३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सुत्केरी व्यथा लागेको तीन दिनपछि अस्पताल पुर्‍याइयो

हरि गौतम

रुकुम पूर्व — सुत्केरी व्यथा लागेको तीन दिनपछि एक गर्भवती महिलालाई अस्पताल पुर्‍याइएको छ । पुथाउत्तरगंगा गाउँपालिका–६, मयाङकी १९ वर्षीया मानिका दमाइलाई तीन दिनपछि अस्पताल पुर्‍याइएको हो ।

सुत्केरी व्यथा लागेको तीन दिनपछि अस्पताल पुर्‍याइयो

नेपाली सेनाको हेलिकप्टरमार्फत बुधबार उनलाई नेपलागञ्जको भेरी अस्पताल पुर्‍याइएको छ । व्यथा लागेको लामो समयसम्म बच्चा नजन्मिएपछि हेलिकप्टर बोलाइएको थियो । हेलिकप्टरमार्फत दुई पटकको प्रयासमा उनको उद्धार गरिएको थियो ।


सुत्केरी व्यथा लागेको लामो समयसम्म बच्चा नजन्मेपछि जिल्ला प्रशासन कार्यालयको पहलमा हेलिकप्टर मगाइएको थियो । बुधबार पहिलोपटक मयाङ पुगेको हेलिकप्टर खराब मौसमका कारण अवतरण हुन नसकेपछि सदरमुकाम रुकुमकोट फर्किएको थियो । त्यसपछि पुन: मयाङ गएको हेलिकप्टरले मानिकालाई नेपालगञ्ज पुर्‍याएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए ।

सरकारी खर्चमै मानिकालाई अस्पताल पुर्‍याइएको हो । हेलिकप्टरमा नेपालगञ्ज गएबापत उनको परिवारले कुनै शुल्क तिर्नु नपरेको प्रजिअ शर्माले बताए । उनको उपचार सुरु भइसकेको पनि प्रजिअ शर्माले जानकारी दिए ।


२१ गते बेलुकी सुत्केरी व्यथा लागेको उनको २३ गते बेलुकीसम्म पनि बच्चा जन्मेको थिएन । नजिकै स्वास्थ्य चौकी नभएको तथा स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी पनि नभएपछि उनलाई स्वास्थ्य संस्था लगिएको थिएन । व्यथाले च्याप्दै गएपछि उनको बोली र आँखा बन्द भएका थिए । गरिब परिवारकी दमाईको उद्धार भएको ६ नम्वर वडाध्यक्ष टोपे सेनले बताए । उनका श्रीमान् कामको सिलसिलामा मुस्ताङ छन् ।


प्रकाशित : श्रावण २३, २०७५ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?