२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

मतदानबाट गाँउपालिकाको केन्द्र टुंग्याइयो

हरि गौतम

रुकुम पूर्व — स्थानीय तह घोषणा देखि नै केन्द्र विवाद रहेको पुथाउरगंगा गाउँपालिकाले मतदानबाट स्थायी केन्द्रको टुंगो लगाएको छ । बिहीबार भएको मतदानमा पुथाउरगंगा–१० को तकमा गाउँपालिकाको स्थायी केन्द्र कायम गर्ने मत प्राप्त भएको छ । 

मतदानबाट गाँउपालिकाको केन्द्र टुंग्याइयो

अस्थायी केन्द्र रहेको कोल र तकबीच गाउँ सभाका सदस्यहरुले मतदान गरेका थिए । जम्मा खसेको ६९ मतमध्ये पुथाउरगंगा–१० तकमा केन्द्र कायम गर्नुपर्छ भन्नेमा ४७ मत खसेको छ भने पुथाउरगंगा–१२ को कोलमै केन्द्र कायम गर्नुपर्छ भन्नेमा २२ मत खसेको थियाे । गाउँसभाका ७४ सदस्य मध्ये अध्यक्ष ओमप्रसाद घर्ती मगर मतदानमा सहभागी भएनन् । गाउँ सभाका ३ जना सदस्य जिल्ला समन्वय समितिमा गइसकेका छन् भने १ जनाको मृत्यु भएको छ ।


ढिलै भएपनि गाउँसभाले गाउँपालिकाको स्थायी केन्द्रको टुँगो लाएको अध्यक्ष ओमप्रसाद घर्ती मगरले बताए । लगभग दुई तिहाइ मत तकको पक्षमा खसेकाले गाउँपालिकाको स्थायी केन्द्र तकसेरामै कायम हुने उनले बताए ।


गाउँ सभाको निर्णय संघीय सरकारबाट स्वीकृत भएर आएपछि तकबाट औपचारिक रुपमा कामकाज सुरु हुने अध्यक्ष घर्तीले जानकारी दिए । स्थानीय तहको निर्वाचन पूर्व नै गाउँपालिकाको केन्द्र तक हुनुपर्ने भन्दै आन्दोलन भएको थियो । स्थानीय तहको संख्या तथा सिमाना निर्धारण आयोगले साविक कोल गाविसको कार्यालयलाई गाउँपालिकाको कार्यालय मानेर कामकाज चलाउन चिठ्ठी पठाएदेखि नै तकबासी आन्दोलनमा उत्रिएका थिए ।


स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा जनप्रतिनिधि निर्वाचित भएको ६ महिनामा साधारण बहुमतबाट तथा त्यो भन्दा पछि दुई तिहाई मतबाट मात्रै गाउँपालिकाको केन्द्र वा नाम हेरफेर गर्न सकिने उल्लेख गरिएको छ । गाउँपालिकाले अब ५ नम्बर प्रदेश सरकार हुँदै उक्त प्रस्ताव संघीय सरकारमा पठाउने छ । संघीय सरकारबाट स्वीकृत भएपछि मात्रै उक्त निर्णय कार्यान्वनमा जानेछ ।

प्रकाशित : श्रावण १०, २०७५ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?