जेब्राक्रसिङमा फलामे बार

बाटो काट्न समस्या
ठाकुरसिंह थारु

नेपालगन्ज — नेपालगन्ज–कोहलपुर चार लेन सडकमा पैदल यात्रुका लागि बाटो काट्न सेतो रंगले ‘जेब्राक्रस’ बनाइएको छ । तर, त्यहाँबाट सडक पार गर्न सहज छैन । सडक पार गरेपछि अर्को छेउको पेटीमा पुग्न झन्झट हुन्छ ।

किनारामा फलामका बार (रेलिङ) बनाएकाले यात्रुलाई समस्या परेको हो ।

उक्लेर फलामे बार पार गर्न नसकेपछि सर्वसाधारण ट्राफिक नियम उल्लंघन गर्न बाध्य छन् । उनीहरू सजिलोका लागि सडकमा हिँडेर अर्को ठाउँ खोज्छन् । सहरको फराकिलो सडकका जेब्राक्रसले पैदल यात्रुलाई सास्ती पुर्‍याएका छन् ।

नेपालगन्जको पुष्पलाल, धम्बोझी चोकलगायत क्षेत्रमा जेब्राक्रस बनाइएका स्थानमा फलामको अग्लो रेलिङ देख्न सकिन्छ । रेलिङ हटाउन स्थानीयले उपमहानगरसँग पटकपटक माग गर्दै आएका छन् । तर, उपमहानगरले रेलिङ हटाउन चासो दिएको छैन । उल्टै किनाराका डिभाइडर लगेर सडकको बीच भागमा राखिदिएको छ ।

‘एकातिरबाट जेब्राक्रसिङका लागि खोलिएको छ । पल्लोपट्टि फलामको रेलिङ ठड्याइएको छ,’ स्थानीय विष्णु शर्माले भने, ‘सर्वसाधारणले सहजै सडक पार गर्नका लागि जेब्राक्रसिङमा अवरोध पुर्‍याउने फलामे बार हटाउनुपर्छ ।’ जेब्राक्रसिङ भएको स्थानमा फलामे बार भएपछि सर्वसाधारण जथाभावी बाटो काट्न बाध्य छन् ।

Yamaha

यसले सडक दुर्घटना निम्त्याएको छ । जेब्राक्रसिङका रेलिङ हटाउन सर्वसाधारणले बारम्बार अनुरोध गर्दा पनि सुनुवाइ भएको छैन । नेपालगन्ज उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेलले ट्राफिक प्रहरीले जेब्राक्रसिङमा भएको अवरोधबारे जानकारी नदिएको बताए । ‘ट्राफिक प्रहरीले त्यसबारे रिपोर्ट गर्‍यो भने हामीले अवरोध गर्ने रेलिङ हटाउँछांै,’ उनले भने, ‘रेलिङले सर्वसाधारणलाई दु:ख दिएको छ भने काट्न तयार छौं ।’

जिल्ला ट्राफिक प्रमुख हीरेन्द्र रोकायले नेपालगन्जको चार लेन सडकमा राखिएका जेब्राक्रसिङ पैदल यात्रुमैत्री नरहेको बताए । उनले उक्त सडकमा राखिएका जेब्राक्रसिङ ट्राफिक इन्जिनियरका हिसाबले गलत रहेको जनाए । ‘जहाँ पायो त्यहीं जेब्राक्रस राखिएको छ । सर्वसाधारण सडक वारपार गर्ने स्थानमा फलामका रेलिङ छन्,’ उनले भने, ‘ट्राफिक व्यवस्थापनबारे नगरपालिकासँग हुने बैठकमा यो मुद्दा प्राथमिकताका साथ उठाउँछु ।’

