२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

पर्यटकीय तान्ने सुरमा रम्भादेवी

कम्तीमा तीन दिन गाउँमै पाहुना राख्ने योजना
माधव अर्याल

पाल्पा — जिल्लाकै प्रसिद्ध रम्भादेवी क्षेत्रलाई धार्मिक गन्तव्यका रूपमा विकास गर्न स्थानीयले सक्रियता देखाएका छन् । उनीहरूको सक्रियतामा रम्भादेवी क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको हो । रम्भा ५ ताँहुस्थित रम्भादेवीलाई यस क्षेत्रकै धार्मिक पर्यटकीय गन्तव्य बनाउने अभियान उनीहरुको छ ।

पर्यटकीय तान्ने सुरमा रम्भादेवी

यसमा स्थानीय नेवार समुदायले अगुवाइ गरेका छन् । ‘यसको महत्त्व बुझेर काम अघि बढाएका छौं,’ अगुवा कालीदास श्रेष्ठले भने, ‘विगतमा सबैको व्यस्तता र यहाँको महत्त्वबारे कम चासो भएर काम हुन सकेन ।’ उनका अनुसार अहिले यसको महत्त्वका विषयमा सबैलाई बुझाएर काम अघि बढाइएको छ । आगामी दिनमा गाउँमा पर्यटक भित्र्याउने योजना बनेको छ । यसमा स्थानीयको साथ र सहयोग छ । उनीहरूले यहाँ पुग्ने पर्यटकलाई तीन दिनको बसाइँ गराउने योजना अघि सारेका छन् ।


विगतमा जिल्ला विकास समितिमा धेरै अनुरोध गर्दासमेत पर्यटकीय क्षेत्र बनाउन सहयोग नपाएकाले निराश थिए । यस क्षेत्रबाट केन्द्रमा पुगेका कर्मचारीलाई हारगुहार गरेर केही बजेट विनियोजन गराएका छन् । ‘जिल्लाबाट सहयोग हुन नसकेपछि केन्द्रका कर्मचारी गुहार्न पुग्यौं,’ श्रेष्ठले भने, ‘त्यसैबाट बजेट र योजना पारेर पूर्वाधारका काम अघि बढाएका हौं ।’


स्थानीय आफैंले यस क्षेत्रको गुरुयोजना तयार गरेका हुन् । उनीहरूको खाकाअनुसार तीन दिनसम्म पर्यटक घुमेर फर्कनेछन् । ताँहु बजारसँग जोडिएको रानाटोलमा होमस्टे योजना अघि सारेर घर छनोटसमेत भइसकेको छ । फोक्सिङकोटको झोंकेदी र रानीवासमा पनि होमस्टेका लागि तयारी थालेका छन् । ‘घर छनोट अन्तिम चरणमा पुगेको छ,’ श्रेष्ठले भने, ‘अब तुरुन्तै तालिम चलाउन समन्वय गर्नेछौं ।’ रम्भादेवी धार्मिक वनका अध्यक्ष विनोद श्रेष्ठका अनुसार रम्भादेवी मन्दिरसम्म पुग्ने बाटोमा ढुंगा छापिएको छ । स्वागत गेट निर्माण भएको छ । वन र जैविक विविधतासम्बन्धी ज्ञान दिन होर्डिङ बोर्ड राखिएको छ । यसलाई धार्मिक वनका रूपमा अगाडि बढाइएको उनले बताए ।


नाचनडाँडामा जन्माष्टमीमा ठूलो मेला लाग्छ । यही क्षेत्रमा भौतिक पूर्वाधार विकास गरिएको हो । धार्मिक आस्थाका श्रद्धालुलाई लक्षित गरेर तयारी रोट राख्ने व्यवस्था मिलाउन थालिएको छ । डाँडाको टुप्पामा पिकनिक स्पट, फूलबारी, त्यहाँसम्म पुग्ने बाटोमा रेलिङ राख्ने काम भएको छ । रम्भा गाउँपालिका, वन विभाग र पर्यटन विभागबाट उनीहरूले सहयोग लिएका छन् । ‘यस क्षेत्रको महत्त्व नबुझदा पनि काम गर्न सकिएको छैन,’ अध्यक्ष श्रेष्ठले भने, ‘तैपनि सकेको काम अघि बढाएका छौं ।’ सिद्धार्थ राजमार्गको आर्यभञ्ज्याङबाट १५ र तानसेनबाट ३० किलोमिटर दूरीमा रम्भादेवी मन्दिर रहेको छ ।

प्रकाशित : श्रावण २५, २०७५ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?