कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्माणको दुई सातामै भत्काइयो ढल निकास

बनाउन १० लाख, भत्काउन ५० हजार खर्च
कमल पन्थी

बर्दिया — वर्षाको पानी निकासका लागि बनाइएको पक्की ढल हस्तान्तरण भएको दुई साता नबित्दै भत्काइएको छ । बढैयाताल गाउँपालिका १, मदनचोकमा १ सय ८० मिटर लामो पक्की नालाबाट पानी निकास नहुने भन्दै स्थानीयले विरोध गर्दै आएका थिए ।

निर्माणको दुई सातामै भत्काइयो ढल निकास

विरोधका बाबजुद डिजाइनविपरीत ढल निर्माण गरिएको स्थानीयले आरोप लगाएका छन् । ढलको पानी बगेर गाउँ नै डुबान भएपछि स्थानीयको विरोधपछि गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठको निर्देशनमा पक्की ढल भत्काइएको हो । बढैयाताल गाउँपालिकाको ९ लाख ६० हजार रुपैयाँ लागतमा उपभोक्तामार्फत उक्त नाला निर्माण भएको थियो । निर्माण भएलगत्तै उपभोक्तालाई ९ लाख ६० हजारको भुक्तानी दिइसकेको बढैयाताल गाउँपालिकाले जनाएको छ ।

अध्यक्ष श्रेष्ठको निर्देशनमा पक्की नाला भत्काउँदा ५० हजार रुपैयाँ खर्च भएको छ । स्थानीयका अनुसार ४ इन्ची पर्खाल भएको ढल जुनसुकै बेला भत्किने अवस्थाको थियो । निकासको खोजी नगरी ढल निर्माण गरेकाले गुणस्तरीय र समस्या समाधान गर्ने खालको नभएको स्थानीय भीमबहादुर सिंहले बताए । ‘प्राविधिक त्रुटि र गाउँपालिकाका पदाधिकारीको समेत कमजोरी छ,’ उनले भने, ‘लापरबाहीले ठूलो रकम क्षति भयो ।’

ढलबाट बग्नुपर्ने पानी घरभित्र पस्न थालेपछि स्थानीयले विरोध गरेका थिए । निर्माणकै बेला कमजोर र डिजाइन अनुसार भएन भनेर रोक्ने प्रयास गर्दा समेत नरोकिएको स्थानीय दानबहादुर सुनारले बताए । ‘कमिसनको खेल भएकैले होला निर्माण रोकिएन,’ उनले भने, ‘अहिले १० लाखको लगानी बालुवामा पानी भयो ।’ कम्तीमा १४ इन्ची गारो र त्यही अनुसार गहिराइ हुनुपर्ने भए पनि त्यो नभएको उनले बताए ।

प्रकाशित : श्रावण २७, २०७५ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?