अञ्चल अस्पताल अब प्रादेशिक

लुम्बिनीमा बाल तथा प्रसूति, भेरीमा सिकलसेल एनिमिया र दाङमा ट्रमा सेन्टर बनाउने योजना
अमृता अनमोल

बुटवल — प्रदेशअन्तर्गत साबिकका अञ्चल अस्पताललाई प्रादेशिक रूपमा विकास गरिने भएको छ । अस्पताल सञ्चालन तथा व्यवस्थापनको जिम्मा प्रदेश सरकारलाई आएपछि सामाजिक विकास मन्त्रालयले स्तरोन्नतिको योजना बनाएको हो । प्रदेशमा दाङको राप्ती, बाँकेको भेरी र रूपन्देहीको लुम्बिनी गरी ३ अञ्चल अस्पताल छन् ।

अञ्चल अस्पताल अब प्रादेशिक

प्रादेशिक अस्पतालबारे मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले छलफल चलाएको छ । टोलीले तीनवटैमा पुगेर सरोकारवालासँग प्रारम्भिक चरणको छलफल गरेको छ । ‘साबिकका तीनै अस्पताललाई छुट्टाछुट्टै प्रादेशिक अस्पतालका रूपमा विकास गर्ने योजना छ,’ सामाजिक विकास मन्त्री सुदर्शन बरालले भने, ‘बिरामीको आवश्यकताअनुसार तीन अञ्चल अस्पतालमा सेवालाई विशिष्टीकरण गरेर छुट्टाछुट्टै विशेषज्ञ अस्पताल बनाउनेछौं ।’ मन्त्री बरालका अनुसार थप सेवा सुविधा वृद्धि गरी साबिक लुम्बिनी अञ्चल अस्पताल बुटवललाई बाल तथा प्रसूति रोगको विशेषज्ञ अस्पताल बनाइनेछ । भेरीलाई सिकलसेल एनिमियाको विशेषज्ञ अस्पतालका रूपमा स्तरोन्नति गरिनेछ । दाङको राप्ती अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गर्ने लक्ष्य छ ।

मन्त्रालयले अहिले अञ्चल अस्पतालको सेवा, जनशक्ति, पूर्वाधार, उपकरणको अवस्था अध्ययन गरेको छ । बिरामीको चाप, भौगोलिक सहजता, सेवा उपलब्ध गराएको जनसंख्याका विषयमा समेत अध्ययन भएको छ । यी सबै अवस्थाबारे अध्ययन र विश्लेषण गरेर सम्भवत: यसै साता प्रतिवेदन बुझाउने मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख उमाशंकर चौधरीले बताए । अन्तिम प्रतिवेदनपछि एउटा वा तीनवटै अस्पतालमा विषयगत रूपमा फरक–फरक विधाका प्रादेशिक अस्पताल बन्ने भन्ने टुंगो लाग्नेछ ।

तीनवटै अस्पतालको स्थितिबारे प्रतिवेदन मन्त्रीस्तरीय बैठकमा पेस गरिनेछ । प्रारम्भिक अध्ययनअनुसार लुम्बिनी अञ्चल अस्पताल सबैभन्दा बढी विशेषज्ञ सेवा भएको र धेरै बिरामी आउने अस्पताल हो । यसमा प्रदेशका १२ वटै जिल्लाबाट दैनिक करिब १ हजार बिरामी उपचारका लागि आउने गरेका छन् ।

अस्पतालमा २ सय ५० बेड छन् । अब बेड संख्या४ सय पुर्‍याउने गरी कामलाई तीव्रता दिइएको भए पनि स्थान अभावले बिरामी समस्यामा छन् । कतिपय विशेषज्ञ सेवासमेत सुरु गर्न सकिएको छैन । वरिष्ठ सूचना अधिकृत लक्ष्मीराज रेग्मीका अनुसार अस्पतालबाट वार्षिक ३ लाखले सेवा लिने गरेका छन् । ९७ डाक्टरको दरबन्दी रहेकामा ८० जना कार्यरत छन् । डाक्टर, नर्ससहित ५ सय ४ कर्मचारी यहाँ छन् ।

नेपालगन्जस्थित भेरी अञ्चल अस्पताल साबिक मध्य र सुदूरपश्चिमाञ्चल क्षेत्रको रेफरल स्थान हो । सिकलसेल एनिमिया रोगको अध्ययन केन्द्रका रूपमा विकास भएको यस अस्पतालमा आईसीयू र एनआईसीयूको समेत व्यवस्था छ । अस्पतालले अहिले पनि विभिन्न विशेषज्ञ सेवा दिइरहेको छ । हालै मात्र मुटुरोगको उपचारका लागि पेसमेकर राख्ने व्यवस्थासमेत मिलाएको छ । यसले धेरै बिरामी यस अस्पतालतर्फ आकर्षित छन् । दरबन्दीअनुसार डाक्टर नहुँदा भने समस्या भोग्नुपरेको छ ।

राप्ती अञ्चल अस्पताल भने समस्याग्रस्त छ । भौतिक पूर्वाधार तथा दक्ष चिकित्सक अभावमा एक वर्षअघि अस्पतालमा ल्याइएका आईसीयू र एनआईसीयूका मेसिन त्यत्तिकै थन्किएका छन् । केही महिनादेखि डायलासिस सेवा सञ्चालनमा आए पनि प्रभावकारी हुन नसकेको सेवाग्राहीले बताए । चिकित्सकका लागि ओपीडी कक्षको अभाव छ ।

आकस्मिकलगायत सेवा पनि निकै कोचिएर सञ्चालन भएका छन् । अस्पतालमा १३ विशेषज्ञ डाक्टरको दरबन्दी रहेकामा ५ जना मात्र कार्यरत छन् । एकै ठाउँमा सबै सेवा दिनुभन्दा फरक–फरक ठाउँमा विशेषज्ञ सेवा दिएर प्रदेशलाई नै स्वास्थ्य क्षेत्रको हब बनाउन यस्तो योजना अघि बढाएको मन्त्री बरालले बताए । ‘सरसर्ती हेर्दा तीनवटै अस्पतालमा भौतिक पूर्वाधार र जनशक्ति थप्नु पर्नेछ । विशेषज्ञ सेवासमेत बढाउनु पर्नेछ,’ उनले भने, ‘ती सबैको व्यवस्थापन गरेर प्रादेशिक स्तरका अस्पताल बनाइने योजना अघि सारिएको हो ।’

प्रकाशित : श्रावण ७, २०७५ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?