कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

पहिरोको जोखिममा सिंगो गाउँ

पानी परेपछि २८ घरपरिवार सुत्न सक्दैनन्
माधव अर्याल

पाल्पा — गाउँको माथिल्लो भागबाट खसेको पहिरोले रम्भा गाउँपालिका १, हुँगीमा सिंगो बस्ती जोखिममा परेको छ । जंगल र ठाडो भीरमा धेरै घुम्ती बनाएर खनेको मोटरबाटोले सिंगो बस्तीलाई जोखिम निम्त्याएको हो ।

पहिरोको जोखिममा सिंगो गाउँ

गाउँको माथिल्लो भागबाट जंगलका रूख, लेदो ढुंगामाटो बगाएर ल्याएपछि सिंगो बस्ती जोखिममा परेको छ । मोटरबाटो खन्दा ग्रेड नमिलाएकाले दुई खोल्साबाट रूखसहित बगेर आउँदा दुईतिर भँगालो परेको छ । ‘मोटरबाटो खन्दा फालेको माटोले दुईतिर पहिरोको भँगालो परेको हो,’ स्थानीय ८२ वर्षीय शिवप्रसाद सुवेदीले भने, ‘पहिरोको पीरले रातभर सुत्न सकिएको छैन ।’ उनका अनुसार ठाडै भीरमा जंगल छ । त्यहीँ धेरै घुम्ती निकालेर सडक खनेकाले अहिले विपत् निम्तिएको हो ।

पहिरोले स्थानीयको खेत, बारी पुरेको छ । केही घरमा समेत लेदो माटो पसेको छ । धेरै घर जोखिममा छन् । ‘पहिरो जाँदा जहाज नै खस्यो कि जस्तो गरी आएको थियो,’ स्थानीय दुर्गा सुवेदीले भनिन्, ‘यस्तो आपत् भूकम्प आउँदा पनि भएको थिएन ।’ घर नजिकै लेदो माटोसहित रूख आएपछि उनले घरका सबै सामान अन्यत्रै सारिन् । पहिरोले बालबालिका, ज्येष्ठ नागरिक बढी त्रासमा छन् । सिंगो गाउँका बासिन्दा अहिले पानी पर्नासाथ घरदेखि माथिल्लो भागमा हेर्न पुग्छन् ।

डोजरले खनेको जंगलमा अझै पनि केही भागमा खस्लाजस्तो भएर अडिएकाले डराउनुपरेको स्थानीय दामोदर सुवेदीले बताए । घर र बारी ढुंगामाटोले पुरेको छ । ‘पानी पर्दा निद लाग्दैन,’ उनले भने, ‘महिला र बालबालिका बढी त्रासमा छन् ।’ बाटोकै कारण सयौं वर्ष नदेखिएको बाढी अहिले आएको उनले बताए । रम्भा १ र २ जोड्ने सेतीपोखरी सानोचौपारी ठूलोथुम्की हुँदै फोक्सिङ डाँडा जाने मोटरबाटो खन्दा विपत्ति निम्तिएको हो । एउटा घुम्तीबाहेक सबै स्टिमेट अनुसार नै खनिएको दाबी मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष लक्ष्मणबहादुर पछाईले गरे ।

राती साढे १० बजेतिरबाट बगेको पहिरो बिहान १० बजे मात्र रोकिएको थियो । जंगलका सालका रूख ठाडै बगेर आएको स्थानीय एवं वडा सचिव रामकृष्ण सुवेदीले बताए । ‘साबिकको हुँगी ७ बाट फोक्सिङकोट जोड्ने बाटो खन्दा र जंगलमा बढी घुम्ती भएकाले यस्तो विपत्ति आएको हो,’ उनले भने, ‘डोजर प्रयोगका कारण यति धेरै क्षति भयो ।’ रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले सिंगो गाउँमा विपत् आइलागेकाले प्रभावित क्षेत्रमा तत्काल निरीक्षण गरेको बताए । ‘विपत् व्यवस्थापन गर्न कहीँकतै कन्जुस्याइँ गर्ने छैन,’ उनले भने, ‘बस्ती संरक्षण गर्ने गरी तत्कालका लागि भल निकास गरिएको छ । माथिबाट झरिरहेको पहिरोलाई दीर्घकालीन समाधान गर्नेछु ।’ उनले पहिलो काम बस्ती संरक्षण र मानवीय क्षति हुन नदिने बताए । घरमा भल पस्न नदिन डोजर लगाएर खोल्सी बनाएर निकास दिइएको बताए ।

सडक निर्माणमा १७ लाख खर्च भएको छ । घर भत्कँदा दुई घाइते अविरल वर्षाले तानसेन नगरपालिका ६, बर्तुङमा घर भत्कँदा दुई घाइते भएका छन् । ढकेश्वर पोखरेलको घर भत्कँदा लक्ष्मी पोखरेल र उनका छोरा अनिल पोखरेल घाइते भएका हुन् । शनिबार बिहान पानी परिरहेका बेला अचानक घर भत्केको थियो । घर भत्किँदा परिवारका सबै सदस्य घरभित्रै थिए । भूकम्प जाँदा चर्केको घरमा टालटुल गरेर बसेकाले अहिले भत्किएको पोखरेलले बताए ।

प्रकाशित : श्रावण २७, २०७५ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?