१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

धान खेतीभन्दा तरकारी राम्रो

थोरै जग्गामा लगाए पनि धेरै फाइदा
कान्तिपुर संवाददाता

बाँके — कोहलपुर नगरपालिका ६ का शिवप्रसाद थारू तरकारी खेतीबाट मासिक १२ हजार रुपैयाँ आम्दानी गरिरहेका छन् । उनको बारीमा अहिले चिचिन्डा, भिन्डी, काँक्रा, घिरौंलालगायत तरकारी लटरम्म छन् । तरकारी बेचेरै घर चलाउन सजिलो भएको छ ।

धान खेतीभन्दा तरकारी राम्रो

साढे तीन कट्ठामा बाहै्रमास तरकारी लगाउने उनले बताए । ‘यसैबाट घरखर्च चल्छ । छोराछोरी पढाउन पुग्छ । धानमात्रै लगाउनुभन्दा तरकारी खेतीबाट फाइदा छ,’ उनले भने, ‘धान त आफूलाई खान मात्रै हुन्छ । बेच्ने त तरकारी नै हो ।’ थोरै जग्गामा पनि तरकारीबाट आम्दानी राम्रो गर्न सकिन्छ । बर्खामा भने अरू समयभन्दा कम आम्दानी हुने उनले बताए ।

उनीझैं निर्वाहमुखी खेतीमा निर्भर यहाँका किसान अहिले तरकारी खेतीतर्फ आकर्षित भएका छन् । धानमात्रै लगाउँदा परिवार चलाउन समस्या भएपछि किसानले तरकारी खेती रोजेका हुन् । थोरै जग्गामा पनि धेरैथरीका तरकारी फलाएर त्यसबाट राम्रो आम्दानी गरिरहेको किसानहरूको अनुभव छ ।

पछिल्लो समय यहाँका अधिकांश किसानले तरकारी खेती गरिरहेका छन् । परनद्या थारूले यसै महिना १० दिनमा ५ हजारको साग बेचिन् । अहिले बर्खा लागेकाले आम्दानीमा कमी आएको छ । अन्य महिना १० देखि १२ हजार रुपैयाँ मासिक कमाउँछिन् । धान मात्रै भन्दा तरकारी लगाउन अरू किसानलाई उनले सुझाव दिने गरेकी छन् । उनको परिवार पुस्तौंदेखि कृषिमा निर्भर छ । तर, अहिले खेती गर्ने तरिका भने फरक भएको छ । ‘पुर्खाले धान मात्रै लगाउँथे,’ उनले भनिन्, ‘खाली समय मजदुरी गर्थे । अहिले धान पनि लगाउँछन्, तरकारी पनि ।’ अहिले उनलाई मजदुरी गर्न जानु परेको छैन । आफ्नै तीन कट्ठा जमिनमा कुटो कोदालो गरी राम्रै आम्दानी गरिरहेकी छन् ।

गाउँकै सोहन थारू पनि मासिक ८ हजार रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । उनले दुई कट्ठा जग्गामा बाहै्र महिना तरकारी उत्पादन गरिरहेका छन् । ‘धानभन्दा त तरकारीबाट धेरै फाइदा हुन्छ,’ उनले भने, ‘थोरै जग्गामा तरकारी लगाउँदा पनि राम्रो आम्दानी भएको छ ।’ अरूको मजदुरीमा जानुपरेको छैन । आफ्नै सानो बारीको कमाइबाट घरखर्च चलिरहेको छ । पिट्ठुलाल र रथीराम थारू पनि तरकारीबाट राम्रै आम्दानी लिएको बताउँछन् । तरकारी बेचेरै घर चलाउन, बालबच्चा पढाउन अनि औषधि उपचार गर्न सजिलो भएको उनीहरूले बताए । थोरै जग्गामा तरकारी लगाए पनि त्यसबाट धेरै फाइदा पुगेको रथीरामले बताए । उनीहरूले बारीमा खुर्सानी, टमाटर, भिन्डी, चिचिन्डालगायत तरकारी लगाएका छन् ।

यहाँका अधिकांश व्यक्ति धानखेतीमा निर्भर थिए । पछिल्लो समय तरकारी खेतीतर्फ आकर्षित यस वडाका किसानलाई अझै व्यावसायिक बनाउन नगरपालिकाले गत वर्ष तरकारी खेतीसम्बन्धी तालिम दिएको थियो । तालिमपछि किसानलाई तरकारी खेती गर्न सजिलो भएको र आम्दानी बढेको छ । कोहलपुर नगरपालिकाले ६ नम्बर वडालाई तरकारी खेतीको पकेट क्षेत्र तोकेको छ । यससँगै २, ३ र ५ नम्बरलाई पनि नगरपालिकाले तरकारी खेतीको पकेट क्षेत्र तोकेको हो । कृषि क्षेत्रको विकासका लागि नगरपालिकाले विभिन्न कार्यक्रम ल्याएको छ । त्यसका लागि नगरपालिकाले यस वर्ष ६३ लाख ५० हजार बजेट छुट्याएको छ ।

किसानलाई व्यावसायिक तालिम दिने, उन्नत बीउ वितरण गर्ने तथा किसानलाई प्रोत्साहन गर्न अन्य कार्यक्रम सञ्चालन गर्ने नगर उपप्रमुख सञ्जुकुमारी चौधरीले बताइन् । ‘नगरको विकासका लागि आर्थिक विकास आवश्यक छ,’ उनले भनिन्, ‘आर्थिक विकासका लागि कृषिको विकास जरुरी छ ।’ पछिल्लो समय खेतीयोग्य जमिन खाली छोड्ने चलन बढेकाले किसानलाई प्रोत्साहन गर्न नगरपालिकाले कृषिमा लगानी गरेको उपप्रमुख चौधरीले बताइन् ।

प्रकाशित : श्रावण २१, २०७५ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?