कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जतासुकै पहिरैपहिरो

अधिकांश ग्रामीण सडकको यात्रा जोखिमपूर्ण
माधव अर्याल

पाल्पा — अविरल वर्षासँगै खसेको पहिरो र साँघुरा सडकका कारण ग्रामीण सडकमा यात्रा जोखिमपूर्ण बनेको छ ।जिल्लाका अधिकांश सडकमा पहिरो खसेको छ । खोला बढेकाले सवारी गन्तव्य पुग्न सकेका छैनन् ।

जतासुकै पहिरैपहिरो

जिल्लाकै महत्त्वपूर्ण सडक आर्यभञ्ज्याङ–रामपुरको सेर्कावासमा सडक भासिएको छ । ५० मिटर सडक भासिएपछि जोखिम बढेको हो ।

मालवाहक ट्रक र अन्य साधन ओहोरदोहोर गर्न जोखिम छ । बसले यात्रु ओरालेर रित्तै गुडाउनु परेको स्थानीयले बताए । सोही खण्डअन्तर्गतको सेफद, सिलुवामा ठूलो पहिरो खसेको छ । ६५ किलोमिटर सडकले जिल्लाको पूर्वी भेगका अधिकांश बस्ती समेटेको छ । ‘यसै वर्ष सडक फराकिलो बनाएको स्थानमा नै भासिएको छ,’ सेर्कावासका प्रेमबहादुर मल्लले भने, ‘ठेकेदारले लगाएका पर्खाल नै कमजोर हुँदा पूरै सडक बगेको छ ।’ पर्खालमा सिमेन्टले ढुंगा समातेको छैन । सिमेन्ट र बालुवा मिसाएर लगाउनुपर्नेमा धूलो बालुवा मात्र रहेको छ ।

सिलुवा–अर्चले सडक निस्दीखोला बढेपछि बन्द छ । सडकका ठाउँ–ठाउँमा पहिरोसमेत खसेको छ । यातायात निर्बाध चल्न नसक्दा तीन घण्टा पैदल हिँड्नुपरेको स्थानीय होम राईमगरले बताए । ‘वर्षा लागेपछि सधैंको समस्या हो,’ उनले भने, ‘कहिले बन्ला पुल भनेरै वर्षौं बितेको छ ।’ जबगादी–रामपुर खण्डसमेत बन्द हुँदा रामपुर क्षेत्रका बासिन्दा मर्कामा छन् । अधिकांश यात्रु पैदल हिँड्नु परेको छ । ‘जतासुकै पहिरैपहिरा छन्,’ स्थानीय सीता डोटेलले भनिन्, ‘वर्षा लागेपछि सधैं यस्तै हुन्छ ।’

सिद्धार्थ राजमार्गको पीपलडाँडादेखि रामपुर जाने ३६ किलोमिटर सडक पनि बन्द छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरअन्तर्गतको खोला बढेको छ । पहिरा खसेकाले यात्री प्रभावित छन् । ‘सवारी नचल्दा समस्या छ,’ गेझाका जनार्दन पन्तले भने, ‘करिडोरलाई खोलाले नै छेक्छ ।’ तानसेनदेखि पर्यटकीय क्षेत्र रानीमहल जाने सडकसमेत अवरुद्ध छ । होटल व्यवसायी सुशील कुँवरका अनुसार पाँच/सात स्थानमा ठूला पहिरा खसेकाले सवारी प्रभावित भएका छन् । सडक अवरुद्ध हुँदा रानीमहल पुग्ने पर्यटकले सास्ती खेप्नु परेको उनले बताए । निस्दी गाउँपालिका जोड्ने ग्रामीण सडकमा पहिरो खसेको छ । यहाँ मोटरसाइकलसमेत गुड्न सक्ने अवस्था छैन ।

पूर्वखोला गाउँपालिकाको गौरवको योजनाका रूपमा रहेको आर्यभञ्ज्याङ–रामपुर सडक खल्लुकभञ्ज्याङदेखि पूर्वखोला जोड्ने मोटरबाटोको अवस्था उस्तै छ । ‘पहिरो खसेर सडक बन्द छ,’ गाउँपालिका सूचना अधिकारी मोहन ढकालले भने, ‘यसै वर्ष फराकिलो गरिएको थियो, त्यही ठाउँमा पहिरो खस्यो ।’ रम्भा गाउँपालिकाको फोक्सिङकोट, हुमिन र पीपलडाँडाका ग्रामीण भेगमा पहिरो खसेको छ । गाउँपालिका उपाध्यक्ष राधादेवी श्रेष्ठका अनुसार लसुनेबाट खोकखोला केन्द्रसम्म पुग्न समस्या छ । ‘पानी पर्दा हिँड्न सकिने अवस्था हुन्न,’ उनले भनिन्, ‘डोजर लगाएर खनेका सडकमा पानी पर्नासाथ पहिरो जान्छ अनि समस्या आउँछ ।’

