१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

खर्च विवरण बुझाइएन

कान्तिपुर संवाददाता

नेपालगन्ज — बाँकेका अधिकांश स्थानीय तहले वर्षभरि खर्च गरेको हरहिसाब कोष तथा लेखा नियन्यत्रण कार्यालयलाई बुझाउन इन्कार गरेका छन् । उनीहरूले हालै सकिएको आर्थिक वर्षमा खर्च गरेको पुँजीगत (विकास बजेट) को हरहिसाब बुझाउन इन्कार गरेका हुन् ।

खर्च विवरण बुझाइएन

हरहिसाब नबुझाएपछि कोलेनिकाले ताकेता गरेको छ । उसले साउन ७ गतेभित्रै बुझाउन आग्रह गरेको थियो । तर खजुरा र बैजनाथ गाउँपालिकाबाहेक स्थानीय सरकारले खर्च विवरण दिन मानेका छैनन् ।

नेपालगन्जस्थित कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख कोष नियन्त्रक ठाकुरप्रसाद पौडेलले स्थानीय सरकारले खर्च गरेको रकम हिसाब हालसम्म नबुझाएको बताए । उनका अनुसार विवरण साउन एक गतेभित्रै बुझाउनुपर्छ । त्यसका लागि सबै स्थानीय तहलाई सूत्र नामक सफ्टवेर दिइएको छ ।

उक्त सफ्टवेर प्रयोग गरेको भए सहजै समयमै हिसाब दिन सकिन्छ । ‘सूत्र सफ्टवेर प्रयोग गरिए केही गर्नै पर्दैन । आफैं हिसाबकितब आउँछ,’ उनले भने, ‘सीधै कम्प्युटरबाट प्रिन्ट गरेर बुझाए हुन्छ ।’ उनका अनुसार उक्त सफ्टवेर प्रयोग नगरिएका कारण स्थानीय तहलाई हिसाब बुझाउन समस्या भएको हो । उक्त सफ्टवेर प्रयोग गरिए कहिले, कुन मितिमा र कसका लागि चेक काटेको विस्तृत विवरण देखाउँछ । अघिल्लो वा पछिल्लो मितिमा चेक काटिए उक्त सफ्टवेरले स्वीकार गर्दैन ।

त्यसैले आर्थिक वर्षको अन्तिममा खर्च गरेको रकम मिलान गर्न स्थानीय निकायले उक्त सफटेर प्रयोग नगरेको अनुमान छ । कोलेनिकाका अधिकारीहरूका अनुसार स्थानीय निकायका अधिकारीलाई सम्पर्क गर्दा एक/दुई दिनमा बुझाउने जवाफ आएका छन् । ‘स्थानीय सरकारका लेखा अधिकृतले छिटै हिसाब बुझाउने भन्नुभएको छ । तर कहिले बुझाउनुहुन्छ अनिश्चित छ,’ प्रमुख कर अधिकृत पौडेल भन्छन् ।त्यस्तै स्थानीय सरकारले खर्च गरेको कुल बजेटमध्ये करिब एक चौथाइभन्दा बढी आर्थिक वर्षको अन्तिम समयमा खर्च गरेका थिए । कोलेनिकाका अनुसार बाँकेमा ८१.७२ प्रतिशित विकास बजेट खर्च भएको छ ।

प्रकाशित : श्रावण १०, २०७५ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?