कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बेलैमा पानी पर्दा समयमै रोपाइँ

बुटवल — धान उत्पादनका लागि देशकै पहिलो प्रदेश ५ का ७ जिल्लामा ६५ प्रतिशत रोपाइँ सकिएको छ । १२ जिल्लामध्ये रूपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, पाल्पा, गुल्मी, प्यूठानलगायतमा अनुपातमा झन्डै ६५ प्रतिशत रोपाइँ भइसकेको हो ।

बेलैमा पानी पर्दा समयमै रोपाइँ

सबैभन्दा कम दाङमा ४३ र बढी प्यूठानमा ९० प्रतिशत खेत रोपिएको ती जिल्लाका कृषि विकास कार्यालयले जनाएका छन् । समयमै वर्षा र सिँचाइ सुविधा पुगेका किसानले यस वर्ष समयमै धान रोपेका हुन् । त्यसले उत्पादन बढ्ने आशामा किसान छन् ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार प्रदेश ५ मा ३ लाख ३० हजार ४ सय २६ हेक्टरमा धान खेती हुने गरेको छ । त्यसबाट १२ लाख ७४ हजार २ सय ६८ मेट्रिक टन धान उत्पादन हुन्छ ।

रूपन्देही धान उत्पादनमा देशको दोस्रो र प्रदेशको पहिलो जिल्ला हो । यहाँ ६९ हजार ३ सय हेक्टर क्षेत्रफलमा धान उत्पादन हुने गरेको छ । कृषि विकास कार्यालय रूपन्देहीका वरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाका अनुसार यस वर्ष झन्डै ६० प्रतिशत खेतमा रोपाइँ भइसकेको छ । १३ प्रतिशत जमिन आकाशे पानीको भरमा छ । त्यसको पनि कतिपय क्षेत्रमा रोपाइँ भइसकेको उनले बताए । ‘अहिले छिटो नै वर्षा भएकाले धेरै क्षेत्रमा रोपाइँ भइसक्यो,’ उनले भने, ‘समयमै परेको पानीको किसानले भरपूर फाइदा लिएका छन् ।’

दाङमा आइतबारसम्ममा ४३ प्रतिशत खेतमा रोपाइँ सकिएको छ । सिंचाइ कुलो भएका खेतमा ९५ प्रतिशत रोपाइँ भइसकेको छ । तर, आकाशे पानीमा भर पर्नुपर्ने ठाउँमा खेत बाँझै छ । आकाशे पानीमा भर पर्ने अधिकांश खेतमा भर्खर ब्याड राख्न सुरु भएको कृषिका नायव प्राविधिक सहायक रिम रोकायले बताए । ‘पानीकै अभावमा भर्खर ब्याड राख्ने काम भइरहेको छ,’ उनले भने, ‘पर्याप्त सिंचाइ अभावले रोपाइँ ढिला भएको छ ।’ यसले उत्पादनमा कमी ल्याउने उनले बताए । दाङमा ३८ हजार ५ सय हेक्टर खेतमा रोपाइँ हुने गरेको वरिष्ठ कृषि विकास अधिकृत दीपक शर्माले बताए ।

सिँचाइ सुविधा बढी भएको देउखुरी क्षेत्रमा धेरै रोपाइँ भइसकेको छ । दाङ उपत्यकामा भने सिँचाइ अभावकै कारण हुन सकेको छैन । कुलामा पानी नचलेकाले रातभर जाग्राम बस्नु परेको किसान सुनाउँछन् । ‘पानी पर्छ कि भनेर रात–दिन जाग्राम बस्ने गरेका छौं,’ घोराही उपमहानरपालिका ७ का मंगल चौधरीले भने, ‘पानी पर्नासाथ खेतमा जान्छौं ।’ ढिला परेकाले धेरैतिर भर्खर ब्याड राख्न थालिएको उनले बताए ।

पाल्पामा पर्याप्त आकाशे पानी नपरे पनि भल छोपेरै ७८ प्रतिशत खेतमा रोपाइँ भइसकेको छ । अन्न भण्डारका रूपमा चिनिने माडी फाँटका ढाब, दह खेत, बाँसटारी, झडेवा र रामपुरका धेरै खेतमा रोपाइँ भएको कृषि विकासले जनाएको छ ।

वरिष्ठ कृषि विकास अधिकृत किशोरमान श्रेष्ठका अनुसार तानसेन नगरपालिकामा ७५, रामपुर नगरपालिकाभित्र ७५, निस्दीमा ८०, पूर्वखोलामा ८०, माथागढीमा ९०, बगनासकालीमा ८०, रम्भामा ८०, रिब्दीकोटमा ८०, तिनाउमा ७५, रैनादेवीछहरा गाउँपालिकामा ७० प्रतिशत खेत रोपिएको छ । ‘आकाशबाट पानी खासै परेको छैन,’ उनले भने, ‘तर, एक सातामै धेरै खेत रोपेर सकिएको छ ।’ अघिल्लो साता ४४ प्रतिशत मात्र रोपाइँ भएको थियो । जिल्लाका निस्दी, तिनाउ, अरुणलगायत खोलामा भने अझै पानीको सतह बढेको छैन । कुलो नलाग्ने टारी खेत, मकै र धान लगाएको केही खेतमा मात्र धान रोप्न बाँकी रहेको कार्यालयले जनाएको छ ।

