कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उज्यालो हुँदै प्यूठान

‘सिस्टम’ मा गडबडी भएबाहेक ४० हजार घरमा बिजुली काटिँदैन
कान्तिपुर संवाददाता

प्यूठान — अधिकांश घरमा बिजुली पुगेपछि जिल्ला उज्यालो बनेको छ । विद्युत् आपूर्ति भएका घरमा चौबीसै घन्टा बत्ती बल्छ । यहाँ लोडसेडिङ हुँदैन । सिस्टममा आउने गडबडीबाहेक जिल्लाका कुल ४७ हजार ७ सय १६ घरमध्ये ४० हजारमा अँध्यारो हुँदैन ।

उज्यालो हुँदै प्यूठान

विद्युत् प्राधिकरण र झिमरुक जलविद्युत् आयोजना (बुटवल पावर कम्पनी) ले जिल्लामा विद्युतीकरण गरेका हुन् । यहाँका २० हजार घरमा प्राधिकरणले बिजुली पुर्‍याएको छ । २० हजारमा भने झिमरुकले आपूर्ति गर्छ । जिल्लाभित्रै विद्युत् उत्पादन भएकाले स्थानीयको मागअनुसार लोडसेडिङ तालिका बनाइएको छैन ।

यहाँका दुई नगरपालिका र सात गाउँपालिकामा बिजुली विस्तार भइसकेको प्राधिकरण प्यूठान शाखाले जनाएको छ । नौबहिनी गाउँपालिका १, स्याउलीबाङ र गौमुखी गाउँपालिका १, २, ३ अर्खा र रजबाराबाहेक सबै तहका वडामा बिजुली पुगेको शाखाका इलेक्टोनिकल सुपरभाइजर मुकुन्द पाण्डेले बताए । विद्युत् वितरण हुन बाँकी चार वडामा पनि वर्ष दिनभित्रै बाल्ने गरी काम भइरहेको उनले सुनाए ।

यहाँका स्याउलिबाङ, अर्खा, रजबारामा लघु जलविद्युत्मार्फत स्थानीयले धेरै वर्षअघि देखि बत्ती बालिरहेका छन् । त्यहाँ केन्द्रीय प्रसारण लाइन विस्तारको काम पनि भइरहेको प्राधिकणले जनाएको छ । लिघाबाट स्याउलीबाङ र पुँजाबाट रजबारा अर्खाका लागि बिजुली विस्तार भइरहेको शाखाले जनाएको छ ।

केन्द्रका साथै स्थानीय तहले पनि विद्युत् आयोजनाका लागि बजेट विनियोजन गर्न थालेपछि विद्युत् विस्तार तीव्र गतिमा भइरहेको छ । ‘जिल्लाका झन्डै ४० हजार घरमा बिजुली पुगेको छ,’ पाण्डेले भने, ‘लगभग सात हजार घरमात्र बाँकी छन् ।’ गत आर्थिक वर्षमा दुई हजार काठका पोल हटाएर स्टिलका जडान गरिएको छ । शाखाले चालु आर्थिक वर्षमा पनि पोल परिवर्तन गर्ने जनाएको छ ।

प्यूठान नगरपालिकाको खैरा, विजयनगर, दाखाक्वाँडी, बिजुवार, जुम्रीकाँढा, माझकोट, धर्मावती, मरन्ठाना, माण्डवी गाउँपालिकाको नयाँगाउँ, रम्दी, तिराम, मर्काबाङ, उदयपुरकोट, ऐरावती गाउँपालिकाको पकला, बिजुली, रस्पुरकोट, स्वर्गद्वारी नगरपालिकाको भिंगृ, बर्जिबाङ, सारी, मल्लरानी गाउँपालिकाको खलंगा, धरमपानी, चुजा, झिमरुक गाउँपालिकाको, ओखकोट, तुसारा, लिबाङ, बाँदिकोट, गौमुखी गाउँपालिकाको खुङ, नारिकोट, लिबाङ,ं सरुमारानी गाउँपालिकाको बांगेसाल, हंसपुर, ढुंगेगढी र नौबहिनी गाउँपालिकाको लुङ, पोप्ली, डामृलगायत क्षेत्रका सबै घरधुरीमा विद्युत् विस्तार भइसकेको प्राधिकरणले जनाएको छ ।

गत आवमा मात्रै तीन हजारभन्दा बढी ग्राहक थपिएको कार्यालयले जनायो । झिमरुक जलविद्युत् उत्पादन केन्द्रबाट १२ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । यो विद्युत् दाङको लमहीबाट राष्ट्रिय ग्रिडमा जोडिएको छ । झिमरुकमा उत्पादन भएको विद्युत् छिमेकी जिल्ला रोल्पा र अर्घाखाँचीमा पनि वितरण भएको छ । जिल्लामा झन्डै ५ मेगावाट विद्यत् खपत हुने गरेको छ ।

प्रकाशित : श्रावण २६, २०७५ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?