कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेशको राजधानी र नामाकरण माग गर्दै कांग्रेसद्वारा बैठक अवरोध

घनश्याम गौतम

रुपन्देही — प्रदेशको राजधानी र नामाकरण नभएको भन्दै प्रमुख प्रतिपक्ष कांग्रेसले आइतबारको प्रदेश ५ को प्रदेश सभा बैठक अवरोध गरेको छ ।

प्रदेशको राजधानी र नामाकरण माग गर्दै कांग्रेसद्वारा बैठक अवरोध

स्थायी राजधानी र नामाकरण टुंगो नलागेसम्म प्रदेश सभा बैठक चल्न नदिने कांग्रेसको अडान छ ।


आइतबारको बैठक सुरु भएलगत्तै विशेष समय लिएर कांग्रेस सचेतक निर्मला क्षेत्रीले प्रदेश ५ को सरकार संविधान अनुसार चल्न नसकेको बताईन् ।


संविधानमा ६ महिनाभित्र प्रदेश सभाबाट स्थायी राजधानी र नामाकरण टुंगो लगाउने उल्लेख भएपनि अहिलेसम्म त्यो नभएकाले कांग्रेसले बाध्य भएर बैठक अवरोध गर्ने नीति लिनु परेको जानकारी गराएकी थिईन ।


उनले संविधानमा सभामुख र उपसभामुख छुट्टाछुट्टै दलको हुनुपर्ने व्यवस्था भएपनि प्रदेश ५ को प्रदेश सभा बैठकमा अहिलेसम्म दुवै पद एकै दलको भएकाले तत्काल त्यसको प्रकृया सुरु गर्न समेत सभामुखको ध्यानाकर्षण गराएकी थिइन् ।


विपक्षी दलका नेता बलदेव शर्माको नेतृत्वमा प्रदेश सभाको बैठक कक्षमा उभिएर प्रदेश सभा सदस्यहरुले विरोध गरेका थिए ।


कांग्रेसको अवरोधपछि सभामुख पूर्णबहादुर घर्तीले सोमबार १ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी गराएका छन् ।


राजधानी, नामाकरण र सभामुख उपसभामुखका विषयमा मुख्यमन्त्रीसँग छलफल गरेर टुंगो नलाग्दासम्म बैठक अवरोध भइरहने सचेतक क्षेत्रीले बताईन ।

प्रकाशित : श्रावण १३, २०७५ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?