कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ढकियामा नयाँ सीप

‘नयाँ डिजाइनका ढकिया आकर्षक भएकाले माग पनि बढिरहेको छ’
कान्तिपुर संवाददाता

बाँके — कोहलपुरकी कंग्रेसनी चौधरीले नयाँ–नयाँ डिजाइनका ढकिया बनाउँछिन् । पहिले पनि उनी ढकिया बुन्थिन् तर ती पुरानो ढाँचाका मात्र हुन्थे । गत वर्ष कोहलपुर नगरपालिकाले दिएको ढकिया बुन्ने तालिमपछि चौधरीले नयाँ ढाँचाका बनाउन थालेकी हुन् ।

ढकियामा नयाँ सीप

‘पुराना ढकिया बनाउन समय र सामग्री धेरै लाग्थ्यो,’ उनले भनिन्, ‘बनाउन पनि अप्ठ्यारो थियो ।’ परम्परागत ढकिया थारू समुदायले घरासयी कामकाजमा प्रयोग गर्थे । साथी, इष्टमित्रलाई उपहार दिन प्रयोग गरिन्थ्यो । यी बेचेर आम्दानी गर्ने चलन थिएन । सीप भए पनि त्यसलाई व्यावसायिक तुल्याउन सकिएको थिएन । तालिममा नयाँ तरिका सिकिन् । ‘नयाँ डिजाइनका बनाउन सजिलो छ । एकै दिनमा सकिन्छ,’ उनले भनिन्, ‘नयाँ डिजाइनका ढकिया आकर्षक भएकाले माग पनि बढिरहेको छ ।’ सीप पाएपछि कंग्रेसनी खुसी छन् । अहिले फूलदानी र ज्वेलरी डिजाइनको ढकिया बनाएकी छन् । ‘अब बर्खा सकियो,’ उनले भनिन्, ‘फुर्सदमा धेरै ढकिया बुन्छु । घरको काम पनि हुन्छ, आयआर्जन पनि ।’


यहाँको चपरगौडीकी सीता थारू गृहिणी हुन् । ढकिया बनाउन सिकेपछि उनी खुसी छन् । घरको काम सकेर बचेको खाली समयमा केही गर्न सकिन्छ भन्ने आशा जागेको उनले बताइन् । ‘तालिम सकिएपछि बर्खा लागेकाले खेतमै व्यस्त भएँ । दुईवटा मात्रै बनाएकी छु । अब खाली समयमा बनाउँछु,’ सीताले भनिन्, ‘घरमै बसेर काम पनि हुन्छ । पैसा पनि कमाइ भइरहेको छ ।’ आमाहरूले ढकिया बनाएको देखेकी कोहलपुर ५ की गीता चौधरी अहिले आफंै पनि बनाउन थालेकी छन् । ‘आमाहरूले एउटै डिजाइनका बनाउँँथे,’ उनले भनिन्, ‘हामीले फूलदानी, ज्वेलरी, डस्टबिन, खुत्रुकेजस्ता ८/१० डिजाइन सिकेका छौं । आकर्षक डिजाइन भएकाले बनाएपछि बेच्न समस्यै छैन ।’


अहिले धेरै बनाइनसकेकाले कति आम्दानी हुन्छ भन्न नसके पनि ढकिया बेचेर राम्रो आम्दानी हुनेमा गीता ढुक्क छिन् । गत जेठमा १० दिनसम्म चलेको आधारभूत ढकिया बुनाइ तालिम २४ जनाले लिएका थिए । तालिमपछि महिलाले बनाएका सामग्रीको बजारीकरणका लागि नगरपालिकाले यस वर्ष कोसेली घर निर्माण योजना ल्याएको छ । यसका लागि ४ लाख बजेट छुट्याइएको छ । हस्तकलाको बजारीकरण र व्यावसायिक बनाउन कोसेली घरको व्यवस्था गर्न लागेको नगर उपप्रमुख सञ्जुकुमारी चौधरीले बताइन् । ‘यसले हस्तकलाको संरक्षणसँगै बजारीकरण पनि हुन्छ,’ उनले भनिन्, ‘महिलाले उत्पादन गरेका सबै सामान संकलन गरिदिँदा हौसला बढ्छ । उत्पादन बढ्छ अनि उनीहरूको आर्थिक अवस्थामा पनि सुधार आउँछ ।’


लोप हुन लागेको थारू हस्तकलाको संरक्षणमा तालिमले सहयोग गर्ने थारू अगुवा पतिरामले बताए । ‘एक त हाम्रो हस्तकलाको संरक्षण हुन्छ,’ उनले भने, ‘महिलाले सीप सिक्दा उनीहरू आर्थिक रूपमा सक्षम हुन्छन् ।’ थारू समुदायमा मात्रै उत्पादन गरिने ढकिया पछिल्लो समय लोप हुन थालेकाले ढकियाको संरक्षण र बजारीकरण गर्न तालिम एउटा राम्रो अवसर रहेको अध्यक्ष थारूले बताए । ‘थारू समुदायमा अलि पाको उमेरका महिलाले मात्रै ढकिया बनाएको देखिन्थ्यो,’ उनले भने, ‘तालिमपछि युवतीहरू पनि जुर्मुराएका छन् ।’

प्रकाशित : श्रावण १८, २०७५ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?