नेपालगन्ज उपमहानगरपालिकाले दुर्घटना नियन्त्रणका लागि डिभाइडरहरू सडक किनारबाट उठाएर चार लेन सडकको बीचमा राखेको छ । सर्वसाधारणलाई बाटो काट्न ठाउँठाउँमा जेब्राक्रसिङ राखिएको थियो । तर, उपमहानगरले जथाभावी बाटो काट्ने गरेका कारण दुर्घटना बढेको भन्दै सडक किनारका डिभाइडर उठाएर बीचमा राखेको हो । डिभाइडरले कतिपय विद्यालयको बाटो छेकेको छ ।

Esewa Pasal

प्रकाशित : श्रावण २८, २०७५ १०:११
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

किस्ता फिर्ता गर्दै भूकम्पपीडित

हरिराम उप्रेती

गोरखा — भूकम्पपीडितको लाभग्राही सूचीमा नाम समावेश भएर रकम बुझेका सिरानचोक गाउँपालिका ४ छोप्राकका हर्कबहादुर कुमालले पहिलो किस्ताको ५० हजार रुपैयाँ फिर्ता गरेका छन् । दोहोरो अनुदान सम्झौता भएको व्यहोरा अवगत गराउँदै उनले रकम फिर्ता गरेका हुन् ।

हालसम्म उनीजस्ता ८९ जनाले पहिलो किस्ताको रकम फिर्ता गरेका छन् । दोहोरो सुविधा लिएका सिरानचोक गाउँपालिक ८ जौबारीका ८४ जनाले पहिलो किस्ता बापत पाएको रकम फिर्ता गरेको जिल्ला समन्वय समितिको लेखा कर्मचारी दीपेन्द्र अर्यालले बताए । जौबारीमा भूकम्पपीडितलाई लुथरन रिलिफ सर्भिसेज नामक गैरसरकारी संस्थाले घर बनाइदिएको छ ।

‘गैरसरकारी संस्था र सरकार दुवैबाट दोहोरो सुविधा लिन पाइँदैन भन्ने छ,’ अर्यालले भने, ‘जौबारीमा यस्तो सुविधा लिने बाँकी दुई/चारजना हुनुहुन्छ । उहाँहरूको रकम पनि फिर्ता गर्छौं ।’

घर बनाउन नसकेको कारण देखाउँदै छोप्राकका कुमालसहित पालुङटार नगरपालिका ९ मिरकोटका भगवानबाबु अधिकारी, रामचन्द्र रानाभाट, रुद्रप्रसाद देवकोटा र भीमसेन गाउँपालिका १ का गौरीप्रसाद श्रेष्ठले पहिलो किस्ताको रकम फिर्ता गरेका छन् । ‘केहीले रातो कार्ड पनि फिर्ता गर्नुभएको छ । केहीले पैसा मात्र फिर्ता गर्नुभयो,’ अर्यालले भने, ‘अहिले रकम फिर्ता गर्छु भन्ने अरू पनि छन् ।’

कोष तथा लेखा नियन्त्रण कार्यालयको राजस्व खातामा पीडितले रकम जम्मा गर्न सक्ने प्रावधान छ । रकम फिर्ता गर्नेले बैंक खातामा रकम जम्मा गरेको भौचरसहित निवेदन र सम्झौतापत्र अनुदान वितरण गर्ने शाखामा बुझाउनुपर्ने हुन्छ । ‘काठमाडौं, चितवनलगायतका सहरमा पनि घर हुने कतिपयले पनि रकम फिर्तामा चासो देखाएका छन्,’ उनले भने ।

यहाँ लाभग्राही सूचीमा नाम समावेश भएर पनि अनुदान सम्झौता नगर्नेको संख्या उल्लेखनीय छ । ६१ हजार ३ सय १६ जना भूकम्पपीडितको लाभग्राही सूचीमा नाम समावेश भएकोमा हालसम्म ५८ हजार ५ सय १७ जनाले अनुदान सम्झौता गरेर पहिलो किस्ताको रकम लगेका छन् । २ हजार ७ सय ९९ जना लाभग्राही सूचीमा नाम समावेश भएर पनि सम्झौता गर्नै आएका छैनन् ।

