कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छोटो दूरीको सडक माग

गिरुप्रसाद भण्डारी

प्यूठान — दक्षिणी प्यूठानको बरौला क्षेत्रका स्थानीयले छोटो दूरीको सडक निर्माण गर्न माग गरेका छन् ।

छोटो दूरीको सडक माग

ऐरावती गाउँपालिकाअन्तर्गत बरौला, बिजुली, दाङबाङ क्षेत्रका स्थानीयले बरौला–पत्थरकोट सडक निर्माण भए छोटो दूरीमै पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको पत्थरकोट पुग्न सकिने भन्दै यो सडक निर्माण गर्न माग गरेका हुन् ।

छोटो दूरीको सडक अभावमा स्थानीयले प्यूठानको चेरनेटा हुँदै दाङ भालुबाङ पुगेर मात्र पूर्व–पश्चिम राजमार्ग भेटाउनुपर्ने बाध्यता छ । ऐरावती गाउँपालिकाको बरौलास्थित चुकाहको पुलबाट झन्डै ६५ किमिमै कपिलवस्तुको पत्थरकोट पुग्न सकिने ऐरावती ३ बिजुली दमारका उमाराम पाण्डेले बताए । बरौला–दुरबाङ–जुकेना (अर्घाखाँची)–हर्रेबर्रे हुँदै पत्थरकोट निकै छोटो सडक हुने उनले सुनाए । ‘यो सडक निर्माण गर्न वर्षौंदेखि माग गरिरहेका छाैं,’ उनले भने, ‘चुनावका बेला सबैले निर्माण गर्न पहल गर्छौं भन्छन् तर पछि कसैले ध्यान दिँदैनन् ।’ सडक निर्माण भए प्रदेश ५ को सदरमुकाम बुटवल पुग्न ५०/६० किमि दूरी घट्ने पाण्डेले बताए ।

‘सडक नभएकाले दक्षिण जानुपर्ने यात्रु उत्तरतर्फ लागेर तराई झर्नुपर्ने बाध्यता छ,’ स्थानीय अगुवा रामप्रसाद आचार्यले भने, ‘यसले गर्दा बरौला–पत्थरकोट सडकको माग गरेका हौं ।’ सांसद हुँदै मन्त्रीसम्मलाई सडक निर्माणको माग गरेको आचार्यले बताए । अहिलेसम्म कतैबाट सुनुवाइ नभएको उनले दुखेसो पोखे । ‘बरौला–पत्थरकोट सडक निर्माण भए ऐरावती क्षेत्रको मात्र होइन सबै प्यूठानीले नै लाभ लिन सक्छन्,’ उनले भने, ‘यो सडक प्यूठानको समृद्धिसँग जोडिएको छ ।’

भालुबाङ–प्यूठान सडक नखुल्दा सबै प्यूठानीले पत्थरकोट जुकेना बरौला हुँदै पैदल हिँडेर नुन बोक्ने गरेको पकलाका टीकाबहादुर गुरुङ बताउँछन् । ‘छोटो सडक निर्माण गर्नेमा सबै प्यूठानीको ध्यान पुग्नुपर्ने हो,’ उनले भने । पुर्खाले पनि छोटो भएकैले यो बाटो हिँड्ने गरेको उनको भनाइ छ । दक्षिणी प्यूठानमा पहुँचमा पुगेका नेता नभएकाले यो क्षेत्र ओझेलमा परेको गुरुङ बताउँछन् । भर्खरै प्यूठान आएका प्रदेश मुख्यमन्त्री शंकर पोखरेलसँग सडक निर्माणमा बजेटको व्यवस्था मिलाउन माग गरेको गुरुङले बताए ।

प्यूठान नगरपालिकाको चेरनेटाबाट भालुबाङ पुग्ने समयमा बरौलाको बाटो भएर झरे पत्थरकोट पुग्न सकिने स्थानीय उमा पाण्डेले बताइन् । ‘रोल्पा र प्यूठानीलाई प्रदेशमुकाम बुटवल जोड्ने सबैभन्दा छोटो सडक यही हुनेछ,’ उनले भनिन्, ‘तर, दु:खको कुरा कतैबाट निर्माणका लागि बजेट परेको छैन ।’बरौला–दुरबाङ–जुकेना–पत्थरकोट सडक प्यूठानका लागि निकै महत्त्वपूर्ण भएकाले निर्माणका लागि पहल गरिरहेको ऐरावती रस्पुरकोटका स्थानीय तथा योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्दराज पोखरेलले बताए ।

प्रकाशित : श्रावण २०, २०७५ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?