२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

सुरक्षित गर्भपतन असुरक्षित पनि

‘अधिकार हो भन्दैमा जहिल्यै जहाँ पनि प्रयोग गर्नु हुन्न’
करिश्मा चौधरी

बाँके — सुरक्षित गर्भपतनले कति महिलाको जीवन जोगिएको छ । कतिको जीवन सहज पनि भएको होला । तर, पूर्ण जानकारी नलिएर गर्भपतन गराउँदा धेरैले तत्काल र दीर्घकालमा विभिन्न समस्या भोग्नु परेको छ । गर्भपतन सुरक्षित भए पनि प्राकृतिक प्रक्रियालाई बाधा पुर्‍याउँदा महिलाको स्वास्थ्यमा असर पर्ने स्वास्थ्यकर्मी बताउँछन् ।

सुरक्षित गर्भपतन असुरक्षित पनि

परिवार नियोजन संघ नेपालगन्जकी स्टाफनर्स सुमित्रा गुरुङ जथाभावी गर्भपतनले शरीरमा असर गर्ने बताउँछिन् । सुरक्षित तरिकाले गरे पनि कसैलाई रक्तश्राव हुने, पाठेघरमा संक्रमण हुने, महिनाबारीमा गडबडी हुनेजस्ता समस्या देखिन सक्छ । ‘पटक–पटक गर्भपतन गराउँदा बच्चा नहुने समस्या पनि हुन सक्छ । तर, सबैलाई यस्तै असर देखिन्छ भन्ने छैन,’ उनले भनिन्, ‘नदेखिए पनि सामान्य असर त सबैलाई गर्छ ।’


गर्भवती महिलाको मञ्जुरीमा दक्ष स्वास्थ्यकर्मीबाट नौ सातासम्मको गर्भलाई औषधि प्रयोग गरी सुरक्षित गर्भपतन गर्न सक्ने कानुनी व्यवस्था छ । त्यस्तै, १२ सातासम्मको गर्भलाई औजारको प्रयोग गरी दक्ष स्वास्थ्यकर्मीबाट गर्भपतन गर्न सकिन्छ । जबरजस्ती वा हाडनाता करणीबाट रहेको गर्भ १८ सातामा पनि पतन गर्न सक्ने व्यवस्था छ । तर, गर्भपतन नगराए महिलाको ज्यान जोखिममा पर्ने भए वा चिकित्सकको सल्लाहअनुसार बच्चा अस्वस्थ भए जुनसुकै अवधिको पनि पतन गराउन सक्ने व्यवस्था छ ।


सुरक्षित गर्भपतन महिलाको अधिकार हो । यससम्बन्धी धेरै महिलालाई जानकारी होला । तर, यसको असरबारे कमैलाई मात्र थाहा भएको पाइन्छ । गर्भपतन गर्नुभन्दा पनि पहिले नै परिवार नियोजनका साधन प्रयोग गर्नु उचित हुने परिवार नियोजन संघ नेपालगन्जका सुपरभाइजर सागर ज्ञवाली बताउँछन् । यसबारे श्रीमान्–श्रीमती दुवैलाई जानकारी गराउन आवश्यक रहेको उनको भनाइ छ । ‘गर्भ रहिहाले पतन गर्दा महिलाको स्वास्थ्यमा असर पर्छ । त्यसैले पनि विशेषगरी महिलालाई परिवार नियोजनका साधनबारे जानकारी गराउनुपर्छ,’ उनले भने, ‘गर्भपतन धेरै गराउनु हुन्न । यसको प्रयोग गलत तरिकाले गर्नु भएन । गर्भपतनलाई परिवार नियोजनको साधन ठान्नु भएन ।’


जिल्लामा १२ सरकारी स्वास्थ्य संस्था र तीन निजी संस्थाले सुरक्षित गर्भपतन सेवा दिइरहेका छन् ।


गर्भपतन अधिकारको जथाभावी प्रयोग नगर्न कार्यालयकी पब्लिक हेल्थ नर्स सरिता चन्द सुझाउँछिन् । ‘यो अधिकार हामी महिलाकै हो । अधिकार हो भन्दैमा जथाभावी प्रयोग गर्नु भएन,’ उनले भनिन्, ‘यसले हाम्रै स्वास्थ्यमा असर गर्छ ।’

गर्भ रोक्नका लागि परिवार नियोजनका विभिन्न साधनको प्रयोग गर्न चन्द सल्लाह दिन्छिन् । जसले गर्भपतन गर्ने अवस्था नआउने उनले बताइन् । स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वयंसेविकाबाट पनि परिवार नियोजनबारे बुझ्न सकिन्छ । ‘गर्भपतन कुनै विकल्प नभएपछि अपनाउने विधि हो,’ उनले भनिन्, ‘यसको कमभन्दा कम प्रयोग गर्नुपर्छ ।’ परिवार नियोजन संघ नेपालगन्जमा मात्रै गएको सात महिनामा १ सय ३५ ले गर्भपतन गराएका थिए ।

प्रकाशित : श्रावण २५, २०७५ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?