२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

पानीमा बगे सीमास्तम्भ

मर्मतसम्भार अभावमा धेरै जीर्ण

बुटवल — नेपाल र भारत छुट्याउने मुख्य आधार सीमास्तम्भ केही वर्षदेखि धमाधम पानीमा बग्न थालेका छन् । हराउनेको संख्या पनि उत्तिकै छ । बचेका पनि मर्मत अभावमा जीर्ण बन्दै गएका छन् । दुवै देशका सरकार सीमा संरक्षणजस्तो संवेदनशील विषयमा चासो नै दिँदैनन् ।

पानीमा बगे सीमास्तम्भ

तसर्थ, नेपाल र भारत सीमा विवाद वर्षौंदेखि समस्या बनेर रहेको छ । बाँके, बर्दिया र नवलपरासी पश्चिमका ५ सय ६८ सीमास्तम्भमध्ये १ सय ४७ बाढीले बगाएको छ । बर्दियाबाट कमल पन्थी, बाँकेबाट ठाकुरसिंह थारु र नवलपरासी पश्चिमबाट नवीन पौडेलको रिपोर्ट :

बर्दिया– बर्सेनि आउने बाढी र कटानले बर्दियामा नेपाल भारत छुट्याउने सीमास्तम्भ बगिरहेका छन् । ४ वर्षमा ३२ बगिसके, ३ उच्च जोखिममा छन् । सीमास्तम्भ बगेपछि नेपाली भूमि अतिक्रमणको चपेटामा परेको छ । बबई नदीको बाढी र कटानले एक मुख्य सीमास्तम्भ (६६९/५७) र दुई सहायक (६७२/२ ५८ र ६७२–३ ५९) उच्च जोखिममा रहेको सशस्त्र सीमा सुरक्षा बलका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए । ०७१ र ०७४ मा आएको बाढीले ठूला, साना र मझौला गरी ३२ स्तम्भ बगाएको हो । उच्च जोखिममा रहेका ३ सदरमुकाम गुलरियामा पर्छन् । ‘ती सीमास्तम्भ पनि ठूलो बाढी आउनासाथ बग्ने निश्चित छ,’ उनले भने, ‘दशगजामा नदी नियन्त्रणका लागि तटबन्ध बनाउन नमिल्ने भएकाले हरेक वर्षको बाढीले बगाउने गरेका हुन् ।’

बर्दियामा नेपाल–भारत सीमा छुट्याउने मुख्य ४२, सहायक ६८ र साना १३५ गरी जम्मा २ सय ४५ सीमास्तम्भ छन् । यसमध्ये मुख्य ७ सहित ९३ सीमास्तम्भ यसअघि नै हराइसकेका छन् । पछिल्लो ४ वर्षमा ३२ बगे । सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नापी, राष्ट्रिय अनुसन्धानलगायत टोलीले भारतीय घना जंगलसँगै जोडिएको सीमाका २ सय ४५ को अनुगमन गरेको थियो । त्यस क्रममा ४२ मुख्य स्तम्भमध्ये ३२ मर्मत गर्नुपर्ने र ७ पुनर्निर्माण गर्नुपर्ने कोइरालाले बताए । सहायक ६८ मध्ये ९ स्तभ हराएका छन् । १२ पुनर्निर्माण गर्नुपर्ने अवस्थामा छन् ।

प्रहरीका अनुसार साना १ सय ३५ मध्ये बाढीले २५ वटा बगाएको हो । ३१ पुनर्निर्माण र १ मर्मत गर्नुपर्ने छन् । सीमास्तम्भको सुरक्षा र मर्मत नहु‘दा भारतीय पक्षबाट अतिक्रमण बढ्दै गएको गुलरिया नगरपालिका १० का लक्ष्मण रायले बताए । पूर्व मानखोलादेखि पश्चिम राजापुरसम्म कर्णाली नदीको ८३ दशमलव ८ किमि लामो क्षेत्रमा रहेका सीमास्तम्भ नै हराएपछि दशगजा क्षेत्र देखिनै छाडेको छ । कटानसँगै नदीले ओगटेको भूभागमा भारतीय सुरक्षाकर्मीले नेपालीलाई जोतभोगमा रोक लगाउँदै आएको गुलरिया ८, थपुवाका तुलसी थारूले बताए ।

सीमास्तम्भ ६१ मा भारतीय नागरिकले दशगजा मिचेर पक्की सडक र घर बनाएका छन् । गुलरिया र राजापुर क्षेत्रमा सीमा अतिक्रमणको विवाद ४० वर्षदेखि हुँदै आएको छ । एक दशकअघि सीमा सुरक्षा सशस्त्र प्रहरी बल स्थापना भए पनि सीमास्तम्भको सुरक्षा हुन नसकेको स्थानीय बताउँछन् । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सीमास्तम्भ हराएको, टुटफुट भएको र बाढीले बगाएको केन्द्रमा जानकारी गराइसकेको बताए ।

