२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

तिनाउको अभियान, ‘एक वडा एक उत्पादन’

पाल्पा — तिनाउ गाउँपालिकाले ‘एक वडा एक उत्पादन’ कार्यक्रमलाई अभियानका रूपमा अघि बढाउने भएको छ । यसमा गाउँपालिकाको सहयोग, समन्वय र वडाको साथ रहनेछ । गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै बुधबार यस्तो जानकारी दिएका हुन् ।

तिनाउको अभियान, ‘एक वडा एक उत्पादन’

गाउँपालिकामा ६ वडा छन् । उनका अनुसार सबै वडालाई विभिन्न उत्पादनले चिनाउने गरी अभियान सुरु हुनेछ ।

अध्यक्ष घर्तीका अनुसार तिनाउ १ कचल क्षेत्रलाई अम्लिसो र केराका साथै अन्न भण्डारका रूपमा विकास गरिनेछ । ‘स्थानीयले पहिलेदेखि नै अम्लिसो उत्पादन गर्दै आएका थिए,’ उनले भने, ‘अझ यसको विस्तार गर्ने र बजारीकरणमा सहयोग गरिनेछ ।’ वडाध्यक्ष रोमबहादुर लम्तरीका अनुसार कचलको ओखलढुंगा गाउँबाट अहिले पनि वार्षिक एक करोडभन्दा बढीको अम्लिसो निर्यात हुन्छ ।

तिनाउको २ नम्बर वडा दोभान क्षेत्र तरकारी र फलफूलका लागि उपयुक्त रहेकाले सोहीअनुसार कार्यक्रम अगाडि बढाउने वडाध्यक्ष राजेश श्रेष्ठले बताए । उनका अनुसार दोभानको बोटेगाउँ, गणेशटोल, झ्याङ्ला, सुकेताल, मार्रावास, घोडेवासलगायतमा तरकारी खेती हुन्छ । ‘तरकारीको चिनारीका रूपमा गाउँपालिका र वडा मिलेर कार्यक्रम गरिनेछ,’ उनले भने, ‘यसका लागि योजना अघि बढाइसकिएको छ ।’

वडा ३ लाई आलु र तेजपातले चिनाउने अभियानमा वडाध्यक्ष प्रेम पाण्डेयले योजना अघि बढाएका छन् । गाउँसभामा छलफल भएअनुसार झुम्सा, लग्दुवालाई आलुले चिनाउने अभियान छ । बिरुवा, ज्यामिरे, हात्तीकोट क्षेत्रमा दालचिनी (तेजपात) लगाउन सकिन्छ । ‘आर्थिक रूपमा सम्पन्न गराउन तेजपातले ठूलो सहयोग पुग्ने देखिएको छ,’ उनले भने, ‘तेजपात र आलुको बजारीकरणमा सहयोग गर्दै किसानलाई आत्मनिर्भर बनाउने योजना अघि सारेका छौं ।’ ४ नम्बरको सत्यवती, कोलडाँडा क्षेत्र पनि तेजपातकै उत्पादन हुने क्षेत्र हो ।

५ नं. वडा मरामकोट र बिस्कुनडाँडा क्षेत्रमा स्थानीय उत्पादनलाई बढी जोड दिने वडाध्यक्ष दलबहादुर दर्लामीले बताए । उनका अनुसार गाउँपालिकाको सहयोगमा वडालाई चिनाउने गरी स्थानीय उत्पादनको बजारीकरण र संकलन केन्द्रका लागि सहयोग गरिने बताए ।६ नं. वडालाई कागती उत्पादन र दूधको क्षेत्रका रूपमा विकास गर्ने योजना छ । डुम्रे क्षेत्रमा जिल्लाकै सबैभन्दा बढी दूध उत्पादन हुन्छ । डाँडा भेगलाई कागती उत्पादनको क्षेत्रका रूपमा विकास गर्न सकिने वडाध्यक्ष तोमबहादुर पुनले बताए ।

गाउँपालिकाले झुम्सा क्षेत्रलाई दूधको पकेट क्षेत्रका रूपमा विकास गर्ने योजना अघि सारेको छ । तर चालु वर्षमा भने जिल्लामै सबैभन्दा बढी यो गाउँपालिका कृषि क्षेत्रमै आलोचित भएको थियो । कृषि शाखा कमजोर भएर गैरसरकारी संस्थामार्फत कार्यक्रम गर्नु परेको थियो । गाउँपालिका उपाध्यक्ष दमयन्ती थापाका अनुसार एक गाउँ एक उत्पादनलाई जोड दिने गरी आगामी वर्षको कार्यक्रम बनाइएको छ ।

प्रकाशित : श्रावण ३, २०७५ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?