रोजगारी खोज्दै एकै दिन ७ सय जना भारत

ठाकुरसिंह थारू

नेपालगन्ज — खेतीको काम सकिएपछि एकै दिन कर्णाली प्रदेशबाट झरेका ७ सयभन्दा बढी युवा काम खोज्न नेपालगन्ज नाका हुँदै भारत गएका छन् । भारत जानेको संख्या एकाएक बढेपछि नेपालगन्जबाट सञ्चालन हुने सवारीसमेत अभाव हुन थालेको छ ।

रोजगारी खोज्दै एकै दिन ७ सय जना भारत

सार्वजनिक सवारी नपाएर सयभन्दा बढी नेपाली सीमावर्ती भारतीय रुपैडिहा बजारबाट नेपालगन्ज फर्किएका छन् । आइतबार र सोमबार त्यत्तिकै संख्यामा काम खोज्न भारत गएका हुन् । अधिकांश नेपालीले भारतको सिमला र कालापहाडमा कामका लागि जान थालेको बताए ।

उनीहरू यसरी भारत गएको यो पहिलो भने होइन । हरेक वर्ष धान रोपाइँपछि हजारौं नेपाली युवा कामको खोजीमा भारत पस्ने र चाडपर्वका बेला फर्किने गर्छन् ।

कर्णाली प्रदेशको जाजरकोट, रुकुम, जुम्लालगायतका युवा गाउँमा रोजगारी नभएको भन्दै भारत पसेका हुन् । ‘रोपाइँ सकियो अब घरमा बसेर के गर्नू ∕ गाउँमा कुनै काम पाइँदैन,’ सोमबार नेपालगन्ज नाकामा भेटिएका रुकुम, मुसीकोट नगरपालिका २ का दिलबहादुर खड्काले भने, ‘भारतको सिमलामा मजदुरीको जति पनि काम पाइन्छ । पैसा कमाएर दसैंमा फर्किने सोच छ ।’ उनीसँग गाउँकै ८ युवा पनि सँगै थिए । उनीहरूले गाउँमा रोजगारी सिर्जना नभएसम्म भारत जानुको विकल्प नभएको बताए ।

स्थानीय, संघ र प्रदेश निर्वाचनका बेला राजनीतिक दलले ‘एक घर एक रोजगार’ नारा खुबै उचाले । तर, स्थानीय सरकार बनेको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि रोजगारीको वातावरणसम्म बन्न नसकेको उनीहरूको गुनासो छ । राजनीतिक दलले मतदातामाझ गाउँ विकास र युवा स्वरोजगारको चुनावी आश्वासन बाँडेका थिए । ‘गाउँमा सानोतिनो रोजगारी पाए भारत जानु पर्दैनथ्यो । व्यापार गर्नका लागि पैसा छैन । खेतीले खान मात्रै पुग्छ,’ भारत जाँदै गरेको अवस्थामा जमुनाहामा भेटिएका जुम्ला तिला गाउँपालिका ५ का गोविन्द शाहीले भने, ‘भारतमा मजदुरी गर्न नजाने हो भने परिवार कसरी पाल्नू ∕ छोराछोरी कसरी पढाउनू ?’ उनीसँगै ७ युवा मजदुरी गर्ने भन्दै भारत पसेका छन् । उनीहरूले पनि चाडपर्वका बेला मात्रै घर फर्किने बताए ।

जाजरकोट भेरी नगरपालिका १ रिम्नाका बुद्धि नेपाली पनि ७ जनाको समूहमा नेपालगन्ज हुँदै भारत गएका छन् । उनले बारीमा लगाएको मकै हावाहुरीले ढालेपछि भारत पस्न थालेको बताए । ‘तयार हुनै थालेको मकै ढलेर नोक्सानी भयो । परिवार पाल्ने विकल्प छैन । त्यसैले भारतको सिमलामा मजदुरी गर्न जान थालेको हो,’ उनले भने, ‘भारत जाने रहर कसको हुन्छ र तर परिवार पाल्नका लागि भारत जानुपर्ने बाध्यता छ ।’

नेपाल–भारत सीमास्थित इलाका प्रहरी जमुनाहाका प्रमुख प्रहरी नायब निरीक्षक सुनील शाहले भारत जाने नेपालीको संख्या एकाएक बढेको बताए । उनले भारत जाने नेपालीको सुरक्षाका लागि सीमावर्ती भारतीय सुरक्षा अधिकारीसँग समन्वय भइरहेको दाबी गरे । रोजगारी नभएको भन्दै कर्णाली प्रदेशका कालीकोट, जुम्ला, हुम्ला, डोल्पा, सल्यान, सुर्खेत, दैलेख, रुकुम पश्चिमका युवा बढीजसो भारत जाने गरेका छन् । त्यस्तै, प्रदेश ५ का बर्दिया, बाँकेलगायतका युवा पनि कामको खोजीमा भारत छिर्छन् ।

भारत जानेमध्ये अधिकांश आर्थिक अवस्था कमजोर रहेको बताउँछन् । भारत जाने युवाले भारतको कालापहाड, चण्डीगढ, सिमला, गुजरात, दिल्ली, पन्जाबलगायत सहरमा काम गर्ने बताए । बढीजसो मध्यपश्चिम क्षेत्रका सर्वसाधारण कालापहाड, चण्डीगढ, सिमला जाने गर्छन् । नेपालीहरूले त्यहाँ सडक निर्माण र फलफूल खेतीका लागि मजदुरी गर्छन् ।

प्रकाशित : श्रावण ८, २०७५ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?