कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

हराउँदै डफला बाजा

कपिलवस्तु — जन्म र मृत्यु संस्कारमा बजाइने तराईको लोकप्रिय डफला बाजा हराउँदै गएको छ । मंगलसूचक मानिने डफला मधेसमा सुनिन छाडेपछि शुभकाम र संस्कार खल्लो हुन थालेको बूढापाका बताउँछन् । समय परिवर्तनसँगै आधुनिक बाजाले ठाउँ लिएपछि यो विस्थापित भएको हो ।

हराउँदै डफला बाजा

एक/डेढ दशकअघिसम्म जिल्लाका हरेक गाउँमा एक/दुई जना यस्तो बाजा बजाउने पेसेवर नै थिए । ६ नगरपालिका र ४ गाउँपालिका रहेको जिल्लामा अहिले मुस्किलले ५/६ जना मात्र डफला बजाउने भेटिने लोकअवधी संस्कृतिविज्ञ विक्रममणि त्रिपाठीले बताए ।

मधेसमै पनि अवधको संस्कृति बोकेको डफलाबारे नयाँ पुस्ता अनभिज्ञ छन् । ‘डफला बज्नासाथ गाउँघरमा शुभकाम हुन थालेको अनुभूति हुन्थ्यो,’ अवधी साहित्यकार राघवेन्द्र श्रीवास्तवले भने, ‘अचेल नयाँ रक, पप र भल्गर गीतसँगै आधुनिक बाजा बजाउन थाल्दा संस्कृति लोप भइरहेको छ ।’

१० वर्षअघि डफला नभई घरको शोभा बढदैन भनेर कवनपा ४ की सुशीला श्रीवास्तवले छोराको विवाहमा श्रीमान्लाई जसरी पनि व्यवस्था गर्न भनिन् । श्रीमान् शत्रुघनलालले पनि २ दिन गाउँ चहारेर डफला बजाउने मान्छे खोजे र बजाएरै छाडे । अनि, धुमधामले छोराको विवाहमा आमा नाचेर खुसी साटिन् । घरमा छुट्टै रौनक छायो ।

खुसीको सूचक डफला विजय सालको काठको फ्रेममा गाई–भैंसीको छाला बेरेर बनाइन्छ । कुममा भुन्ड्याएर दुवै हातले बजाइने यो बाजा डेढ तालदेखि संगीतमा भएका सबै तालमा प्रयोग गर्न सकिने भएकाले धेरै विशेषता रहेको अवधी संस्कृतिका अनुसन्धानकर्ता पशुपतिमणि त्रिपाठीले बताए । ‘गाउँमा मृत्यु संस्कार गर्न अनिवार्य रूपमा डफला बजाउनु पथ्र्यो,’ उनले भने, ‘अचेल देखिन छाडेपछि आधुनिक बाजा बजाउन थालिएको हो ।’

कहरवा, हुडा, फरवाही, कोहरवा र चमरउवा तालमा बाजा बजाउँदा गाउँमा अझ पनि बूढापाका रोमाञ्चित हुन्छन् । अवधका धेरै जातजातिमा यो बाजा बजाइन्छ । विशेषगरी दलित जाति चमार र धरिकारले बजाउँछन् । ‘डफला बजाउन युवामा आकर्षण कम छ,’ जिविस पूर्वसभापति रमेश शर्माले भने, ‘बूढापाकाले बजाउन छोडदा शुभकाम खल्लो लाग्न थालेको छ ।’

प्रकाशित : श्रावण ३, २०७५ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?