कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

३ सिकलसेल प्रभावित भेटिए

प्रदेश सरकारले ६ वटै जिल्लामा प्रयोगशाला राख्ने
अमृता अनमोल

बुटवल — लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा थारू समुदायलाई मात्र लाग्ने ‘सिकलसेल एनिमिया’ परीक्षणका लागि प्रयोगशाला स्थापना भएको छ । रूपन्देही, कपिलवस्तु र नवलपरासीमा समेत सिकलसेलका बिरामी भेटिएपछि प्रयोगशाला राख्न लागिएको हो ।

३ सिकलसेल प्रभावित भेटिए

२ साताअघि स्थापना भएको प्रयोगशालामा सम्भावित १५ बिरामी आएका थिए । तीमध्ये ३ जनामा सिकलसेल एनिमिया भेटिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्ण खनालले बताए । प्रभावित रूपन्देही र नवलपरासीका हुन् । लुम्बिनी अञ्चल अस्पताल बुटवलमा कार्यरत प्राविधिक प्रवीण शाहले यस क्षेत्रमा सिकलसेलका धेरै बिरामी भए पनि उपचारका लागि अझै नआएको बताए । प्रयोगशाला छ भन्ने प्रचार गर्न सके प्रभावित धेरै उपचारमा आउने उनले जनाए ।

छुट्टै भवन तथा कोठा नभएको भन्दै अस्पतालले अहिले सिँढीमुनि साँघुरो स्थानमा प्रयोगशाला राखेको छ । मेडिकल सुपरिन्टेन्डेन्ट डा. खनालले अस्पतालमा भवन अभाव रहेकाले सिँढीमुनि राखेर भए पनि सेवा दिएको बताए । उनले अस्पताललाई आवश्यक डाइनोस्टिक भवन बनाउन माग गर्दै पटक–पटक स्वास्थ्य मन्त्रालयमा पत्र पठाए पनि सुनुवाइ नभएकाले सिँढीमुनिबाटै चलाउनु परेको सुनाए ।

यसअघि प्रदेश ५ अन्तर्गत बाँकेको भेरी अञ्चल अस्पतालमा मात्र सिकलसेलको प्रयोगशाला थियो । यस रोगको नि:शुल्क औषधि पाइन्छ । सरकारले सिकलसेल एनिमियाबाट प्रभावितलाई १ लाख रुपैयाँ सहयोग उपलब्ध गराउँदै आएको छ । यसअघि सिकलसेल एनिमिया सबैभन्दा बढी बाँके, दाङ र बर्दियाका थारू समुदायमा देखिएको थियो । विस्तारै अन्य जिल्लामा समेत देखिन थालेको छ ।

प्रदेश ५ मा थारू समुदायको जनसंख्या झन्डै ७ लाख छ । सिकलसेलका बिरामी कति छन् भन्ने यकिन तथ्यांक भने छैन । यसका लागि प्रदेश सरकारले सिकलसेल एनिमिया रोगका बिरामीको यकिन र उपचारलाई सहज तथा प्रभावकारी बनाउने योजना अघि बढाएको छ ।

प्रदेशअन्तर्गत तराईका ६ जिल्लामै सिकलसेल एनिमियाको उपचारका लागि प्रयोगशाला स्थापना गर्न अध्ययन थालेको सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताए । प्रयोगशाला निर्माणका लागि जनशक्ति, भौतिक पूर्वाधारलगायत अध्ययन गर्न मन्त्रालयले स्वास्थ्य महाशाखाका कविराज निरीक्षक गणेश भट्टराई संयोजकत्वमा टोली खटाएको छ ।

थारू बाहुल्य बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही र नवलपरासी पश्चिममा सम्भाव्यता अध्ययन भइरहेको संयोजक भट्टराईले बताए । उनले ६ वटै जिल्लामा प्रयोगशाला आवश्यक देखिएको जनाए । चिकित्सकका अनुसार सिकलसेल एनिमिया रगतसम्बन्धी वंशाणुगत रोग हो । ‘सिकल’ भनेको हँसियाको आकार र ‘सेल’ भनेको रक्तकोषिका हो । रगतको कोषिकामा क्रोमोजोम हुन्छ र त्यसमा जिन हुन्छ । जिनमा खराबी आयो भने सिकलसेल एनिमिया हुन्छ ।

जिनमा समस्या हुँदा हँसियाको आकारमा बदलिन्छ । रातो रक्तकोषको आकार परिवर्तन भई सिकल अर्थात् हँसियाको रूप लिने हुनाले यसलाई सिकलसेल एनिमिया भनिन्छ । यो रोग आमाबाबु दुवैमा भए सन्तानमा पनि देखिने सम्भावना बढी हुन्छ । सिकलसेलमा व्यक्तिअनुसार फरक–फरक लक्षण हुन्छन् । यसमा सबैभन्दा पहिले रक्त अल्पता हुन्छ ।

प्रकाशित : श्रावण १, २०७५ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?