पाल्पामा ८ हजार ६ सय २० हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुन्छ । ७ सय हेक्टरमा हिउँदे धान लाग्छ । बाह्रै महिना सिँचाइ हुने ३ हजार ९ सय ६४ हेक्टर जमिन छ । ४ हजार ७ सय ८६ हेक्टरमा आकाशे पानीको भर पर्नुपर्छ । जिल्लाको ३६ हजार हेक्टर जमिनमा धान खेती हुन्छ ।कपिलवस्तुमा ५० प्रतिशत खेतमा रोपाइँ सकिएको छ । ८२ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये यस वर्ष ७१ हजार ५ सयमा धान लगाइने अनुमान छ । त्यसको आधा क्षेत्रफलमा रोपाइँ भइसकेको कृषि कार्यालयले जनाएको छ । कम वर्षा भएकाले गत वर्षभन्दा कम रोपाइँ भएको कार्यालयको अनुमान छ ।

‘उत्तरी र पूर्वी क्षेत्रमा ७० प्रतिशतभन्दा बढी रोपाइँ भयो,’ जिल्ला कृषिका प्रमुख राकेश ओझाले भने, ‘दक्षिण र पश्चिममा ३५ प्रतिशतमा मात्र भएको छ ।’ जिल्लाभरिको अवस्था हेर्दा ५० प्रतिशत भएको उनले बताए । मनसुनको अवस्था हेर्दा अहिलेसम्मलाई हेर्दा राम्रो नभएको कपिलवस्तु नगरपालिका ५ मलपरवाका किसान खैरुल्ला मुसलमानले बताए । कपिलवस्तुमा गत वर्ष ७० हजार ५ सय ६० हेक्टरमा धान खेती गरिएकामा १ लाख ५८ हजार २ सय ३० मेट्रिक टन धान उत्पादन भएको थियो । बर्दियामा ८० प्रतिशत रोपाइँ सकिएको छ । पछिल्लोमा ३ वर्षमा बाढीले खेत बगाएपछि र बालुवा भरेपछि २ हजार हेक्टर धान खेत घटेको कृषि विकास कार्यालयले जनाएको छ । बचेको ८० प्रतिशतमा रोपाइँ भएको कार्यालयले जनाएको छ ।

३ वर्षअघिसम्म बर्दियामा ५२ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको थियो । अहिले ५० हजार हेक्टरमा मात्र धान रोप्ने गरिएको छ । त्यसमध्ये ३५ हजार हेक्टरमा मात्र सिँचाइ सुविधा छ । सिँचाइ सुविधा नपुगेको १५ हजार हेक्टरमा कम पानीमै फल्ने सुक्खा १ र २ नामको धान रोप्ने गरिएको छ । यो धान आकाशे पानीकै भर पर्नुपर्ने खेतकै लागि उपयुक्त बीउ हो । लगातार वर्षा भए साउन पहिलो साताभित्र सबै खेत रोपिने कृषि विकासका सूचना अधिकारी कमल तामाङले बताए । ५० हजार हेक्टरमा धान उत्पादन हुने जिल्लामा यस वर्ष बीउ र मलको समस्या नभएकाले किसान उत्साहित छन् ।

पहाडी जिल्ला प्यूठानमा ९० प्रतिशत रोपाइँ सकिएको छ । जिल्लाको ६ हजार ५ सय २५ हेक्टरमा धान खेती हुने गरेको छ । त्यसमध्ये सिँचाइ सुविधा पुगेको ९० प्रतिशत खेतमा रोपाइँ सकिएको वरिष्ठ कृषि विकास अधिकृत योगप्रसाद खरेलले बताए । त्यस्तै अर्को पहाडी जिल्ला गुल्मीमा ५५ प्रतिशत रोपाइँ भएको छ । कुला र आकाशे पानीमा भर पर्नुपर्ने भएकाले कतिपय टारी खेतमा रोपाइँ हुन नसकेको वरिष्ठ कृषि विकास अधिकृत चक्रपाणि पन्थीले बताए । गुल्मीमा ९ हजार ३ सय हेक्टरमा धान खेती हुन्छ ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव यामनारायण देवकोटाका अनुसार यहाँका सबै जिल्लामा झन्डै ६५ प्रतिशत खेत रोपिसकिएको बताए । ‘विवरण संकलन गर्दै छौं,’ उनले भने, ‘यो प्रारिम्भक तथ्यांक हो ।’ समयमै वर्षा भएकाले यस वर्ष धान उत्पादन बढ्ने मन्त्रालयको अनुमान छ ।


(रूपन्देहीबाट घनश्याम गौतम, दाङबाट दुर्गालाल केसी, पाल्पाबाट माधव अर्याल, कपिलवस्तुबाट मनोज पौडेल, बर्दियाबाट कमल पन्थी र प्यूठानबाट गिरुप्रसाद भण्डारी)

प्रकाशित : श्रावण १, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?