाँको दूतावासमार्फत आइतबारमात्रै घर फर्काइएको छ । ओरेक नेपालकी महिला अधिकारकर्मी सपना शर्माका अनुसार भारतका विभिन्न ठाउँबाट असार ३१ गतेसम्म १८ महिलालाई उद्धार गरिएको छ ।

प्रकाशित : श्रावण १, २०७५ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?