१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

गाउँपालिका उपाध्यक्षसहित जनप्रतिनिधिमाथि कुर्सी प्रहार 

हरि गौतम

रुकुम पूर्व — सिस्ने गाउँपालिका उपाध्यक्षसहितका जनप्रतिनिधिमाथि कुर्सी प्रहार भएको छ । सिस्ने गाउँपालिका–८ नम्बर वडा कार्यालयमा भइरहेको छलफलमा सहभागी उपाध्यक्ष गोवर्द्धन बुढा, ५ नम्बर वडाध्यक्ष शान्तेबहादुर विक, ६ नम्बर वडाध्यक्ष सुदन रेग्मीलगायत माथि कुर्सी प्रहार भएको हो ।

गाउँपालिका उपाध्यक्षसहित जनप्रतिनिधिमाथि कुर्सी प्रहार 

सोही गाउँपालिका ८ नम्बर वडामा उत्पादित विद्युत्‌को विषयमा छलफल गर्ने क्रममा आफूहरुमाथि हमला भएको रेग्मीले बताए ।


शनिबार बेलुका जामाखोला लघु जलविद्युत् आयोजनालाई गाउँपालिका मातहत ल्याउने विषयमा छलफल भइरहेको बेला केही युवाले कुर्सी प्रहार गरेको रेग्मीले बताए । ‘छलफल जारी थियो, विद्युत्‌का विषयमा ५ नम्बर वडाध्यक्षज्यु बोलिरहनुभएका बेला केही व्यक्तिले उपाध्यक्षसहित हामीमाथि आक्रमण गरे,’ रेग्मीले भने ।


उपाध्यक्षसहित जनप्रतिनिधिमाथि कुर्सी प्रहार गरिएपछि छलफल अगाडि बढ्न सकेन । आफूहरु र वडा कार्यालयमा हमला गर्ने विरुद्ध सार्वजनिक अपराधअन्तर्गतको मुद्दा दिने तयारी गरिएको रेग्मीले बताए । उनले प्रहरीमा मौखिक उजुरी गरिसकेको र लिखित आइतबार मात्रै गर्ने जानकारी दिएका छन् । यस विषयमा थप जानकारी लिन खोज्दा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क हुन सकेन ।


साविक स्यालापाखा गाविसमा निर्माण भएको उक्त आयोजनालाई गाउँपालिका मातहत लिने कि नलिने भन्ने विषयमा विवाद बढ्दै गएको छ । साविकको स्यालापाखा गाविसका १ देखि ७ नम्वर वडावासीको श्रमदानमार्फत उक्त विद्युत आयोजना निर्माण गरिएको थियो ।


साविक स्यालापाखा गाविसका ३ र ४ नम्वर वडा रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१, मा परेका छन् भने अन्य ७ वडा रुकुम पूर्वको सिस्ने गाउँपालिकाको ७ र ८ नम्बर वडामा परेका छन् ।


विशेषगरी मुसीकोट नगरपालिकामा परेका वडावासीहरु विद्युत् आयोजना गाउँपालिका मातहत नभई उपभोक्ता समितिमार्फत नै सञ्चालन गर्नुपर्ने पक्षमा छन् ।


प्रकाशित : श्रावण १२, २०७५ २१:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?