१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

ढिलो वर्षाले अझै रोपाइँ

कान्तिपुर संवाददाता

बाँके — आकाशे पानीको भर पर्दा जिल्लामा अहिलेसम्म ८४ प्रतिशत मात्रै रोपाइँ सकिएको छ । यहाँका किसान अहिले पनि धान रोप्न खेतमै व्यस्त छन् । सिँचाइ नभएका ठाउँका किसानले आकाशे पानीको भर पर्नुपर्दा साउन आधासम्म पनि धान रोपिरहेका छन् ।

ढिलो वर्षाले अझै रोपाइँ

जानकी गाउँपालिका, नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाका केही स्थानमा किसान अहिले रोपाइँमा व्यस्त हुन् । पर्याप्त पानी नपर्दा कतिपय फाँटमा अझै पनि समस्या छ । सिँचाइ सुविधा पुगेका खेतमा भने रोपाइँ भइसकेको छ ।

कुल खेतीयोग्य जमिन ५२ हजार २ सय ३८ हेक्टरमध्ये १५ हजार हेक्टरमा मात्र सिँचाइ सुविधा छ । जुन ३० प्रतिशत मात्र हो । कतिपय किसानले पम्पसेटबाट सिँचाइ गरी धान रोपेका छन् । तर, यसरी गर्ने सिँचाइ महँगो पर्ने भएकाले यसको प्रयोग सबैले गर्दैनन् ।

जिल्ला कृषि समन्वय प्रमुख कृष्ण बस्नेतले सिँचाइ अभावमा केही स्थानको रोपाइ ढिलो भएको बताए । ‘समयमै पानी नपर्दा यो समस्या भएको हो, पानी भएको खेतमा रोपाइँ भइसक्यो,’ उनले भने, ‘ढिला पानी परेकाले कतिपय खेतमा अहिले पनि रोपाइँ भइरहेको छ ।’ बाँकेमा साउनभर रोपाइँ भइरहने उनले बताए । जानकी गाउँपालिकामा धेरै खेत रोप्न बाँकी रहेको कार्यालयले जनाएको छ ।

लामो समय पानी नपरेपछि किसान अहिले छिप्पिएको बीउ रोपिरहेका छन् । ३० दिनभन्दा बढीको ब्याडले राम्रो उत्पादन नहुने कृषि अधिकारीको भनाइ छ । ठिक्कको बीउले हुने उत्पादनको तुलनामा छिप्पिएको बीउ रोप्दा कम उत्पादन हुन्छ । धान उत्पादन बढाउन १५ प्रतिशत उन्नत बीउ र ५० प्रतिशत रासायनिक मलको प्रयोग हुने
गरेको छ ।

छिटो तयार हुने धानको बीउ राखेको २५ दिनसम्म रोपाइ गरे उत्पादन बढ्ने प्रमुख बस्नेतले बताए । आकाशे पानीले साथ दिएको वर्ष जिल्लामा १ लाख ३८ हजार ७ सय टन धान उत्पादन हुने कार्यालयले जनाएको छ । सिँचाइ सुविधा नभएका स्थानमा किसानले साना ट्युबेल जडान गरेका छन् । तर, रोपाइँका लागि त्यसबाट पर्याप्त सिँचाइ गर्न मिल्दैन ।

प्रकाशित : श्रावण २०, २०७५ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?