नेपालगन्ज– नेपाल–भारत सीमाका मुख्य र सहायक गरी एक दर्जन सीमास्तम्भ वर्षौंदेखि हराएका छन् । हराएका स्तम्भ खोजीका लागि चर्चा हुने गरे पनि सरकार मौन छ । जिल्लाबाट गरिएको पहलले सम्भव नहुने भएकाले केन्द्रीय सरकारले पहल थाल्नुपर्ने विज्ञको सुझाव छ । सीमा सुरक्षाका लागि बाँकेको महेन्द्रनगरमा रहेको सशस्त्र प्रहरी गणले सीमास्तम्भ बाढीले बगाउने गरेको जनाएको छ । बाँकेको सीमामा मुख्य र सहायक गरी ३ सय ७ स्तम्भ छन् । ३२ मुख्य सीमास्तम्भमध्ये पूर्व कटकुइँया र पश्चिम मानखोलासम्मको सीमाका मुख्य जंगे पिल्लरसहित ५ राप्ती नदी र मानखोलाले बगाएको हो ।

त्यस्तै, २ सय ७५ सहायक स्तम्भमध्ये ५ बाढीमा बगेको र ३ हराएका हुन् । १९ भन्दा बढी जीर्ण मर्मत हुन सकेका छैनन् । चार वर्षअघि आएको राप्ती नदीको बाढीले नरैनापुर गाउँपालिका भगवानपुरस्थित ६४३ (१४) नम्बरको सीमास्तम्भ बगाएको थियो । सरकारी उदासीनताकै बीच स्थानीयले खोज्ने प्रयास गरे पनि सीमास्तम्भको अवस्था खुलेन । स्थानीय प्रशासनले भने ती स्तम्भ र ५ सहायक बाढीले बगाएको जनाएको छ । ६३६/४, ६४६/१९ र ६५५/३६ नम्बरका मुख्य सीमास्तम्भ र १९ वटा सहायक सीमास्तम्भ मर्मत गर्नुपर्ने अवस्थामा छन् । त्यस्तै १ मुख्य र ३ सहायक स्तम्भको पुनर्निर्माण र १७ स्तम्भको मर्मत नै गर्नुपर्ने अवस्थाका छन् ।

सीमा सुरक्षा कार्यालय बाँकेका सशस्त्र प्रहरी उपरीक्षक फणीन्द्र पौडेलले बाढीका बेला खोला र नदीले सीमास्तम्भ बगाउने गरेको बताए । ‘सीमास्तम्भ नदी र खोलामा आउने बाढीले बगाउने क्रम बढ्दै गएको छ,’ उनले भने, ‘तर, स्तम्भ बगे पनि अतिक्रमणको समस्या भने यहाँ छैन ।’

परासी– पश्चिम नवलपरासीको सुस्ता क्षेत्रको २४ किलोमिटरमा नेपाल–भारत सीमा छुट्याउने कुनै स्तम्भ छैनन् । सीमास्तम्भ नभएपछि दुवै देशले त्यहाँ रहेको एउटा सिमलको रूखलाई आधार मानेर सुरक्षा दिने गरेको छ । र, त्यसैलाई सीमास्तम्भ मानिआएका छन् ।नवलपरासी पश्चिममा सनहीदेखि कुडियासम्म १६ वटा स्तम्भ छन् । सुस्ता क्षेत्रमा सीमास्तम्भ निर्माणका लागि वर्षौंदेखि विवाद छ ।

विवाद समाधान हुन नसक्दा सीमास्तम्भसमेत निर्माण हुन नसकेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा नवलपरासीका एसएसपी वीरेन्द्रराज श्रेष्ठले बताए । दशगजा वरपरको सुरक्षामा नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्त गस्ती गर्छन् । सीमास्तम्भ भएको क्षेत्रमा विवाद नभए पनि सुस्तामा नहुँदा समय समयमा सीमावर्तीबीच विवाद हुने गरेको उनले बताए ।

जीर्ण रहेका सीमास्तम्भ दुई वर्षअघि मर्मत गरिएको थियो । नेपालले विजोर र भारतले जोर स्तम्भ मर्मत गरे पनि निर्माणमा दुवै पक्षबाट चासो नदिएको स्थानीयको गुनासो छ । सीमास्तम्भ मर्मतपछि दुवै पक्षबाट पश्चिम नवलपरासीको दशगजा क्षेत्रमा संयुक्त गस्ती सुरु भएको छ । त्यसले स्थानीय पनि खुसी छन् । गस्तीसँगै सीमास्तम्भ नभएको स्थानमा दुवै देशका सरकारबाट सीमास्तम्भ राख्न पहल गर्नुपर्ने हरपुरका मोहन हरिजनले बताए ।

प्रकाशित : श्रावण ३, २०७५ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?