सरकार व्यवस्थापनमा सहयोग गर्ने संस्थालाई आर्थिक अनुदान दिने प्रदेश सरकारको निर्णय
रुपन्देही — प्रदेश ५ को बुधबारको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार र प्रदेशसभा सचिवालय व्यवस्थापनका लागि भौतिक पूर्वाधार सहयोग गर्ने संघसंस्थालाई आर्थिक सहयोग अनुदान दिने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीका अनुसार प्रदेशसभा सचिवालय र बैठक सञ्चालनका लागि पूर्वाधार उपलब्ध गराउने उद्योग वाणिज्य संघलाई ४० लाख, प्रदेश सरकारका उच्च पदस्थ कर्मचारीको आवास व्यवस्थापनमा भवन उपलब्ध गराउने बुटवल टेक्निकललाई १० लाख, बालमन्दिरलाई २ लाख, महिला मगर संघलाई १ लाख र महिला जेसीजलाई १ लाख रुपैयाँ एकमुष्ट अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।
वाणिज्य संघलाई बालमन्दिर परिसरमा हल निर्माण गर्न, बुटवल टेक्निकल शिक्षालयलाई आफ्नै भौतिक पूर्वाधारका लागि अनुदान उपलब्ध गराइएको हो ।
त्यस्तै, मन्त्रीपरिषद बैठकले प्रदेश ५ को सरकारलाई सल्लाह सुझाव दिने गरी संघीय सरकारकै ढाँचामा प्रदेश मन्त्रीपरिषद समिति पनि बनाउने निर्णय गरेको छ ।
त्यस्तै प्रादेशिक योजना आयोगमा दुई सदस्य थप गर्ने निर्णय पनि गरेको छ । यसअघि एक महिला सहित दुई सदस्य हुने व्यवस्था गरेकोमा निर्णय परिवर्तन गर्दै १ महिलासहित ४ सदस्यको व्यवस्था गरेको हो ।
सरकारको बुधबारको बैठकले दाङको शान्तिनगर गाउँपालिकाको केन्द्र सार्ने गाउँपालिकाको दुई तिहाईको निर्णय अनुमोदन गर्दै केन्द्र सार्न संघीय सरकारलाई सिफारिस गरेको छ ।
अहिले रहेको चिराघाटबाट वडा नं. ४ को जुम्लेकुलामा सार्ने निर्णय शान्तिनगर गाउँपालिकाको गाउँसभाले गरिसकेको छ ।
स्थानीय तहको केन्द्र परिवर्तनका लागि गाउँ/नगरसभाको दुई तिहाई सहितको निर्णय, प्रदेश सरकारको सिफारिस भए संघीय सरकारको सिफारिसको आधारमा गाउँपालिकाको केन्द्र परिवर्तन गर्न सक्ने संवैधानिक व्यवस्था छ ।
प्रकाशित : श्रावण २३, २०७५ १८:५२