३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

चिप्लो माटोले गाडी पल्टे

नवीन पौडेल

परासी — हिउँदमा धूलो र प्रदूषण खेपेका पश्चिम नपलरासीका बासिन्दा यतिबेला भने हिलोमा गाडिएर हिँड्नुपरेको छ । राष्ट्रिय गौरवको हुलाकी सडक आयोजनाको निर्माण समयमा पूरा नहुँदा स्थानीय सास्ती भोगेका छन् ।

चिप्लो माटोले गाडी पल्टे

हुलाकी सडकमा मोटरसाइकल तथा साना सवारी आउजाउ गर्न कठिनाइ भएको छ । साइकल र पैदलयात्री हिँड्न सक्ने अवस्था छैन । सडकमा खसालिएको चिप्लो माटो वर्षाको पानीले बगाउँदा खाडल परेका छन् ।

पहाडी भेगको बाटोको जस्तो झल्को दिने भन्दै समयमा काम नसकेर जनतालाई सास्ती दिने ठेकेदारलाई कारबाही गर्नुपर्ने स्थानीय रमेश यादवले बताए । ‘मुख्य सडकको काम नै अलपत्र छाड्ने, वर्षाको समयमा माटोले सडक पुरेर काम नगर्नेलाई कारबाही गर्नुपर्छ,’ यादवले भने । हिलो र खाडलका कारण दिनहँु सवारी पल्टने, चिप्लिने भइरहेको छ ।

तराई भेगको लाइफ लाइनका रूपमा परिचित सडक अहिलेसम्म ७५ प्रतिशतभन्दा बढी काम हुनुपर्ने थियो । निर्माण सामग्री अव्यस्थित रूपमा लामो समयसम्म राख्दा दुर्घटनाको जोखिम बढेको छ । सदरमुकाम परासीदेखि गोपीगन्ज निस्किने १३ किलोमिटरको हुलाकी राजमार्ग अहिले निर्माणका क्रममा छ । २५ करोड १९ लाख ७० हजारको लागतमा निर्माण भइरहेको मार्गको अहिलेसम्म मुस्किलले २५ प्रतिशत मात्र काम भएको छ ।

०७३ फागुनमा सुरु गरेर ०७५ फागुनभित्र सक्नुपर्ने भए पनि यही गतिमा निर्माण भए समयमा काम नसकिने, हिलो, धूलो र प्रदूषण बढ्ने भन्दै छिटो गर्न निर्माण कम्पनीलाई स्थानीयले पटकपटक दबाब दिएका छन् । यस खण्डको ठेक्का सीधै हुलाकी सडक आयोजना काठमाडौंबाट भएको र त्यसको सुपरिवेक्षण गर्ने जिम्मा डिभिजन सडक बुटवलले पाएको छ । ‘यही फागुन मसान्तसम्ममा काम सक्नु पर्ने ठेक्काको म्याद हो,’ डिभिजन सडक बुटवलका सब इन्जिनियर विपुल गौतमले भने, ‘विभिन्न बहाना बनाउँदै काम रोक्न खोज्दा विभागदेखि बुटवल सडक कार्यालयले ठेकेदार कम्पनीलाई पटकपटक ताकेता गरेको छ,’ उनले भने, ‘अहिलेसम्म आर्थिक रूपमा १५ प्रतिशत मात्र भुक्तानी भए पनि काम भने २५ प्रतिशत हाराहारीमा भएको छ ।’

बाक्लो बस्ती भएका कारणले सवारी चाप बढदा हिलो र धूलोका कारण स्थानीय आजित बनेका हुन् । जिल्ला सदरमुकाम परासीमा ग्रामीण क्षेत्रका विभिन्न ठाउँमा मानिसलाई आउनजान हुलाकी बाटो सहज हुने भएकाले यसमा ढिलाइ गर्न नहुने रामग्राम नगरपालिका प्रमुख नरेन्द्रकुमार गुप्ताले बताए । ‘यो तराईको लाइफलाइन हो, यसको निर्माण छिटोभन्दा छिटो गर्न सम्बन्धित निकायमा हामीले झक्झकाएका छौं,’ उनले भने, ‘निर्माण ढिलो हँुदा वर्षामा बाटो हिंड्नै नसकिने भएको छ ।’

