कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सिक्टाको नहरकाे डिजाइन र गुणस्तरमा प्रश्न

फेरि भत्कियो सिक्टाको मूल नहर
ठाकुरसिंह थारू

नेपालगन्ज — राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर र स्लोभ वर्षाका समयमा पटकपटक भत्किने गरेको छ । त्यसले डिजाइन र गुणस्तरमा शंका उब्जाएको छ । अहिले ढकेरी क्षेत्रको चंगाई नालानजिक भत्किएको छ ।

सिक्टाको नहरकाे डिजाइन र गुणस्तरमा प्रश्न

२५ अर्बभन्दा बढीको लगानीमा निर्माण भइरहेको आयोजनाले समस्या समाधानका लागि माटो परीक्षणलगायत विज्ञबाट राय परामर्श लिई आवश्यक सुधार गर्न डिजाइन नक्सासहितको प्रतिवेदन तयार पारेको छ । नहरको उत्तर–दक्षिण बग्ने खोला धेरै रहेकाले वर्षामा नहरमा क्षति हुने गरेको प्रतिवेदनले स्वीकार गरेको छ । हालसम्म १४ अर्ब खर्च भइसकेको छ भने कार्य प्रगति ५७ प्रतिशत छ ।

यसअघि पनि मूल नहरको गुणस्तर छानबिनका लागि मन्त्रालयमा उजुरी परेको थियो । ०७३ असार १४ गते नहरमा पानी छोडेर परीक्षणका क्रममा अगैया ब्यारेजदेखि पश्चिमतर्फ पर्ने २६ किमि दूरीको झिँझरी खोलामा मुख्य नहरकै १५ मिटर बाँध भत्किएको थियो ।

त्यस्तै गत वर्षको बाढीले दर्जनभन्दा बढी स्थानमा मूल नहर भत्काएको थियो । बाढीले मदुई, गावरपुरलगायत दर्जनभन्दा बढी स्थानमा नहर र स्लोभ भत्काएपछि गुणस्तरमाथि प्रश्न उठाइएको हो । गाउँ डुबान हुने गरी पटकपटक नहर भत्किन थालेपछि स्थानीयले गुणस्तर छानबिनको माग गर्न थालेका हुन् । राप्ती सोनारी २ मदुईका तुलसिंह खत्रीले निर्माणकै क्रममा कमजोरी भएका कारण पटकपटक नहर भत्किने गरेको र गाउँ डुबानमा पर्दै आएको बताए ।

नेपालगन्जस्थित सिक्टा सिँचाइ आयोजनाका निर्देशक रमेश बस्नेतले आयोजनाका दायाँ–बायाँ दुवै मूल नहर चुरे र फुटहिल क्षेत्र भएर गएका कारण आफैंमा चुनौती रहेको बताए । उनले दायाँ मूल नहरको डिजाइन चरणमा नहरको रेखांकन गर्दा चेनेज २० देखि ३५ किमिसम्म अत्यधिक कटिङ तथा फिलिङमा रहेकामा यसलाई कम गर्न विभिन्न विकल्पको अध्ययन गरी हालको रेखांकन छनोट गरिएको दाबी गरे । ‘यसका साथै दायाँ मूल नहरको सो खण्डको रेखांकन विषम प्रकृतिको घुलनशील माटो भएर गएको पाइएको छ,’ निर्देशक बस्नेतले भने ।

विकासका लागि नागरिक समाज बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले मुलुकै ठूलो आयोजनाको नहर पटकपटक भत्किएपछि गुणस्तर अनुगमन हुनुपर्ने बताए । उनले त्यसको छानबिनका लागि सरकारले संसदीय टोली गठन गर्न माग गरे । राप्तीको पानीले बाँकेको ८० प्रतिशत जमिन सिँचाइ गर्ने उद्देश्यसहित स्वदेशी लगानीमा उक्त आयोजना सुरु गरिएको हो । उक्त आयोजना सम्पन्न हुन सके बाँकेको कृषिमा ठूलो फड्को मार्ने विश्वाससहित ०६१/६२ मा सुरु गरिएको थियो ।

तर, उक्त आयोजनाको निर्माणको काम विभिन्न कारणले ढिलाइ हुँदा लागत बढ्दै गएको छ । आयोजनाले नसमेटेका राप्तीपारिका ९ वडामा पनि सिँचाइ पुर्‍याउने भन्दै आव ०७०/७१ मा गुरुयोजना संशोधन गरिएपछि लागत बढेको हो । सिक्टा सिँचाइले करिब २ सय ८० किमि लामो नहर निर्माण गरी ८० प्रतिशत जग्गामा सिँचाइ पुर्‍याउने लक्ष्य छ । हाल बाँकेमा करिब ३० प्रतिशत भूभागमा मात्रै सिँचाइ सुविधा उपलब्ध छ । आव ०७६/७७ मा निर्माण सम्पन्न हुने उक्त आयोजनाका लागि २५ अर्ब २ करोड लागत अनुमान छ ।

निर्माण कम्पनीले समयमा काम नगर्दा आयोजना निर्माणको काम प्रभावित हुँदै आएको छ । सिक्टाको मूल नहरलाई डुडुवा शाखा नहरसँग जोड्न ३२ दशमलव २ किमि निर्माणको काम रोकिएको छ । २०१८ डिसेम्बर १९ सम्म काम सक्नुपर्नेमा ५ प्रतिशत काम मात्रै सकिएको छ ।

उक्त नहरबाट खजुरा र पुरैनी क्षेत्रका १६ हजार हेक्टरमा सिँचाइ पुग्ने लक्ष्य छ । राप्ती नदीको अगैयामा ३ सय १७ मिटर लामो पुल निर्माण गरी राप्तीको पानी छेक्न १८ वटा गेट राखिएका छन् । आयोजनाअन्तर्गतको मूल नहर ४५ किमि निर्माण गरिनेछ । बाँकी नहर निर्माणको काम जारी छ ।

प्रकाशित : श्रावण २०, २०७५ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?