यस्ता भूकम्पपीडितको वास्तबिक अवस्था बुझ्न जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारको कार्यालयले स्थानीय तहहरूमा पत्राचार गरेको छ । ‘केही भूकम्पपीडित सम्पर्कविहीन हुनुहुन्छ । अनुदान सम्झौता गर्नै आउनुभएको छैन, केन्द्रबाट उहाँहरूको अवस्था बुझ्न भनिएको छ,’ प्रमुख जिल्ला इन्जिनियर एवं इकाइका प्रमुख रामकुमार श्रेष्ठले भने, ‘स्थानीय तहमा पत्राचार गरेका छौं, जवाफ आइसकेको छैन ।’ जोखिम वर्गका करिब १ हजार २ सय लाभग्राहीले पहिलो किस्ताको रकम नबुझेको पाइएको उनले बताए ।

एकल महिला, ७० वर्ष नाघेका वृद्घवृद्घा र अपांगता भएकालाई जोखिम वर्गमा राखिएको छ । ‘जोखिम वर्गले पनि घर बनाउन सक्नुभएको छैन,’ प्रमुख श्रेष्ठले भने, ‘उहाँहरू पैसा थपिन्छ कि भन्ने आश राखेर सम्झौता गर्नुभएन कि भन्ने हो ।’ सरकारले दिएको तीन लाख रुपैयाँले घर बनाउन नपुग्ने भन्दै केहीले अनुदान सम्झौता नै गरेका छैनन् । सम्झौता गर्न नआउने केहीले बसाइँसराइ गरेका, केही विदेश गएका र कसैको दुईवटा घर भएकाहरू रहेको उनले बताए ।

यहाँ जोखिम बस्ती र भूमिहीनले पनि जग्गा अभावमा घर बनाउन सकेका छैनन् । भूमिहीनको एकिन तथ्यांक नभए पनि सम्झौता गर्न नआउनेमा उनीहरू पनि रहेको श्रेष्ठले बताए । अनुदान सम्झौता गर्दा लालपुर्जा अनिवार्य बुझाउनुपर्ने हुन्छ । जोखिम बस्तीमा घर बनाउने आँट नहुँदा केही पीडितले किस्ता रकम नलगेको केरौंजाका चन्द्रबहादुर गुरुङ बताउँछन् । ‘अन्त जग्गा छैन । बाजेको पालादेखि यही गाउँमा बस्दै आयौं, छाडेर जाने मन पनि छैन,’ उनले भने ।

हालसम्म जोखिम बस्तीअन्तर्गत पर्ने धार्चे गाउँपालिका २ केरौंजाका ४२ भूकम्पपीडितलाई जग्गा खरिदका लागी ६४ लाख ५० हजार रुपैयाँ भुक्तानी गरिएको छ । जोखिम बस्तीमा परेका अन्य भूकम्पपीडितले जग्गा खरिदका लागि रकम नै पाएका छैनन् । सरकारले जोखिम बस्तीका भूकम्पपीडितलाई जग्गा खरिदका लागि बढीमा दुई लाख रुपैयाँसम्म उपलब्ध गराउने भनेको छ । ‘हामीसँग पैसाको समस्या छैन,’ इकाइ प्रमुख श्रेष्ठले भने, ‘फिल्डमा टोली खटाएर सार्नुपर्ने घरको अध्ययन भइरहेको छ ।’

साउनयता निकासा हुन नसकेको रकम भने एक सातामै लाभग्राहीको खातामा पुर्‍याउन आइतबारबाट प्रक्रिया सुरु भएको इकाइले जनाएको छ । ‘अख्तियारी पनि दुई साता ढिला आयो । आजै (आइतबार) केहीको फाइल कोलेनिका पठायौं,’ श्रेष्ठले भने, ‘एक सातामै किस्ता रोकिएका पीडितले पैसा पाउनुहुन्छ ।’

प्रकाशित : श्रावण २८, २०७५ १०:०६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT