कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालीघरकै भर

कमल पन्थी

बर्दिया — राजापुर ५ बदालपुरका प्रकाश विकले ३१ वर्षदेखि फलाम पिट्दै आएका छन् । जिजुबुबाका पालादेखि फलाम पिट्ने उनले अहिले पनि बालिघरे प्रथाअनुसारकै पारिश्रमिक पाएको सुनाए ।
गाउँमा रहेका बडघरले फलाम पिट्ने, कपडा सिलाउनेलाई वार्षिक तिहाइ (घरपरिवार हेरेर धान, मकै, गहुँ) संकलन गरिदिने गरेका छन् ।

बालीघरकै भर

प्रकाशले वर्षभरि एक दर्जनभन्दा बढी गाउँमा बडघरसँग भएको सहमतिअनुसार केही मात्रामा अन्नबाली पाउँछन् । ‘परिवार ठूलो छ,’ उनले भने, ‘दिन प्रतिदिनको महँगीले परिवार पाल्नै धौ–धौ छ ।’


उनीजस्तै राजापुरका सन्तराम विकको दैनिकी पनि यसरी नै चलेको छ । पारिश्रमिक नबढाएसम्म यसरी जीवन धान्न निकै गाह्रो हुने उनले गुनासो गरे । वर्षभरि गाउँलेका घरघरमा पुगेर फलाम पिट्ने र कपडा सिलाउने बालीघरे प्रथा जिल्लामा अझै कायमै छ । श्रम शोषणको अन्त्य गरी पारिश्रमिक बढाउनुपर्ने उनीहरूले माग गर्दै आएका छन् ।


गेरुवा २ का दीपक विक आफूले काम गरेअनुसारको पारिश्रमिक बढाउन माग गर्छन् । हजुरबुबाका पालादेखि फलाम पिटदै आएका उनले पुरानै पारिश्रमिकमा जीवन धान्न मुस्किल परेको दु:खेसो पोखे । उनीजस्तै टीकाराम परियारले कपडा सिलाएबापत बाजेका पालामा पाउने रकममा फेरबदल नआएपछि मजदुरी गर्न भारत जान बाध्य भएको सुनाए । उनीहरूको सरकारसँग एउटै माग छ, ‘अब बालीघरे प्रथा अन्त्य भएको घोषणा तदारुकताका साथ कार्यान्वयन गर्नु पर्‍यो ।’ सरकारले बालिघरे प्रथा अन्त्य गर्छौं भनेको डेढ दशक बितिसक्दा पनि अहिलेसम्म त्यो प्रथा अन्त्य नभएको सांसद विमला विकले बताइन् । ‘बालीघरे प्रथाबाट गुजारा चल्दैन,’ उनले भनिन्, ‘अहिले उनीहरू फलामको काम छाड्ने या गर्ने दोधारमा परेका छन् । सरकारले कमैया र हली प्रथा अन्त्य गरी पुन:स्थापना गरेजस्तै बालीघरे प्रथाको पनि छिट्टै अन्त्य गर्नु जरुरी छ ।’


फलाम पिट्ने र कपडा सिलाउने अधिकांश बालीघरे श्रमिकसँग पेसा छोडदा दैनिक गुजारा गर्ने विकल्प छैन ।


बालीघरे प्रथामा काम गर्दा उनीहरूको आर्थिक अवस्था जस्ताको त्यस्तै छ । ‘जीवनमा परिवर्तन भन्ने नै आएन,’ सांसद विकले भनिन्, ‘वर्षभरि कपडा सिलाएबापत वा फलाम पिटेबापत प्रतिपरिवार वर्षको १५ किलो धान र १५ किलो गहुँले जीवनमा के परिवर्तन ल्याउला ?’ वार्षिक २० किलो धानका भरमा एक घरपरिवारमा भएका सम्पूर्ण सदस्यको वर्षभरि नै कपडा सिउनुपर्ने हुन्छ । उनीहरूले बालीमा नभई ज्यालादारीमा काम गर्ने हो भने दैनिक एक हजार रुपैयाँभन्दा बढी कमाउने दाबी गर्छन् । जिल्लामा दलित समुदायको करिब ६० प्रतिशत जनसंख्या बालीघरे प्रथामा आश्रित छ । जिल्लाका बारबर्दिया, बाँसगढी, राजापुरलगायत क्षेत्रमा बालीघरे प्रथामा काम गरी जीविका चलाउनेको संख्या धेरै छ । वर्षभरि काम गरेर ज्यालाका रूपमा अन्न लिने यो प्रथालाई ठाउँ अनुसार बालीघरे, खली र तिहाइ भनेर सम्बोधन गरिन्छ ।


जग्गाजमिन थोरै भएको र उत्पादनले वर्षभरि खान नपुग्ने भएपछि बालीघरे प्रथामा काम गर्न बाध्य भएको उनीहरूको गुनासो छ । बालीघरेमा काम गर्दा उचित ज्याला पाउन नसक्दा अहिलेका युवा भने विस्तारै यो काम गर्न छोडदै छन् र ज्याला/मजदुरीका लागि मुग्लानतिर भासिँदै छन् ।

प्रकाशित : श्रावण १८, २०७५ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?