२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

रैनादेवी छहरा टुकीरहित

पाल्पा — अर्घाखाँचीसँगै जोडिएको रैनादेवी छहरा गाउँपालिकालाई टुकीरहित बनाउने अभियान थालिएको छ । अघिल्लो आवमा सडकपछि विद्युतीकरण प्राथमिकतामा थियो । यस वर्ष पनि सोही शीर्षकमा गाउँपालिकाले ९० लाख बजेट विनियोजन गरेको छ ।

रैनादेवी छहरा टुकीरहित

अघिल्लो वर्ष पनि त्यत्तिकै रकम खर्च भएको थियो । यहाँका जुठापौवा, सत्यवती, बल्ढेङगढीका केही घरमा विद्युतीकरण पूरा भएको छैन । चार वर्षदेखि यहाँका गाउँमा विद्युतीकरण अभियान थालिएको हो ।


गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीका अनुसार पूर्वसांसद हरिप्रसाद नेपालले सुरु गरेको ‘टुकीरहित घर’ अभियानलाई पूरा गर्ने तयारीमा पुगिएको छ । ‘चार वर्षदेखि वार्षिक ८० लाख रुपैयाँ विद्युतीकरणमा खर्च भएको छ,’ उनले भने, ‘अहिलेसम्म दुर्गमका जनता टुकीको भरमा थिए ।’ आगामी वर्ष टुकीरहित गाउँपालिका बन्ने उनले बताए । विद्युत् विस्तार, पोल खरिदका साथै वडाका योजना विद्युत्मा केन्द्रित छन् ।


गाउँपालिकालाई टुकीरहित र उज्यालो रैनादेवी छहरा बनाउन लाइन विस्तार गर्न बाँकी बस्तीमा पुर्‍याउने नीतिअनुसार नै काम गरिएको उनले बताए । ‘आगामी वर्ष उज्यालो रैनादवी छहरा घोषणा गरिनेछ,’ उनले भने, ‘काठका जीर्ण पोल हटाएर स्टिल पोल स्थानान्तरण गरिनेछ ।’ सामुदायिक विद्युत्लाई व्यवस्थित रूपमा अगाडि बढाउने नीति लिएको उनले बताए । गाउँपालिका उपाध्यक्ष चेतकुमारी थापाका अनुसार सदरमुकामबाट पछि पारिएका गाउँमा अझैसम्म विद्युतीकरण नहुँदा टुकीको भरमा बस्न बाध्य थिए ।


‘त्यसैले हामीले विद्युतीकरणमा जोड दिएका हौं,’ उनले भनिन्, ‘दुर्गमको बासिन्दा भनेर सधंै पछि पारिएको थियो । अब सबैको घरमा विद्युतीकरण हुनुपर्छ भन्ने मान्यताले अघि बढेका छौं ।’


जुठापौवा र सत्यवतीमा लघु जलविद्युत्ले केही घरमा उज्यालो भए पनि अधिकांश टुकीकै भरमा थिए । प्राधिकरणले पनि पुराना काठका पोल हटाएर स्टिलका राख्ने कार्यमा साथ दिएको उपाध्यक्ष थापाले बताइन् । ‘अझै पनि बालबालिकाले टुकीमा बसेर पढ्नुपर्छ,’ उनले भनिन्, ‘विगतमा यस क्षेत्रलाई महत्त्व नदिँदा अझैसम्म सास्ती खेप्नु परेको हो ।’


गाउँपालिकामा चालु वर्षको बजेट, नीति तथा कार्यक्रमबारे जानकारी गराउँदै गाउँपालिका कार्यालय भवन निर्माणका लागि जग्गा व्यवस्था गरिएको प्रवक्ता विष्णु पोखरेलले बताए । ‘तीन लिफ्टिङ खानेपानीका योजना कार्यान्वयनका चरणमा छन्,’ उनले भने, ‘न्यून आय भएका १ सय ६० घर फुसका छाना हटाएर जस्तापाता लगाउन अनुदान दिइएको छ ।’

प्रकाशित : श्रावण ९, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?