तिनाउ २ को दोभान, कोलडाँडा, मस्याम, कचल जाने सडक पनि बन्द छ । झुम्सादेखि चौकीभञ्ज्याङमा ठूला पहिरा खसेका छन् । रैनादेवी छहरा गाउँपालिकाको अधिकांश वडादेखि गाउँपालिका केन्द्र जाने ग्रामीण सडक बन्द हुँदा सेवा प्रवाहमै समस्या भएको छ । बल्ढेङगढी, सत्यवती, जुठापौवाका बासिन्दा गाउँपालिका केन्द्र पुग्न दैनिक ८ घण्टासम्म पैदल यात्रा गर्नुपर्छ । सडक फराकिलो बनाउँदा यस वर्ष धेरै पहिरो खसेको गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले बताए । ‘अघिल्लो आवमा धेरै सडक खनिएको छ,’ उनले भने, ‘जसले गर्दा पहिरो पनि खसेको छ । वर्षा रोकिनासाथ सडक सफा गरिनेछ ।’

तानसेनदेखि तेल्घा–गुफाचौर जोड्ने सडकमा ठूला पहिरा खसेका छन् । पहिरो रोकथामका लागि बजेट नछुट्टिँदा, नाली निर्माण नहुँदा र रूखबिरुवा नरोप्दा धेरै पहिरा खसेका हुन् । वर्षायाम सुरु भएपछि दुई नगरपालिका र आठ गाउँपालिकामा अघिल्लो आवमा जनप्रतिनिधिले सडक वर्ष भन्दै डोजर लगाएर फराकिलो बनाएका थिए । तर, त्यसको वातावरणीय प्रभाव मूल्यांकन गरिएको छैन । ‘सडकको धेरै मोड र साँघुराका कारण विकासभन्दा बढी जोखिम निम्तिएको छ,’ रम्भा ५ ताहुँका विनोद श्रेष्ठले भने, ‘सबैले सडक खने विकास हुने देखे । परिणाम अहिले भोग्दै छौं ।’

कतिपय ग्रामीण सडक प्राविधिकको मूल्यांकन नभई खनिएका छन् । त्यही कारण जिल्लाको ग्रामीण क्षेत्र जोखिमयुक्त बनेका हुन् । सरकारी मापदण्डविपरीत वातावरणीय प्रभाव मूल्यांकनबिनै प्राविधिक दृष्टिले उच्च जोखिम मानिएका क्षेत्रमा समेत सडक निर्माण गर्ने होडबाजी चलेको छ । स्थानीयका अनुसार असार मसान्तमा सम्पन्न गरिएका योजनाका काम अहिले वर्षाको भेलसँगै बगेका छन् ।
खानेपानी ट्यांकी बगायो अविरल वर्षाले तानसेन नगरपालिका १२ बौघापोखराथोकमा खानेपानी ट्यांकी बगाएको छ । माथिल्लो भागमा मोटरबाटो खन्दा वर्षासँगै खसेको पहिरोले ट्यांकी बगाउँदा ७० परिवार पिउनेपानीबाट वञ्चित भएका छन् ।

शनिबार राति गएको पहिरोले झिरुवन खानेपानी आयोजनाको पानी संकलन गर्ने मुख्य ट्यांकी, पानी तान्ने मोटरपम्प र पम्प राखिएको स्टेसन बगाएको उपभोक्ता समिति अध्यक्ष मेजरसिंह केसीले बताए । ‘अब घन्टौं धाएर खानेपानी बोक्नुपर्ने हुन्छ,’ उनले भने, ‘पानीको मुहानमाथि मोटरबाटो खन्दा पहिरो गएको हो ।’ ०६५ सालमा तत्कालीन जिल्ला खानेपानी कार्यालय र गाविसको १० लाख रुपैयाँ र स्थानीय उपभोक्ताको ५ लाख बराबरको जनश्रमदानमा आयोजना सम्पन्न भएको थियो ।

प्रकाशित : श्रावण २२, २०७५ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?