२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

८ वर्षमा सकिएन पुल

मोटर चढेर खोला तर्ने सपनामै सीमित
कान्तिपुर संवाददाता

परासी — सरावल गाउँपालिका ६ स्थित खोलामा पुल निर्माण सुरु गरेको आठ वर्ष पूरा भयो । वर्षायाममा डुंगा चढेर वारपार गर्नुपर्ने बाध्यता अहिले पनि उस्तै छ । स्थानीयले दुई/तीन वर्षभित्र पुल बन्ला र मोटर चढौंला भन्ने ठानेका थिए ।

८ वर्षमा सकिएन पुल

लामो समय पुल निर्माण पूरा नभएकाले उनीहरूको सपना अधुरै भयो । ‘पुल बन्ला र गाडी चढौंला भन्ने सपना देखेका थियौं, कहिल्यै पूरा भएन,’ स्थानीय महेन्द्र ठाकुरले भने, ‘काम नगर्नेलाई कारबाही पनि हुँदैन ।’


जिल्लाको साबिक बडहरा दुवौलिया गाविसमा निर्माणाधीन झरही खोलाको पुल समयमा निर्माण नहुँदा स्थानीयले सास्ती खेप्नु परेको हो । २०६६ सालमा तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारले पुलको शिलान्यास गरेका थिए । भुताहादेखि सीमावर्ती महेशपुर जोड्ने मुख्य सडक खण्डमा पर्ने पुल तीन वर्षमा निर्माण सम्पन्न हुनुपर्नेमा अहिलेसम्म २५ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।


पुल २५ मिटर लम्बाइ र ७ मिटर चौडा छ । यसको निर्माणका लागि बिल्डर्स कन्स्ट्रक्सन कम्पनीलाई ७ करोड ८० लाख रुपैयाँमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का भए पनि पूरा हुन नसकेको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ ।


सुरुमा बिल्डर्स कम्पनीलाई ठेक्का दिइएको तर उक्त कम्पनीले काममा ढिलाइ गरेको भन्दै शीतलचन्द्र कन्स्ट्रक्सन कम्पनी काठमाडौंलाई ठेक्का दिइएको थियो । डिभिजन कार्यालयका इन्जिनियर युवराज पाण्डेका अनुसार पहिलेको ठेकेदार भागेका कारण ढिलाइ भएको बताए । ‘अहिले वर्षाका कारण काम हुन नसकेको हो,’ उनले भने, ‘वर्षा सकिएलगत्तै काम सुरु हुनेछ ।’

हिउँदको समयमा जसोतसो स्थानीयले खोला तर्ने गरेको भए पनि वर्षातमा ज्यानकै जोखिम मोल्नु परेको स्थानीय मोहम्मद इजहार शेखले बताए । पुल समयमा नबन्दा यातायात सञ्चालनमा समेत समस्या भएको छ । ‘ठूला नेताले शिलान्यास गरेको पुल छिट्टै बन्ला भन्ने आशा थियो,’ शेखले भने, ‘तीन वर्षमा हुनुपर्ने काम नौ वर्ष बित्न लाग्दा पनि नहुँदा दु:ख लागेको छ ।’


सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले भने पुल निर्माणमा भएको ढिलाइबारे अनभिज्ञता प्रकट गरे । ‘गाउँपालिकालाई कुनै पनि निकायले ठेक्का कसलाई परेको, कति समयमा बनाइसक्नुपर्ने केही जानकारी गराएका छैनन्,’ अध्यक्ष चौधरीले भने, ‘तसर्थ, आधिकारिक रूपमा पुल निर्माण ढिलाइबारे हामीलाई थाहा छैन ।’

प्रकाशित : श्रावण २३, २०७५ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?