कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

मासु र डेरी पसल मापदण्डविपरीत

करिश्मा चौधरी

बाँके — कोहलपुर नगरपालिकाका अधिकांश मासु र डेरी पसल मापदण्डविपरीत सञ्चालन भएका छन् । बजार अनुगमन समितिका अनुसार नगरका ९० प्रतिशतभन्दा बढी मासु र डेरी पसल मापदण्ड पूरा नगरेरै सञ्चालन भइरहेका हुन् ।

मासु र डेरी पसल मापदण्डविपरीत

समितिले गरेको अनुगमनमा व्यवसायीले आवश्यक सरसफाइ नगरेको, कम गुणस्तरका वस्तु बेचेको, पसल दर्ता नगरी चलाएको, खुला रूपमा पशुपक्षी बध गरेको पाइएको छ ।

पशुपक्षीको बध र खुला स्थानमा मासु बिक्री वितरण गरिनु जटिल समस्या रहेको नगर उपप्रमुख तथा उपभोक्ता हित संरक्षण समिति संयोजक सञ्जुकुमारी चौधरीले बताइन् । यस्तो समस्याको दीर्घकालीन समाधानका लागि नगरपालिकाले भदौ ३ गते मासु व्यवसायीसँग अन्तरक्रिया गर्ने तयारी गरेको छ । व्यवसाय सञ्चालनका मापदण्ड, कानुनी व्यवस्था र प्राविधिक कुराबारे अन्तरक्रिया हुनेछ । ‘पहिले त व्यवसायीलाई नियमबारे जानकारी गराउनुपर्‍यो,’ संयोजक चौधरीले भनिन्, ‘पसल कसरी चलाउनुपर्छ भनेर उहाँहरूलाई बुझाउनुपर्‍यो । त्यसपछि पनि अटेर गरे कारबाही गर्छौं ।’

बजार अनुगमन समिति संयोजक कर्णबहादुर थापाका अनुसार समितिले अहिले उपभोक्ताको दैनिक सरोकारका खाद्यान्न, औषधि, माछामासु, डेरी, फलफूलजस्ता क्षेत्रलाई केन्द्रित गरेर अनुगमन गरिरहेको छ । उपभोक्ताको क्षेत्र धेरै भए पनि स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई प्राथमिकता दिएको उनले बताए । मासु र डेरीमा धेरै समस्या देखिए पनि अरूमा गत वर्षभन्दा अलि सुधारोन्मुख रहेको संयोजक थापाको भनाइ छ ।

समितिले अनुगमनका क्रममा दर्ता, नवीकरण, मूल्यसूची, वस्तुको परिमाण, गुणस्तर, सरसफाइ, बिललगायतको अनुगमन गर्छ । यी मापदण्ड पूरा नगरे समितिले सुरुमा कसुर हेरेर सजग गराउने वा चेतावनी दिने गरेको छ । त्यसपछि पनि अटेर गरे कारबाहीको दायरामा ल्याउँछ ।

अहिलेसम्म कारबाही भने भएको छैन । ‘अहिले त सजग मात्र गराएका छौं,’ संयोजक थापाले भने, ‘अब सुरुमा अन्तरक्रिया गर्छौं त्यसपछि पछि पनि अटेर गर्नेलाई कारबाही नै गर्छौं ।’ अटेर गर्ने व्यवसायीलाई तत्काल र दीर्घकालीन कारबाही हुन्छ ।

प्रकाशित : श्रावण २६, २०७५ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?