विदेशको सीप, नेपालमा व्यवसाय

नवीन पौडेल

परासी — सुनवल १ का ५४ वर्षीय हेमबहादुर थापाले करिब सात वर्ष विदेशमा बिताए । भारतीय सेनाबाट निवृत्त भएपछि पनि उनको जोस र जाँगरमा कमी आएको थिएन । नेपालमा व्यापार व्यवसाय गरे लगानी सुरक्षित हुँदैन भनेर परिवार र छिमेकीले भनेपछि उनी अफगानिस्तान, इराकजस्ता मुलुक पुगेर सुरक्षा गार्डको काम गरे । अफगानिस्तान र इराकमा बढदो हिंसाका कारण उनी दुबई हान्निए ।

विदेशको सीप, नेपालमा व्यवसाय

दुबईमा अस्ट्रिच फार्ममा सुरक्षा गार्डको काम गर्दागर्दै उनले अस्ट्रिचका लागि चाहिने आहारा, उसको बासस्थानका प्रकारबारे जानकारी बटुले । जीवनको ३५ वर्षभन्दा बढी समय मुलुकबाहिर खर्चिएका थापालाई अहिले भने नेपालमै केही गरौं भन्ने जाँगर चलेको छ ।


दुबईबाट अस्ट्रिच पालन नै गर्छु भन्ने सोच लिएर उनी तीन वर्षअगाडि नेपाल फर्किएका हुन् । नेपाल आएपछि अस्ट्रिच पालनले व्यावसायिक रूप लिन नसकेको थाहा पाएपछि उनी लगानी डुब्ने हो कि भन्ने चिन्तामा परे । तर, आफ्नो योजनाबाट पछि हटेनन् । सुनवल ६ तिलकानामा सुनवल बहुउद्देश्यीय कृषि तथा एकीकृत पशु पालन फार्म दर्ता गरेर अस्ट्रिच पालन सुरु गरे । विदेशमा सिकेको सीपले उनलाई अहिले गाउँमा नै स्वरोजगार बनाएको छ । ‘अस्ट्रिच पालन गर्न सक्ने हो भने यसमा राम्रो मुनाफा छ,’ उनले भने, ‘जीवनभर विदेशमा श्रम गरियो, उता सिकेको सीप गाउँमा नै लगाइरहेको छु । सरकारले नयाँ व्यवसायलाई प्रोत्साहन दिए व्यावसायिक रूपमा ठूलठूला फार्म सञ्चालन हुन सक्छन् ।’


२५ वटा अस्ट्रिचबाट सुरु भएको उनको व्यवसाय अहिले केही बढेको छ । अस्ट्रिचको संख्या ७५ पुगेको छ । दुई बिघा जग्गा भाडामा लिएर प्रतिगोटा ४० हजारका दरले चल्ला किनी व्यवसाय सुरु गरेका उनले ४० लाख रुपैयाँ लगानी गरेका छन् । ८० देखि १ सय २० किलो हुने अस्ट्रिच प्रतिकिलो सात सय रुपैयाँमा बिक्री हुने गरेको उनी बताउँछन् ।


जिल्लामा अस्ट्रिचको मासुको माग बढदो छ । बजारको समस्या नभएकाले थापा अस्ट्रिच थप्ने सुरमा छन् । तर, स्थानीय तहले कृषि तथा पशुपालनमा सहुलियत दिने भने पनि उनले कतैबाट कुनै सहयोग पाएका छैनन् । स्थानीय तहले सहयोग गरे सुनवलमै अस्ट्रिच प्रजनन केन्द्र स्थापना गरेर जिल्लाभरि व्यावसायिक अस्ट्रिच पालकको संख्या बढाउने सोचमा उनी छन् ।

प्रकाशित : श्रावण २५, २०७५ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?