वर्षौंदेखि हुलाकी मार्ग पक्की बन्छ भन्ने हल्ला चले पनि निर्माणको काम सुरु भएको थिएन । अघिल्लो वर्षको फागुनबाट काम सुरु भएपछि खुसी भएका स्थानीय समयमा काम नहुँदा निराश छन् । वर्षामा हिलोले साना सवारी चल्न असहज हुने र सुख्खा मौसममा धूलो उडेर अगाडिको सवारी साधन नदेखिने स्थानीय गुरु पौडेलले बताए । विद्यार्थीलाई असहज भएको छ । काम छिटो सक्ने बहानामा अधिकांश सडक भत्काएर काम भइरहेको देखाउन खोजे पनि कामको प्रगति भएको छैन । सम्झौतामा सडक पुर्नका लागि बाहिरबाट माटो ल्याउनुपर्ने भने पनि ठेकेदार कम्पनीले सडक आसपास स्थानीयको जमिनबाट माटो खन्ने गरेको छ ।

सडक निर्माणको बिरोध
परासी– सदरमुकाम परासीस्थित सडक निर्माणमा कमसल सामग्री प्रयोग भएको भन्दै स्थानीयले विरोध जनाएका छन् । सदरमुकाम विकास कार्यक्रमअन्तर्गत सदरमुकामका सडक चौडा बनाउने आयोजनाले कमसल सामग्री प्रयोग गरी अनियमितता गरेको आरोप लगाउँदै नागरिक समाज र उपभोक्ता हित संरक्षण मञ्चको अगुवाइमा स्थानीयले दुई दिनसम्म निर्माण रोकेका हुन् ।

स्थानीयले शुक्रबार र शनिबार निर्माणमा अवरोध गरेका थिए । प्रमुख जिल्ला अधिकारीको आग्रहमा उनीहरूले काम गर्न दिन सहमत भए पनि कमसल निर्माण सामग्री हटाउनुपर्ने माग गरेपछि थप काम हुन पाएको छैन । अनुगमन नहुँदा ठेकेदारले मनपरी निर्माण सामग्री प्रयोग गरेको आरोप छ । पानी परेका बेला काम गरेको नागरिक समाज परासीका अध्यक्ष शम्भु उपाध्यायले बताए । ‘अनुगमन गर्ने निकाय मौन बसेपछि नागरिक समाज चुप लागेर बस्न सकेन,’ उनले भने, ‘डिजाइन र स्टिमेट सार्वजनिक गरेर मात्र काम गर्न आग्रह गरेका छाैं ।’

गौरी पार्वती निर्माण सेवालाई पटकपटक आयोजनाको विस्तृत विवरण होर्डिङ बोर्ड बनाएर सार्वजनिक गर्न आग्रह गरे पनि अटेर गरेको भन्दै काम रोक्न बाध्य भएको उपाध्यायले बताए । करिब २२ करोड लगानीमा महेशपुरदेखि बाइपासचोक र झरहीखोला पुलदेखि मन्झरिया चोकसम्मको सडकको स्तरोन्नति, डिभाइडरसहितको चार लेन, फुटपाथ, सडक किनारमा खानेपानी पाइप, विद्युत्, टेलिफोन लाइनसहितको एकीकृत व्यवस्थापन गर्ने काम भइरहेको छ । माघदेखि काम सुरु गर्ने भने पनि सडक आसपासका रूख काट्ने प्रक्रिया ढिलो हुँदा वर्षा लागेपछि मात्र सुरु भएको थियो । पहिलो चरणमा अहिले सडकको दायाँबायाँ ढल निर्माण भइरहेको छ ।

ढल निर्माणको जगमा कमसल इँटा प्रयोग गरिएको छ । सहरी आवास तथा भवन डिभिजन कार्यालय भरतपुरका साइट इन्जिनियर वीरेन्द्रकुमार मण्डलका अनुसार एक नम्बर इँटा प्रयोग गर्नुपर्ने बताए । तर, आफू बिदामा रहेको भन्दै प्राविधिक पन्छिएपछि स्थानीय थप आक्रोशित भएका छन् ।

निर्माण कम्पनीले १४ रुपैयाँ प्रतिगोटा पर्ने नम्बरी इँटाको सट्टा ८ रुपैयाँ पर्ने कमसल इँटा प्रयोग गरिरहेको उपभोक्ता हित संरक्षण मंचका अध्यक्ष रामजी ज्ञवालीले आरोप लगाए । ‘ठेकेदार पक्ष र सरकारी पक्षका प्राविधिकहरू महिनामा एकपटक आएर अनुगमन गरेजस्तो गर्छन्, करोडौंको आयोजना सरकारी अनुगमनबिना मनोमानी ढंगले चलिरहेको छ,’ उनले भने, ‘स्थानीयलाई प्राविधिक ज्ञान नहुने भएकाले योजनाको किसिम, बजेट र नक्सा सार्वजनिक रूपमा राख्नुपर्छ भन्ने हाम्रो माग हो ।’

प्रकाशित : श्रावण २१, २०७५ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?